+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

एमाले कोशीको अध्यक्षमा ढकाल र खतिवडा मुख्य प्रतिस्पर्धी

हरि अधिकारी हरि अधिकारी
२०८० असोज ११ गते २१:१६
एमाले नेताहरु घनश्याम खतिवडा (बायाँ) र विनोद ढकाल ।

११ असोज, विराटनगर । नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशन शुक्रबार विराटनगरमा सुरु हुँदैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने तय भएको अधिवेशनबाट नेताहरुले सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिरहेका छन् ।

तर अधिवेशन अगाडि भइरहेको तयारीले भने अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । अध्यक्षका आकांक्षी तुलसीप्रसाद न्यौपाने पछि हटेकाले पनि ढकाल र खतिवडाबीच प्रतिस्पर्धाको सम्भावना बलियो बनेको हो ।

अहिलेका प्रदेश उपाध्यक्ष टीकाराम चेम्जोङले भने आकांक्षा छोडेका छैनन् । ‘वर्तमान उपाध्यक्षले इच्छा देखाएपनि चुनावमा भिड्ने विनोद ढकाल र घनश्याम खतिवडाले नै हो,’ प्रदेशका एक नेताले भने, ‘ओलीको स्पष्ट लाइन आएको छैन, प्रदेशका केही नेताहरु खतिवडाको पक्षमा लागेका छन् ।’

ती नेताका अनुसार, मुख्यमन्त्री भीम आचार्य लगायत विनोद ढकालको पक्षमा खुलेका छन् । अग्नि खरेल, भानुभक्त ढकाल, गुरु बराल लगायत खतिवडाको पक्षमा छन् ।

खतिवडा पक्षमा लागेका नेताहरुले खतिवडालाई पार्टी अध्यक्ष ओलीको साथ रहने दाबी गरिरहेका छन् । ओलीसँग ढकालको सम्बन्ध बिग्रिएका कारण खतिवडाले समर्थन पाउने उनीहरुको तर्क छ ।

खतिवडा पूर्व सांसद तथा एमालेका पुराना नेता हुन् । केन्द्रीय सदस्य विनोद ढकाल धनकुटा इञ्चार्ज हुन् । ढकाल र खतिवडा एमाले मोरङको पाँचौं जिल्ला अधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए ।

तत्कालीन एमालेमा माधवकुमार नेपाल पक्षबाट खतिवडा र ओलीको पक्षबाट ढकाल उम्मेदवार थिए । तर त्यसबेला ढकालले चुनाव जितेका थिए । तर पार्टीको नवौं केन्द्रीय महाधिवेशन अघि नेपाल पक्ष छाडेर खतिवडा ओलीतिर लागेका थिए ।

स्रोतका अनुसार ढकाललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको साथ छ । तर, सुवासचन्द्र नेम्वाङको मृत्युपछि ढकाललाई अप्ठयारो परेको छ । ‘हिजो नेम्वाङले ढकाललाई साथ दिएका थिए, मृत्युअघि अन्तिम फोन सम्वाद पनि ढकालसँगै भएको थियो’, एक नेता भन्छन् ।

प्रदेश अधिवेशनका लागि ९९७ जनाप्रतिनिधि छनोट भएर आइसकेका छन् । थप ५० जना मनोनयन गर्न बाँकी छ । पालिका र जनसंगठनबाट छनोट भएर आएकाहरुको स्पष्ट लाइन नखुलेपनि दुवै पक्षको आधा–आधा उपस्थिति भएको स्रोतको दाबी छ ।

प्रदेशले मनोनयन गर्दा आफ्नो पक्ष कमजोर हुने देखिएपछि ढकाल पक्षले मनोनयन गर्न मानेको छैन । मनोनयन नभए प्रदेशमा ९९७ जना मात्रै प्रतिनिधि सहभागी हुनेछन् । प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपानेले मनोनयन गर्ने ५ प्रतिशतबारे छलफल भइरहेको बताए ।

प्यानल बनाउन रोक

प्रदेश अध्यक्ष न्यौपानेले अधिवेशनले सर्वसम्मत नेतृत्व छनोटको प्रयास हुने बताए । सर्वसम्मतको प्रयास असफल भए निर्वाचन प्रक्रियाबाट नेतृत्व छनोट हुने उनले बताए ।

तर निर्वाचन हुँदा कसैले प्यानल बनाउन नपाउने उनले बताए । निर्वाचनमा व्यक्तिगत रुपमा लड्नुपर्ने दाबी गर्दै उनले प्यानल बनाउन पार्टीले रोक लगाएको बताए ।

अन्य प्रदेशको अधिवेशनमा पनि प्यानल नबनेको बताउँदै उनले कोशी प्रदेशमा प्यानल बनाउन नदिने बताए ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?