+
+

बझाङमा भूकम्पका एक दर्जन धक्का, घरहरु चिरैचिरा, प्रभावितहरु खुला चौरमा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १७ गते ७:५७

१७ असोज, काठमाडौं । बझाङका भूकम्प पीडितहरुले खुला आकासमा रात बिताएका छन् । राति र आज बिहान पनि साना धक्का गइरहेकाले उनीहरु घर फर्किन सकेका छैनन् ।

प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले भूकम्पपछि कोही पनि घरमा बस्न नसकेको बताए । ‘घर फर्किने अवस्था छैन, सबैले खुला स्थानमा रात बिताउनुभयो,’ उनले भने ।

कोहीले बुधबार नेपाल रेडक्रसले उपलब्ध गराएको ४० वटा त्रिपाल मुनि र कोहीले आफ्नै व्यवस्था गरेर रात काटेका छन् ।

मंगलबार दिउँसो २ः४० बजे बझाङको चैनपुर आसपास केन्द्रविन्दु भएर ५.३ र ३ बजेर ६ मिनेटमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि १० पटकसम्म भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरको विवरणमा उल्लेख छ । ती कम्पनहरु ५ देखि ४ म्याग्निच्युडसम्मका छन् ।

एक महिला वेपत्ता, जिल्ला विपत व्यवस्थापन समितिको बैठक बोलाइयो

प्रमुख जिल्ला अधिकारी पाण्डेयका अनुसार बुधबार बिहानसम्म भूकम्पबाट १३ जना घाइते भएको र एकजना बेपत्ता भएको विवरण प्राप्त भएको छ । घाइतेहरुमध्ये दुई जना अस्पतालमै भर्ना भएका छन् भने ११ जना सामान्य उपचारपछि फर्किएका छन् ।

एकजना महिला भने अझै पनि बेपत्ता छिन् । जयपृथ्वी नगरपालिका-११ ओखल घर भएकी अन्दाजी ४०/४५ वर्षीया गुनमती धामीको अवस्था थाहा हुन नसकेको प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिए । उनी टिमुर टिप्न भन्दै जंगल गएकी थिइन् । त्यहीबेला माथिबाट खसेको पहिरोमा उनी परेकी थिइन् । उनको खोजतलासका लागि सशस्त्र र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार भूकम्पले भएको क्षति अध्यावधिक गर्ने काम भइरहेको छ । प्रभावितहरुका लागि थप योजना बनाउन आज बिहान जिल्ला विपत व्यवस्थापन समितिको बैठकसमेत बोलाइएको छ । ‘सो बैठकमा आउँदा क्षतिको विवरण पनि लिएर आउन सदस्यहरुलाई भनेको छु, त्यसपछि एकिन विवरण हामी सार्वजनिक गर्छौं,’ प्रजिअ पाण्डेयले भने ।

जयपृथ्वी राजमार्ग अवरूद्ध

प्रारम्भिक विवरण अनुसार भूकम्प र परकम्पले सदरमुकाम चैनपुरसहितका स्थानमा घर र अन्य भौतिक संरचनामा क्षति पुगेको छ । निजी, सरकारी र सार्वजनिक भवनहरु कुनै भत्किएका र कुनै चिरैचिररा परेकाले जोखिमयुक्त छन् ।

अघिल्ला धक्काले कमजोर बनेका घरहरु पटक-पटक आइरहेका परकम्पले कुनै पनि बेला भत्किनसक्ने जोखिम भएकाले घरमा नबस्न प्रशासनले आह्वान गरेको छ । प्रभावितहरुलाई नेपाल विद्युत प्राधिकरणको चौर, जिल्ला प्रशासनको प्रांगण, टुँडिखेल र विद्यालयका चौरहरुमा राखिएको छ ।

भूकम्पपछि जयपृथ्वी राजमार्गका दुई ठाउँमा सुक्खा पहिरो गएर राजमार्ग अवरुद्ध भएको थियो । एक ठाउँको पहिरो पन्छाइए पनि वडा नम्बर ७ को कचली खोला भन्ने स्थानको पहिरो पन्छाउन बाँकी छ ।

भूकम्पले डिभिजन वन कार्यालय, निर्वाचन कार्यालय, कृषि लगायत सरकारी कार्यालयमा पनि क्षति पुगेको छ । अत्यावश्यक सेवा प्रवाहका लागि वैकल्पिक व्यवस्था मिलाउन सम्बन्धित कार्यालयका प्रमुखहरूलाई निर्देशन दिइएको छ ।

जिल्ला कारागारमा पनि सामान्य क्षति भएकाले कैदीबन्दीलाई सुरक्षित स्थानमा बस्ने व्यवस्थाका लागि जेलरलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?