+
+

सोल्टी होटलमा रहेको नेपाल एयरलाइन्सको सेयर बेचेर नयाँ जहाज किन्न सिफारिस

अच्युत पुरी अच्युत पुरी
२०८० असोज १४ गते १८:००

१४ असोज, काठमाडौं । नेपाल वायुसेवा निगमको संरचनात्मक एवम् व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले नेपाल एयरलाइन्सको सोल्टी होटलमा रहेको सेयर बेचेर जहाज खरिदमा लगानी गर्न सुझाव दिएको छ ।

पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री संयोजक रहेको पाँच सदस्यीस समितिले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई आफ्नो प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदनले स्रोतको जोहो गर्न सोल्टी होटलमा रहेको सेयर बिक्री गरेर जहाज किन्न सिफारिस गरेको हो ।

नेपाल एयरलाइन्सको सोल्टी होटल लिमिटेडमा १ करोड ३ लाख ३३ हजार ६९९ कित्ता सेयर रहेको छ । १९ भदौसम्म यो कम्पनीको सेयरको मूल्य प्रतिकित्ता ४४३ रुपैयाँ रहेको र निगमको सेयर बेच्दा ४ अर्ब ५७ करोड ७८ लाख २८ हजार ६५ रुपैयाँ पुग्ने देखिन्छ । यो बिक्री गरी प्राप्त हुने रकमबाट नयाँ जहाज खरीदमा उपयोग गर्न सकिने सिफारिस समितिले गरेको छ ।

अर्कोतर्फ निगमले बजारबाट २ अर्ब १९ करोड रुपैयाँ उठाउनु पर्ने अवस्थामा देखिएको समेत समितिले जनाएको छ । सो रकम नउठ्दा यसको प्रत्यक्ष प्रतिकूल असर नगद प्रवाहमा परेको भन्दै समितिले यो रकम उठेमा समेत नयाँ जहाज किन्नमा प्रयोग गर्न सकिने उल्लेख गरेको छ ।

निगम वर्तमान अवस्थामा पूँजीको अभाव, ऋण र जहाज अभावको चर्को दबाबमा रहेको भन्दै सरकारको पूर्ण स्वामित्वमा रहेका कारण सरकारले आवश्यक पूँजी थप गरी आवश्यक मात्रामा जहाज किन्न समेत समितिले भनेको छ । निगमसँग अहिले ४८ अर्ब ३ करोड ऋण रहेको छ ।

खुला प्रतिस्पर्धाबाट कार्यकारी नियुक्ति

यो समितिले निगमको प्रमुख कार्यकारी नियुक्ति खुला प्रतिस्पर्धाबाट गराउन समेत सुझाव दिएको छ । अहिले सत्तारुढ दल वा गठबन्धनका दलमा वफादार व्यक्तिहरु निगमको कार्यकारी पदमा पुग्ने गरेका छन् ।

अब कार्यकारी नियुक्ति योजना आयोगका उपाध्यक्ष संयोजक रहने मितिले निर्धारण गरेको छनोट विधिबाट खुला प्रतिस्पर्धाका आधारमा गर्न समेत समितिले सुझाव दिएको छ । त्यसका लागि ऐन संशोधन गर्न भनिएको छ । आधुनिक व्यवस्थापन विधि प्रयोग गरी व्यवस्थापन करारको पद्दती अवलम्बन गर्न समेत सुझाव दिइएको छ ।

रणनीतिक साझेदार भित्र्याउने विकल्प

यो समितिले समेत रणनीतिक साझेदार भित्राएर कम्पनी मोडलमा नेवानि सञ्चालन गर्न सुझाव दिएको छ ।

तेस्रो विकल्कमा कम्पनीलाई होल्डिङ अन्तर्गत अन्तर्राष्ट्रिय सेवा प्रदान गर्ने सहायक कम्पनी, आन्तरिक हवाई सेवा गर्ने सहायक कम्पनी र मूल कम्पनी भित्र भुमिस्थ सेवा, उड्डयन सम्बन्धी तालिम, क्याटरिङ, विमानलगायत उपकरण मर्मत सम्भार आदि काम गर्ने र सहायक कम्पनीहरुलाई आवश्यक प्राविधिक काममा सघाउने गरी व्यवस्थापन सुधार गर्न सकिने समितिको सुझाव छ ।

निगमलाई होल्डिङ कम्पनीमा परिणत गरी अधिक सेयर सरकार र सरकारका संस्थामा रहने गरी छुट्टाछुट्टै संस्था बनाउन समेत समितिले सुझाव दिएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?