+
+

जहाँ सबै विद्यार्थी दैनिक शिक्षकको कोठामा पुग्नुपर्छ

रासस रासस
२०८० असोज १६ गते १९:०७

१६ असोज, स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका–९ साउन्दीस्थित पीपलडाँडा माध्यमिक विद्यालयमा विद्यार्थीहरू शिक्षकको कोठामा पुग्नैपर्ने नियम छ ।

विद्यालयले प्रविधिको उच्चतम प्रयोग गर्ने नीतिअनुसार विद्यार्थीलाई शिक्षकको कार्यकक्षमा अध्ययनका लागि पुग्नैपर्ने नियम बनाइएको विद्यालयका प्रधानाध्यापक रोमकान्त न्यौपानेले जानकारी दिए ।

उनले आवश्यक शैक्षिक सामग्री, प्रयोगशाला, ल्याब, कम्प्युटर, इन्टरनेट, प्रोजेक्टर, स्मार्ट बोर्डसहित व्यवस्थापन गरिएको विषय शिक्षकको कार्यकक्षमा विद्यार्थी अध्ययनका लागि जाने गरेको बताए ।

प्रधानाध्यापक न्यौपानेले एकदेखि कक्षा तीनसम्म ग्रेडिङ प्रणालीबाट शिक्षण सिकाइ क्रियाकलाप भएको भन्दै चारदेखि कक्षा १० सम्म प्रविधिको उच्चतम प्रयोगसहित शिक्षण सिकाइ क्रियाकला सञ्चालन भएको बताए ।

‘हामीसँग पर्याप्त कक्षा कोठा भएकाले सबै विषय शिक्षकको प्रविधि जडित आवश्यकताअनुसार प्रयोगशाला र शैक्षिक सामग्री राखेर आ-आफ्नै कार्यकक्ष बनाइएको छ’, उनले भने, ‘चार कक्षा देखि १० कक्षा सम्मका सबै विद्यार्थी घण्टी अनुसार विषय शिक्षककहाँ गएर अध्ययन गर्ने व्यवस्था मिलाइएको छ ।’

शान्त वातावरण, रमणीय दृश्य, उचित खेलमैदान, शुद्ध पिउनेपानी, शौचालयको राम्रो व्यवस्था र प्रविधिको अधिकतम प्रयोगले विद्यार्थीको आकर्षण बढ्दै गएको प्रधानाध्यापक न्यौपानेको भनाइ छ ।

उनले यो विद्यालयमा गत आर्थिक वर्षमा ‘आइसिटी कार्यक्रम’ योजनाका लागि छनोट भएर कार्यक्रम लागू भएको बताए ।

यो विद्यालय ५६ वर्ष पुरानो हो भने यहाँ हाल १८ शिक्षक तथा कर्मचारी कार्यरत छन् । एक सय ४० विद्यार्थी अध्यनरत यस विद्यालयमा चार हजार पुस्तकसहितको पुस्तकालयसमेत छ ।

सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा तुलसी तिवारीले विद्यालयमा नयाँ शिक्षण सिकाइ पद्धति सुरुआत भएपछि आफूलाई पढाइप्रति जाँगर चल्दै गएको बताए ।

उनले आफूले नजानेका विषयवस्तु शिक्षककै कार्यकक्षमा बसेर कम्प्युटरमा खोज्न पाउँदा ऊर्जा मिल्ने गरेको बताए ।  ‘गणित विषयको सन्दर्भ सामग्री पर्याप्त छैन, त्यसलाई बढाए हामीलाई सहज हुने थियो’, तिवारीले भने, ‘साना कक्षाका भाइबहिनीहरूका लागिसमेत उच्च प्रविधि पर्याप्त शैक्षिक सामग्रीसहित पढाउन आवश्यक छ ।’

अभिभावक चोकलाल तिवारीले प्रविधिको अधिकतम प्रयोग गर्ने विद्यालयको प्रयासले अभिभावकमा नयाँ आशा जगाएको बताए । उनले शिक्षककै कोठामा गएर पढ्नुपर्ने नियमका कारण आफ्ना छोराछोरीमा सिर्जनशीलता र क्रियाशीलताको विकास भएको बताए ।

उनले जिल्लाका उत्कृष्ट विद्यालयसँग प्रतिस्पर्धा गर्नका लागि नमुना र शैक्षिक स्तर राम्रो भएका विद्यालयहरूमा गएर यहाँका शिक्षकहरूलाई सिक्नसमेत सुझाव दिए ।

विद्यालयका शिक्षक प्रकाश न्यौपानेले बढ्दो बसाइँसराइका कारण गाउँ खाली भएको अवस्थामा प्रविधिको प्रयोगसहितको यो पद्धतिले विद्यार्थी टिकाउन सहज भएको बताए । उनले विद्यार्थी शिक्षकको कोठामा अध्ययन गर्न आउने परिपाटीले शिक्षक र विद्यार्थीबीच आत्मीयता, सद्भाव, सिर्जनशीलता र रुचिको विकास भएको दाबी गरे ।

जिल्ला शिक्षा समन्वन एकाइ स्याङ्जाका प्रमुख विश्वराज आचार्यले स्याङ्जामा ‘आइसिटी’को प्रयोग गर्ने विद्यालयहरूको सङ्ख्या बढ्दै गएको बताए । उनले प्रविधिको सही प्रयोग गरेका यहाँका विद्यालयहरूबाट सकारात्मक नतिजासमेत आइरहेको दाबी गरे ।

‘प्रविधिको उच्चतम प्रयोग गर्ने क्रममा विद्यार्थीमा देखिएको गलत आचरण र व्यवहार हटाउनसमेत हामीहरू प्रयासरत छौँ’, प्रमुख आचार्यले भने, ‘ विद्यार्थीले प्रविधिको गलत प्रयोग गर्न सक्ने सम्भावनासमेत रहने हुँदा अभिभावकलाई पनि चनाखो हुन सुझाव छ ।’

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?