+
+

थारू समुदायद्वारा ‘जितिया पर्व’मा बिदा दिन माग

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ११ गते १४:३८

११ असोज, भरतपुर । चितवनका थारू समुदायले आफूले मनाउने सबै चाडबाडमा सार्वजनिक बिदा दिन माग गरेका छन् ।

थारु कल्याणकारिणी सभा चितवनले १३औँ जिल्ला अधिवेशनमार्फत ११ बुँदे ‘भरतपुर घोषणापत्र’ जारी गर्दै थारु समुदायले परम्पराकालदेखि मनाउँदै आइरहेको ‘जितिया’, यमोशा (पितृऔँशी), फगुवाको धुरहेरीलगायत सम्पूर्ण चाडपर्वमा बिदा दिन माग गरेको हो ।

थारू समुदायका महिलाको मुख्य चाड हो जितिया  । यस वर्ष यही असोज २० गते जितिया पर्व मनाइँदै छ । यसपटक जितिया शनिबार परेकाले स्वतः बिदा हुनेछ । तर अरु बेला यो चाड मनाउन स्थानीय सरकारले समेत बिदा दिने गरेको छैन ।

अझ विद्यालयमा सोही बेला परीक्षासमेत हुने गरेको छ । यसले गर्दा युवापुस्ताले आफ्नो चाडपर्व ढुक्कले मनाउन नपाएको थारु समुदायको गुनासो छ ।

यही अवस्थालाई मध्यनजर गर्दै थारु कल्याणकारिणी सभाले घोषणापत्र मार्फत नै बिदा दिन माग गरेको सभा चितवनका सभापति ललित चौधरीले जानकारी दिए ।

यस्तै सभाले घोषणपत्रमार्फत आगामी प्रदेशको निर्वाचन र स्थानीय तहको निर्वाचनमा पनि रैथाने थारुलाई मेयर, उपमेयर, वडाध्यक्षलगायत महत्वपूर्ण पदमा उम्मेदवार बनाउन चितवनका राजनीतिक दलसमक्ष मागसमेत गरेको छ ।

घोषणापत्रमा स्थानीय तहहरुमा थारु विकास कार्यक्रम लागू गरी थारु समुदायको आर्थिक, शैक्षिक, भाषिक, सांस्कृतिक, सामाजिक उत्थानका लागि सम्मानजनक बजेटको व्यवस्था मिलाउन, सङ्घीय र प्रदेशको कामकाजी भाषाअन्तर्गत बागमती प्रदेशको हकमा चितवनमा बोलिने थारु भाषाको उपस्थिति १ प्रतिशत भन्दा धेरै भएकाले प्रदेश र स्थानीय निकायमा कामकाजीको भाषाका लागि बहुभाषिक व्यवस्थाअनुरुप चितवनको थारु भाषा कामकाजको भाषाको रुपमा कायम गर्न आग्रह समेत गरिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?