
१० असोज, काठमाडौं । एसियन गेम्स अर्थात एसियाडमा ८ वर्षपछि क्रिकेट फर्कँदा नेपालले मंगोलियमाथि कीर्तिमानै कीर्तिमानले भरिएको २७३ रनको जित हात पार्यो ।
कुशल मल्लले सबैभन्दा छिटो ३४ बलमा शतक, दीपेन्द्रसिंह ऐरीले सबैभन्दा छिटो ९ बलमा अर्धशतकको कीर्तिमान बनाएको खेलमा नेपालले टी-२० आईमा ३१४ रनको कीर्तिमानी स्कोर बनायो ।
३१५ रनको विशाल लक्ष्य पछ्याएको मंगोलियालाई ४१ रनमा अलआउट गर्दै नेपालले अहलेसम्मकै फराकिलो २७३ रनको अन्तरले खेल जित्यो ।
एसियाका पाँच टेष्ट राष्ट्रसहित १४ टिम सहभागी १९औं एसियाडमार्फत टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेको मंगोलियाविरुद्ध नेपालले बनाएका कीर्तिमान यत्तिमै मात्र सिमित छैनन् ।
नेपालले सर्वाधिक रन रेटको रेकर्ड पनि बनाएको छ । मंगोलियाविरद्ध ३१४ रन बनाएको नेपालको रन रेट १५.७ रह्यो । जुन २३ फेब्रअरी २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध कायम गरेको १३.९ भन्दा धेरै हो ।
३१४ रनको स्कोर खडा गर्ने क्रममा नेपाली ब्याट्सम्यानहरुले २६ छक्का हानेका थिए । यो पनि नयाँ कीर्तिमान हो । कुशल मल्ल एक्लैले १२ छक्का हाने ।
यसअघि यो रेकर्ड २२ छक्का हानेको चेक रिपब्लिकको नाममा थियो । ३० अगष्ट २०१९ मा टर्कीविरुद्ध २७८ रन बनाउने क्रममा चेक रिपब्लिकले बनाएको रेकर्ड नेपालले तोडेको हो ।
मात्र १० बलमा अविजित ५२ रन बनाएका ऐरीको स्ट्राइक रेट ५२०.०० पनि अर्को कीर्तिमान हो ।
सामान्य सुरुवात खेल सकिँदा कीर्तिमानको वर्षात्
२०१४ को इन्चोन एसियाडपछि पहिलो पल्ट समावेश गरिएको क्रिकेटमा नेपाल र मंगोलियाले पहिलो खेल खेलेका थिए । जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी फिनफेङ क्रिकेट फिल्डमा खेल सुरु हुँदा मंगोलियालाई डेब्यूको उत्साह थियो भने नेपालले सहजै खेल जित्ने अपेक्षा थियो ।
खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालको सुरुवात सामान्य नै थियो । नेपाली इनिङ सकिनुअघि नै सुरु भएको कीर्तिमान बन्ने सिलसिला खेल सकिँदासम्म नै कायम रह्यो ।
मंगोलियाले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको थियो । नेपालले ८ ओभरभित्र दुवै ओपनरलाई गुमायो । तर मिडल ओभर देखि अन्तिममा भने कुशल र दीपेन्द्रले विष्फोटक ब्याटिङ गरे ।
टी-२०आईको एकै खेलमा छिटो शतक र छिटो अर्धशतको कीर्तिमानदेखि सर्वाधिक स्कोर र सर्वाधिक रन अन्तरको जितको कीर्तिमान नेपालले बनायो ।
पाँचौ ओभरमा आरिफ शेख १६ मा आउट भएपछि कुशल मल्ल तेस्रो नम्बरमा ब्याटिङ गर्न गएका थिए । तर आठौं ओभरको दोस्रो बलमा अर्का ओपनर कुशल भुर्तेल पनि १९ रनमा आउट हुँदा नेपालले ६६ रनमा २ विकेट गुमायो ।
त्यसपछि भने कुशल मल्लले विष्फोटक ब्याटिङ गरे । उनले ३४ बलमा ६ चौका र ९ छक्का प्रहार गर्दै शतक पूरा गरे । टी-२० मा यसअघि सबैभन्दा छिटो शतक ३५ बलमा बनेको थियो । कुशलले त्यो कीर्तिमान तोडे ।
यसअघि दक्षिण अफ्रिकाका डेविड मिलर, भारतका रोहित शर्मा र चेक रिपब्लिकका सुदेश विक्रमाशेखरले ३५ बलमा शतक प्रहार गर्दै बनाएको कीर्तिमान बनाएका थिए ।
कप्तान रोहितकुमार पौडेलसँग मिलेर कुशल मल्लले तेस्रो विकेटका लागि १९३ रनको साझेदारी गरे । जुन नेपालको लागि टी-२०आईमा अहिलेसम्मको सर्वाधिक साझेदारी हो ।
कुशल नेपालका लागि टी-२०आईमा शतक बनाउने पाँचौ खेलाडी समेत बने भने एकै खेलमा व्यक्तिगत उच्च स्कोर बनाउने समेत खेलाडी बने । उनले ५० बल खेल्दै ८ चौका र १२ छक्का मद्दतमा अविजित १३७ रन बनाए ।
कप्तान रोहितले पनि आक्रमक ब्याटिङ गर्दै २७ बल खेल्दै २ चौका र ६ छक्का मदतमा ६१ रन बनाए ।
रोहित १८.१ ओभरमा आउट भएपछि दीपेन्द्र क्रिजमा पुगेका थिए । त्यसबेला दीपेन्द्रले अर्धशतक हान्ने कसैले सोचेकै थिएनन् ।
तर पालो दीपेन्द्रकै थियो । उनले सुरुमा फेस गरेका ६ बलमै लगातार छक्का प्रहार गरे । ९ बल खेल्दा उनले ८ छक्का सहित अर्धशतक पूरा गरे । उनले १० बल मात्र खेल्दै ८ छक्का मदतमा अविजित ५२ रन बनाए । उनले दुई बलमा भने दुई-दुई रन जोडे ।
दीपेन्द्रले यसअघि युजराज सिंहको नाममा रहेको १२ बलमा अर्धशतक बनाउने कीर्तिमान तोडे ।
टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यसै खेलबाट डेब्यु गरेको मंगोलियाका लागि दाभासुरेन जमयानसुरेनले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
मंगोलियालाई अलआउट गर्न नेपालका लागि बलिङमा करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछानेले २-२ तथा सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान १ विकेट लिए ।
कप्तान रोहितले खेलपछि प्रोसेस अनुसार नै खेलेको र अब अर्को खेल जितेर क्वार्टरफाइनल पुग्ने लक्ष्य रहेको बताए ।
‘समग्रमा एउटा खेल नै थियो । प्रोसेस फलो गरेर जस्तो टिम भए पनि आफ्नो बेस्ट गेम दिने लक्ष्य थियो । अर्को खेलमा माल्दिभ्सलाई हराएर क्वाटरफाइनल पुग्ने योजना छ,’ रोहितले भने ।
उनले कुशल र दीपेन्द्रको ब्याटिङको तारिफ गरे । ‘हाम्रो योजना पनि बलिङ गर्ने नै थियो । तर उनीहरुले टस जितेर बलिङ रोजे । जस्तो टिम अगाडि आए पनि क्रिकेट हो । यहाँ ३१४ पनि कम जस्तो लागिराछ । बिहान अली कती बल रोकिएर आइराखेको थियो । लास्टमा दीपेन्द्र दाईले राम्रो ब्याटिङ गर्नुभयो,’ उनले भने, ‘टी-२० मा अली अग्रेसिभ ब्याटिङ गर्ने योजना हुन्छ । सबैले लुज बल पाइराखेका थिए । समग्रमा कुशल मल्लले पनि राम्रो ब्याटिङ गरे ।’
लक्ष्य पदक जित्ने
१९औं एसियाडमा अन्य खेलहरुमा नेपालले निराशाजनक प्रदर्शन गरिरहँदा क्रिकेटबाट पदकको आशा छ ।
कप्तान रोहितले पनि नेपालदेखिनै पदक जित्ने लक्ष्यका साथ आएको र त्यही अनुसार खेल्दै जाने बताए ।
‘हाम्रो योजना यहाँ आउनुअघि नै जसरी भए पनि मेडल जित्ने नै हो ।’
नेपालले पदक जित्नका लागि कम्तीमा पनि दुई टेष्ट राष्ट्रलाई हराउनुपर्नेछ । क्वार्टर फाइनलमा पुगेमा नेपालले भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशमध्ये एक टिमसँग खेल्नु पर्ने छ ।
भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसहित वरियताको आधारमा अफगानिस्तानले सिधै क्वाटरफाइनल खेल्ने भए पनि राष्ट्रिय टिम विश्वकपको तयारीमा रहेकाले उनीहरुले दोश्रो टिमलाई चीन पठाएका छन् ।
त्यसले गर्दा पनि नेपाली टिमले पदक जित्ने लक्ष्य राखेको हो । केही समयअघि मात्रै एसिया कपमा भारत र पाकिस्तानको सिनियर टिमसँग खेल्दै उत्कृष्ट प्रदर्शन गरेको नेपालले एसियाडमा पनि त्यही प्रदर्शन दोहोर्याउँदै पदक जित्ने लक्ष्य राखेको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4