+
+

इन्डोप्यासिफिक सम्मेलनमा सहभागी भएर फर्किए प्रधान सेनापति

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ११ गते १९:४३

११ असोज, काठमाडौं । संयुक्त राज्य अमेरिका र भारतको संयुक्त आयोजमा सम्पन्न इन्डोप्यासिफिक आर्मी चिफहरूको तेह्रौँ सम्मेलनमा सहभागी भएर प्रधान सेनापति प्रभुराम शर्मा स्वदेश फर्किएका छन् । गत ७ असोजमा दिल्ली प्रस्थान गरेका शर्मा बिहीबार स्वदेश फर्किएका हुन् ।

असोज ८-१० गतेसम्म सञ्चालन भएका “शान्तिका लागि सहकार्य : इन्डोप्यासिफिक क्षेत्रमा दिगो शान्ति र स्थिरता” विषयमा आयोजित उक्त कन्फ्रेन्समा ३० देशका सैनिक कमाण्डर तथा सैनिक अधिकारीहरूको सहभागिता रहेको थियो ।

३ दिल्लीमा प्रधान सेनापति शर्माले अष्ट्रेलिया, बङ्गलादेश, जापान, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत र भारतका समकक्षीहरुका साथै भारतका चीफ अफ डिफेन्स स्टाफ (सीडीएस) सँग बेग्लाबेग्लै भेटघाट गरेका थिए ।

सैनिक जनसम्पर्क कार्यालयका अनुसार प्रधान सेनापतिले नयाँ दिल्ली स्थित नेसनल डिफेन्स कलेज (एनडीसी) को समेत भ्रमण गरेका थिए ।

शर्माले एनडीसीमा सञ्चालित एनडीसी-६३ मा सहभागी शिक्षार्थी र शिक्षकहरूसँग राष्ट्र निर्माण र नेपालको पररांनीतिमा सेनाको योगदान बारे प्रवचन दिएका थिए । हाल उक्त कलेजमा नेपालका तीनजना महासेनानीहरु तालिमरत रहेका छन् ।

प्रधान सेनापतिसँगै सतचालिसौँ इन्डोप्यासिफिक सैनिक व्यव्स्थापन सेमिनार तथा नवौं सूचीकृत लिडर्स फोरममा सहभागी हुन गएका अन्य सैनिक अधिकारी पनि स्वदेश फर्किएका छन् ।

भ्रमणका क्रममा बिभिन्न मित्रराष्ट्रहरुका समकक्षी लगायतका पदाधिकारीहरुसँगको अन्तर्क्रियाबाट मानवीय सुरक्षा लगायतका साझा चासोका बिषयहरुमा अनुभवहरुको आदानप्रदान गर्ने अवसर प्राप्त भएको नेपाली सेनाले जनाएको छ ।

साथै सम्बध्द देशहरुसँगको नेपालको सम्बन्ध थप सुमधुर बनाउन मध्दत पुगेको विश्वाश नेपाली सेनाले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?