+
+
मदन पुरस्कार विजेता विवेक ओझा भन्छन् :

‘शरीरमा गोली बोकेर आफ्नै कमाण्डरविरुद्ध घस्रिरहेको योद्धा देखेपछि ऐँठन लेखें’

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १४ गते २२:१४

१४ असोज, काठमाडौं । युवा उपन्यासकार विवेक ओझाको कृति ‘ऐँठन’ले मदन पुरस्कार पाएको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले गत वर्ष प्रकाशित पुस्तकमध्ये ओझाको उपन्यास ‘ऐँठन’लाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।

‘…विगतमा नेपाल राष्ट्र एवं नेपाली समाजले बेहोरेको द्वन्द्वको दुःस्वप्न र अहिले पनि त्यस दुःस्वप्नले हामीलाई ऐँठनका पीडामा डुबाइरहेको यथार्थलाई स्प्नलेखनको प्रविधि पनि मिसाइ उत्कृष्ट औपन्यायिक कलाको उपयोगद्वारा नवीन किसिमले व्यक्त गरेको हुँदा मदन पुरस्कार २०७९ अर्पण गर्ने निर्णय गर्‍यो’, गुठीको वक्तव्यमा उल्लेख छ ।

नेपाली समाजले खेपेको युद्ध र संसारका युद्धहरुको आर्तनाद नै उपन्यास ‘ऐँठन’ भएको तर्क गर्दै उपन्यकार ओझा, आफ्नो कृतिमाथि बहस सघन गरिनुपर्ने आग्रह गर्छन् ।

उनी भन्छन्, ‘अहिलेको समयमा मेरो उपन्यास उपयुक्त ठहरियो, होला । यो उपन्यासले उठाएको विषयमा त व्यापक बहस गरिनुपर्छ भन्ने मेरो आग्रह पनि छ ।’

प्रस्तुत छ, मदन पुरस्कार विजेता उपन्यास ‘ऐँठन’का लेखक ओझासँग  सइन्द्र राईले गरेको कुराकानीको सम्पादित अंशः

तपाईंलाई आफ्नै उपन्यास ‘ऐँठन’ किन मदन पुरस्कारका निम्ति योग्य बन्यो जस्तो लाग्छ ?

मान्छेले समाजसँग घुलमिल हुन थालेको १० हजार वर्ष भयो । यो १० हजार वर्षमा मान्छेले एकअर्कासँग बस्ने प्रयत्न गर्‍यो, एकअर्कालाई बुझ्ने प्रयास गर्‍यो । देश बनायो, परिवार बनायो । यावत परिवर्तन भए ।

तर मानवका लागि धर्तीमा भइरहेको प्राकृतिक स्रोत, मान्छेले बनाएको पूँजी र अदृश्य शक्तिको स्रोत सीमितताभित्र रहन्छ, जहिल्यै पनि ।

त्यो सीमितता मान्छेले एकअर्कामा बाँडेर प्रयोग गर्‍यो भने स्वर्गको कल्पना यही धर्तीमा हुन्छ भन्ने मेरो दृष्टिकोण हो । तर मान्छेले अहमताको कारण त्यो हुन दिएको छैन । सिमानाका लागि लडाइँ गरिरहेको छ, सत्ता सञ्चालनको लडाइँ गरिरहेको छ ।

मैले त्यस्तो हत्या हिंसा भन्दा पावर शेयरिङबाट धर्तीलाई स्वर्ग बनाउनुपर्छ भन्ने जीवनवादी र मानवतावादी दृष्टिकोणलाई लिएर लेखेको हुँ । मलाई लाग्छ, अहिलेको समयमा मेरो उपन्यास उपयुक्त ठहरियो, होला ।

युद्धका पुस्तक त थुप्रै लेखिएका छन् नि ! फेरि यही रोज्नुपर्ने कारण ?

नेपाली समाजले भोगेको युद्धबारे थुप्रै कृति लेखिए, मैले पनि पढें । तर ती कृतिहरुबाट मेरो चित्त बुझेको थिएन । किनकि ती कृतिहरुमध्ये कतिपय सत्ताबाट लेखे जस्तो छ कि तत्कालीन विद्रोही लाइन समाते जस्तो ।

ती कृतिहरु गुदीमा पुगेजस्तो मलाई भान भएन । र मैले, मनमनै प्रण गरें । युद्ध बडो कुरुप हुन्छ, युद्धले दयामाया गर्दैन । र, उपन्यासमा युद्धको अनुहार देखिनुपर्छ । हामीले भोगेर आएको युद्धको अनुहार, मिथले देखाएको युद्धको अनुहार र विश्वयुद्धले भोगेको अनुहार कस्तो थियो ? ती अनुहार कुन रुपमा समान थिए ? तिनको नियतिले मानव जगत र मानवतालाई कसरी असर गरिरहेको छ ? त्यो देखाउने काम ऐँठनमा गरें ।

तर बिर्सिसकेको चोट सम्झाए जस्तो लागेको छैन ?

त्यस्तो होइन, अहिले पनि शान्ति सम्झौताको काम टुंगिएको छैन । भर्खरै संयुक्त राष्ट्रसंघको महासभामा गएर प्रधानमन्त्रीले शान्ति सम्झौता अनुसार अगाडि बढ्ने र निर्मम खालको अपराध छुट नदिने वक्तव्य दिनुभयो । अर्थात् शान्ति सम्झौताका कामहरु पूरा भइसकेको छैन ।

अर्कातिर पेट पाल्न, जातीय समानता ल्याउन र पहिचानको सम्मान गर्न भनेर युद्धमा भाग लिएकाहरुको मुद्दा सम्बोधन भएको छैन । जबकि तत्कालीन विद्रोही पार्टीले पटकपटक राज्य सञ्चालन गरिसकेको छ, अहिले पनि सत्ता चलाइरहेको छ । तसर्थ तसर्थ यो उपन्यास सत्तामा आइरहनेलाई प्रश्न पनि हो ।

यिनै विषय हुन्, मदन पुरस्कार पाउन योग्य हुनुमा ?

यसबारे गुठीले सुन्दर जवाफ दिनसक्छ, सायद । मैले चाहिं उपन्यासबारे भन्ने हो । शान्ति सम्झौता त भयो । तर मुद्दाहरु त जस्ताको त्यस्तै छन् । बालसेनाको मुद्दा अदालतमा विचाराधीन छ ।

लेखनको दौरानमा मैले पनि थुप्रै बालसेना भेटें । त्यो त तथ्य हो नि, जो हाम्रो अगाडि छ । फेरि गम्भीर खालको अपराध क्षमायोग्य होइन भन्नेमा म निर्मम छु ।

माओवादी विद्रोहकालका घटना, तिनमा संलग्न पात्र र विना कसुर सजाय खेप्ने पात्रहरुको पृष्ठभूमिबारे संक्षेपमा भन्नुहुन्छ ?

२०६८/६९ सालतिर एउटा कथा संग्रह तयार पारेको थिएँ । त्यसको एउटा कथा हो, यो उपन्यास । त्यो कथा संग्रह विविध कारणले प्रकाशन हुन पाएन, पाण्डुलिपिमै थन्कियो ।

दोस्रो विश्वयुद्धका क्रममा हिरोसिमामा स्कुल गइरहेको बालक, कपाल कोरिरहेकी सुन्दरी, नुहाइरहेकी युवक सबै एकाएक खरानी भएका थिए । एटम बमको प्रहारबाट खरानी हुनुपर्ने उनीहरुको दोष के थियो ?

२०७४ सालमा मेरो पहिलो उपन्यास ‘ऐलानी’ आइसकेपछि दोस्रो पुस्तकको तयारीमा लागें । त्यसबेला यो युद्धको कथा फेला पारें ।

त्यही समयतिर माइतीघरमण्डलमा पूर्वलडाकूहरुको (जो शरीरमा गोलीका छर्रा बोकेर हिंडिरहेका छन्, जो ह्वीलचियरमा घस्रिन बाध्य छन्) आफ्नै कमाण्डरहरुविरुद्ध बेतोडको आन्दोलन थियो । अनि मैले यी सबै दृश्य एउटा कथाको माध्यमबाट मात्रै देखाउन सकिंदैन भन्ने महसुस भयो ।

अनि उपन्यास बनाउँछु भन्ने अठोट लिएँ । किनकि विशाल क्यानभास सिर्जना गरेपछि विशाल कुरा छ । यद्यपि मेरो उपन्यासले उनीहरुको सम्पूर्ण पीडा ओकल्न त सक्दैन । अझ ठूलो कष्ट भोग्न त बाँकी नै छ । किनकि मलाई लाग्छ, कुनै पनि मान्छेको ओर्जिनल पीडा एउटा किताबले मात्रै निकाल्न सक्दैन, बोल्न सक्दैन ।

अझ तपाईं अनुमान गर्नुहोस्, एउटा योद्धाले समाज परिवर्तन गर्छु, गरीबी हटाउँछु, जातीय समानता र पहिचानको सम्मान गर्ने देश बनाउँछु भनेर लड्यो । त्यो मान्छे खुट्टा गुमाएर, शरीरमा गोली बोकेर घस्रिरहेको छ, त्यो पनि आफ्नै तत्कालीन कमाण्डरका विरुद्धमा । ती तत्कालीन कमाण्डर भने सत्ता सञ्चालन गरिरहेको छ, सत्ताको बागडोर हातमा छ । त्यो दृश्य मैले एउटा कथामा मात्रै राख्न मनले मानेन ।

त्यसपछि म घुम्न निस्किएँ । म ती ठाउँहरुमा निस्किए, जहाँ बढी भन्दा बढी प्रभावित भएको होओस् । र त्यहाँका मानिसहरुसँग भलाकुसारी गरें । राज्य पक्षबाट अनि विद्रोही पक्षबाट पनि अपहरणमा परे, उनीहरुलाई भेटें । कुरा सुनें ।

त्यहाँ चलेका अनौठा हल्ला सुनें । ती सबै कुरा बटुलिरहँदा दिमागमा फ्रेम बन्दै गयो । अनि सेकेण्डरी स्रोतमा फर्किएँ । पुराना समयका म्यागजिनहरु खोतलें । हिमाल, नेपाल जस्ता म्यागजिनले ठूलो सहयोग पुर्‍यायो । अनि गुगल त भइहाल्यो । थप अध्ययन गरें ।

तपाईंले माओवादी विद्रोहकालका घटनालाई विश्वयुद्ध र महाभारतका बीभत्स दृश्यहरुसँग जोडेर सामान्यीकरण गर्नुभएको छ । त्यति ठूलो सामान्यीकरण आवश्यक थियो ?

लेखकका हिसाबले गृहयुद्ध जो छ, त्यतिमा मात्रै कलम चलाउनु असहज लागिरहेको थियो । किनकि गृहयुद्धका विषयमा थुप्रै सामग्री आइसकेका छन् । त्यति मात्रै गर्नुहुँदैन भन्ने आत्मबोध थियो । त्यही भएर समग्र युद्धलाई उतार्न सक्छु कि सक्दिनँ भनेर मथिंगल हल्लाएँ । किनकि युद्धका नियति, युद्धका पक्ष र उत्पीडनहरुको म्याप कोरें ।

सोचें, जसलाई भगवान भन्छौं उनीहरु प्रत्येकको हातमा हतियार छ । भनेपछि धर्म र संस्कारको मार्फत पनि हिंसाप्रति कहीं न कहीं झुकाव राख्ने रहेछौं भन्ने सेन्स आयो । त्यसपछि मैले मिथबाट सुरु गर्नुपर्छ अनुभव भयो । धेरै हत्या भएको मिथ महाभारत हो, जहाँ हिंसालाई धर्मयुद्ध भन्छ । भनेपछि कहीं न कहीं गलत छ भनेर प्रश्न उठाएँ ।

त्यसपछि विश्वयुद्धमा आए । किनकि थरीथरीका युद्धका नियति देखाउनुथियो । दोस्रो विश्वयुद्धका क्रममा हिरोसिमामा स्कुल गइरहेको बालक, कपाल कोरिरहेकी सुन्दरी, नुहाइरहेकी युवक सबै एकाएक खरानी भएका थिए । एटम बमको प्रहारबाट खरानी हुनुपर्ने उनीहरुको दोष के थियो ?

महाभारतको मिथमा पनि उस्तै छ । कौरव पक्षबाट लडेको र पाण्डव पक्ष पक्षबाट लडेको अनाम योद्धाबीच दुस्मनी केही थिएन । दुस्मनीको सिर्जना कसले गर्‍यो ? नेपालको गृहयुद्धमा मेरो उपन्यासको बबनकुमार राज्यबाट पनि प्रताडित छ अनि विद्रोहपक्षबाट पनि प्रताडित छ । दुवै पक्षबाट उसले विना कुसरको सजाय पाएको छ । किनभने बबनकुमार बफर जोनमा छ ।

उपन्यासका बबनकुमारकै जस्तो मनस्थिति र परिस्थिति तपाईंले वास्तविक जीवनमा पनि भेट्टाउनुभएको छ ?

यो किताब दशवर्षे गृहयुद्धको निचोड होइन । कुनै पनि किताब गृहयुद्धको निचोड हुन सक्दैन । यो उपन्यास एउटा पात्रको कथा हो, त्यो पात्र जस्तै थुप्रै पात्रको कथा हो ।

त्यो लेखिन र सोचिन आवश्यक पात्र पनि हो भन्ने लाग्छ । किनकि राज्य र विद्रोही हतियारधारी पक्ष भन्दा गृहयुद्धमा निहत्था सर्वसाधारण धेरै मरेका छन् । उनीहरु तर्फको कुरा हो, ‘ऐँठन’ । बबनकुमार, जसले दुवै पक्षको प्रताडना खेपेको छ, उनको वेदना, आर्तनाद र गुमाउनु परेको जीवनको कथा हो ।

युद्धहरुको साझा नियति र अनुहार देखाइरहँदा उपन्यास मार्फत मेरो आग्रह पनि हो, धरतीलाई स्वर्ग बनाऔं । अहिले आणविक हतियारका लागि एग्रिमेन्ट भइरहेको छ । कैयौं ट्रिलियन डलर हतियारमा लगानी भइरहेको छ, जबकि अर्कातिर लाखौं मानिस भोकमरीले मरिरहेका छन् ।

हतियार बनाउने पैसा गरिबी निवारणका लागि प्रयोग गरेको भए गरिबी निवारण हुन्थेन र ? यो कुरा उपन्यासमा छ । त्यसैले शान्ति र जीवनका लागि लेखिएको उपन्यास हो, ‘ऐँठन’ ।

हेर्नुहोस् भिडियो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?