+
+

वरीयता खस्केकोमा त्रिविको असन्तुष्टि, डीन भन्छन्– भूराजनीतिक खेल हो

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १७ गते २०:२०

१६ असोज, काठमाडौं । पाँच वर्षदेखि विश्वका उत्कृष्ट विश्वविद्यालयको एक हजारभित्र पर्न सफल त्रिभुवन विश्वविद्यालय सन् २०२४ मा भने १२०० देखि १५०० भित्र पर्ने भएकाे छ।

टाइम्स हायर एजुकेसनको सर्वेक्षणमा आफ्नो स्तर खस्किएपछि त्रिविले आफ्नो बलियो पक्षमा अंकभार कम राखिएका कारण वरीयतामा तल परेको स्पष्टीकरण दिएको छ ।

त्रिविको रजिष्टार कार्यालयले विज्ञप्ति जारी गर्दै भनेको छ– ‘चीन, भारत र नेपाल लगायत एशियामा अभिवृद्धि हुँदै गएको विश्वस्तरीय अनुसन्धान र प्रकाशन एवं सोको साइटेसनलाई कम अङ्कभार दिई गणना गर्दा विविध शङ्का, उपशङ्का उब्जिएको पाइन्छ ।’

त्रिविले समग्र विश्वविद्यालयको स्तर मापनका विभिन्न सूचकहरुमा निरन्तर सुधार भएको दाबी गर्दै मापदण्डमा हेरफेरका कारण आफ्नो वरीयता तल झरेको दाबी गरेको छ । त्रिविका अनुसार टाइम्सले गत वर्षसम्म अनुसन्धान साइटेसनलाई ३० प्रतिशत अंकभार दिएकाेमा सन् २०२४ देखि घटाएर १५ प्रतिशत अंकभार दिन थालेको छ ।

यसको असर नेपाललाई मात्र नभई चीत र भारतका विश्वविद्यालयमा पनि परेको छ । टाइम्सकै अर्को प्रतिवेदनमा त्रिवि एशियाका विश्वविद्यालयहरूमा गतवर्षकै २५१ देखि ३०० को वरीयतामा रहेको त्रिविको भनाइ छ ।

टाइम्सले सूचना गरेपछि विश्वविद्यालयले फाराम भरेर पठाउनुपर्ने व्यवस्था छ । टाइम्सले सार्वजनिक गरेको सूचीमा त्रिविले अनुसन्धानको वातावरण शीर्षकमा सबैभन्दा कम अर्थात् ८.२ अंक मात्र पाएको छ । त्रिविले शिक्षण सिकाइमा ११.३, अनुसन्धान गुणस्तरमा ४९.५, उद्योग र उत्पादनमा १५.९ र अन्तर्राष्ट्रिय दृष्टिकोणमा ४६.६ स्कोर पाएको छ ।

भू–राजनीतिको असर !

विज्ञान तथा प्रविधि संकाय डीन प्रा.डा.विनिल अर्यालले एसियाका विश्वविद्यालयहरु भू–राजनीतिको मारमा परेको बताए ।

टाइम्समा प्रतिस्पर्धा गर्न दुई वर्षअघि त्रिविले प्रा.डा.अर्यालको संयोजकत्वमा ३ सदस्यीय सुझाव कार्यदल बनाएको थियो । त्रिविले पछिल्लो २ वर्षदेखि सोही कार्यदलको सुझाव अनुसार टाइम्समा विवरण पठाउँदै आएको छ ।

यसवर्ष टाइम्सले मूल्याङ्कन गर्ने बेलामा अंकभार परिवर्तन गरेको इमेल पठाएको अर्यालले बताए । ‘पूर्वी क्षेत्रको विश्वविद्यालय बलियो देखियो भने विद्यार्थीको चाप हुँदैन भन्ने मानसिकता देखिएको छ । त्यसैले यो भू–राजनीति हो’, उनले भने ।

गत वर्ष अन्तर्राष्ट्रिय विद्यार्थी, अन्तर्राष्ट्रिय संकाय र अन्तर्राष्ट्रिय कर्मचारीको लागि क्रमश १–१ प्रतिशत अंकभार हुने गरेकामा यो पटक विश्वविद्यालयहरुले पुरानै सूचक अनुसार विवरण पठाइसकेपछि मूल्याङ्कन प्रतिशत बढाएर क्रमश ४.५ प्रतिशत अंकभार बनाइएको अर्यालको भनाइ छ ।

पछिल्लो केही वर्षमा चीनमा भियतनाम, इन्डोनेसिया, मलेसिया, फिलिपिन्सका विद्यार्थीको चाप बढ्दै गएपछि त्यो चाप घटाउन टाइम्सले भू–राजनीतिक खेल खेलेको उनको जिकिर छ । ‘त्यस्तै नेपालबाट धेरै विद्यार्थी पढ्न विदेश गइरहेको बेला नेपालको विश्वविद्यालय खत्तम भयो भनेर देखाउनको लागि गरिएको प्रोपोगान्डा हो’, अर्यालले भने ।

टाइम्सले अन्तर्राष्ट्रिय विद्यार्थी, अन्तर्राष्ट्रिय संकाय र अन्तर्राष्ट्रिय कर्मचारीको लागि ३ प्रतिशतबाट बढाएर १३.५ प्रतिशत अंकभार पुर्‍याएको र रिसर्च ल्याबको अंकभार ५ पु¥याउनु र साइटेसनको लागि ३० प्रतिशतबाट घटाएर १५ प्रतिशत अंकभार तोकिनु नै त्रिविको वरीयता खस्कने मुख्य कारण भएको अर्यालको भनाइ छ । टाइम्सले विदेशी विद्यार्थी, अभिभावक भने त्रिविमा शून्यप्राय रहेको उल्लेख गरेको छ ।

त्रिविको विश्वभाषा क्याम्पसमा विदेशी विद्यार्थी भर्ना हुनुका साथै विदेशी अध्यापकहरु भए पनि भाषा अध्ययनलाई उपाधिको मान्यता नदिने भएकाले टाइम्सको मूल्यांकनमा त्यसको गणना नभएको डिन अर्यालको भनाइ छ ।

टाइम्सले यस वर्षदेखि दिगो विकास लक्ष्यका विभिन्न पाँच सूचकमा पनि १–१ अंक राख्नु नेपालका लागि राम्रो भएको उनले बताए ।

यस वर्ष टाइम्सको सूचीबाट भारत र चीनका धेरै विश्वविद्यालय बाहिरिएका छन् । ‘मैले प्राप्त गरेको सूचना अनुसार सम्भवत इन्डियाको युजिसी (विश्वविद्यालय अनुदान आयोग) ले केही दिनभित्रै विज्ञप्ति निकालेरै असन्तुष्टि जनाउँछ’, प्रा. डा. अर्यालले भने ।

त्रिविका ९ अध्ययन संस्थान तथा संकायमा करिब ४ लाख विद्यार्थी अध्ययनरत छन्, त्यस्तै ४ वटा अनुसन्धान केन्द्र छन् ।

त्रिविका एक प्राध्यापक समयमा परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गर्न नसक्नु र राजनीतिक खिचातानीको कारण भइरहने तालाबन्दीको कारण पनि विश्व वरीयतामा प्रभाव परेको बताउँछन् ।

उनी भन्छन्, ‘त्रिविले न समयमा परीक्षा सञ्चालन न नतिजा प्रकाशन गर्न सकेको छ । त्यसमाथि राजनीतिक खिचातानीमा ३ वर्षमा ३ सयभन्दा बढी दिन तालाबन्दी हुँदा पनि त वरीयतामा प्रभाव पर्न गयो भन्ने लाग्छ ।’

पढ्नुहोस् त्रिविको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?