+
+
Shares

माथिल्लो मैलुङखोला जलविद्युतको आईपीओ : कम लागतको आयोजना, मध्यम जोखिमको रेटिङ

विजय पराजुली विजय पराजुली
२०८० असोज १८ गते ७:२९

१८ असोज, काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडले बिहीबारदेखि धितोपत्रको प्राथमिक निष्कासन (आईपीओ)को आवेदन खुलाउँदै छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ बाँडफाँट गरेपश्चात् सर्वसाधारणका लागि आवेदन खुलाउन लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १२ करोड ८४ लाख २० हजार रुपैयाँ बराबरको १२ लाख ८४ हजार २०० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । यो आईपीओमा १८ देखि २२ असोजसम्म आवेदन दिन सकिनेछ ।

नेपाल धितोपत्र बोर्डबाट कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको २५ प्रतिशतले हुने २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो । त्यसमध्ये १० प्रतिशतले हुन आउने १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याएर ४ साउनदेखि १ भदौसम्म आवेदन माग गरेको थियो ।

तर, स्थानीयलाई जारी भएको सेयरमध्ये ९ हजार २०० कित्ता सेयर बिक्री भएन । सर्वसाधारणको लागि निष्कासन गर्न स्वीकृत पाएको सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरु र सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहेको सेयरमा उक्त सेयर थपेर सर्वसाधारणलाई निष्कासन गर्न लागेको हो ।

बाँकी रहेको १५ लाख कित्ता सेयरमध्ये १० प्रतिशतले हुने १ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ । यस्तै, ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई पनि बाँडफाँट गरिसकेको छ । यसरी बाँडफाँटपछि बाँकी रहेको १२ लाख ७५ हजार कित्ता सेयरमा स्थानीयले नकिनेको ९ हजार २०० कित्ता थप गरी सार्वसाधारणलाई निष्कासन गर्न लागिएको हो ।

कस्तो छ कम्पनी ?

कम्पनीले रसुवाको उत्तरगया गाउँपालिकामा रहेको मैलुङ खोलामा १४.३ मेगावाट जडित क्षमताको मैलुङखोला जलविद्युत आयोजना निर्माण गर्दै छ । आयोजनाको कुल अनुमानित लागत निर्माण अवधिको ब्याजसहित २ अर्ब ५० करोड ४१ लाख ६३ हजार ६२८ रुपैयाँ रहेको छ । निर्माण अवधिको ब्याजसमेत आयोजनाको प्रतिमेगावाट लागत १७ करोड ४८ लाख २५ हजार १७४ रुपैयाँ रहेको छ ।

आयोजनाले १५ साउन २०८० देखि नै व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य लिएको थियो । तर, त्यस अवधिमा उत्पादन सुरु हुन नसकेपछि १४ असोज २०८० को मिति माग गरी नेपाल विद्युत् प्राधिकरणमा प्रस्ताव गरेको विवरणपत्रमा उल्लेख गरेको छ । तर, उक्त मितिबाट कम्पनीले व्यवसायिक उत्पादन सुरु भएको जानकारी भने गराएको छैन ।

आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र बहाल रहने अवधि २६ फागुन २१०७ सम्म रहनेछ । कम्पनीको सेयर पुँजीमा साधारण लगानी फिर्ता ७.८६ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १२.२९ वर्ष रहेको छ । आयोजनाको अपेक्षित प्रतिफल १७.१५ प्रतिशत छ ।

कम्पनीले निर्माण गरिरहेको माथिल्लो मैलुङ खोला जलविद्युत आयोजनाको क्यास्केट आयोजनाको रुपमा १३ मेगावाट क्षमताको मध्य मैलुङ खोला जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न गरी १५ कात्तिक २०७९ मा विद्युत उत्पादन अनुमति प्राप्त गरेको थियो । उक्त आयोजना हाल नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता गर्ने प्रकृयामा रहेको जनाइएको छ । उक्त क्यास्केट आयोजनाको अनुमानित लागत २ अर्ब ४० करोड रहेको छ ।

यस्तै कम्पनीले नै निर्माण गर्ने १७ मेगावाट क्षमताको माथिल्लो मैलुङ ‘बी’ जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न गरी विद्युत विकास विभागमा विद्युत उत्पादन अनुमतिपत्र प्राप्त गर्न निवेदन दिएको कम्पनीले जनाएको छ । १७ कात्तिकमा विभागमा निवेदन दर्ता गरी आवश्यक प्रकृयामा रहेको जनाएको छ । उक्त आयोजनाको अनुमानित लागत ३ अर्ब ३९ करोड रहेको छ ।

आधारभूत सेयरधनी र सञ्चालक समितिमा को छन् ?

कम्पनीको सञ्चालक समिति अध्यक्षमा मोल्निया पावर लिमिटेडका तर्फबाट सञ्चालक प्रतिनिधि रामेश्वर रिजाल छन् । यस्तै सानिमामाई हाइड्रोपावरका प्रतिनिधि घनश्याम थापा, सानिमा हाइड्रोपावरका प्रतिनिधि अजय कार्की पनि कम्पनीको सञ्चालक समितिमा छन् । यस्तै आब्जोर लिमिटेडकी प्रतिनिधि सरोजा पौड्याल पनि कम्पनीको सञ्चालकको रुपमा छिन् ।

कम्पनीको आधारभूत सेयरधनीमा सबैभन्दा ठूलो सेयर हिस्सा सानिमामाई हाइड्रोपावर लिमिटेडको छ । सानिमामाई हाइड्रोपावरको ३१.६७ प्रतिशत सेयर हिस्सा छ । यस्तै सानिमा हाइड्रोपावर लिमिटेडको २१.०७ प्रतिशत, मेल्निया पावर लिमिटेडको ९.८७ प्रतिशत र सानिमा बैंकको ५ प्रतिशत संस्थापक सेयर रहेको छ ।

यसबाहेबक सोपान मल्टिपल कम्पनीको ४.५३ प्रतिशत, मैलुङ खोला जलविद्युत कम्पनीको ३.४६ प्रतिशत, जयगणेश इन्भेष्टमेन्ट प्रालिको ३.१३ प्रतिशत, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको ३ प्रतिशत सेयर हिस्सा छ ।

यस्तै, झापाका कमलराज मैनालीको २.६७ प्रतिशत, सुनसरीकी अल्का निरौला ओझाको १.३३ प्रतिशत, काठमाडौंका शाम्बा लामाको १.३३ प्रतिशत, इलामका केदारमणि पौड्यालको पनि १.३३ प्रतिशत सेयर हिस्सा रहेको छ ।

कम्पनीमा सिग्मा कोन प्रा.लिको १.३३ प्रतिशत, खोटाङका सिताराम कट्टेलको १.३३ प्रतिशत, गोरखाका संज्ञान कार्कीको १.३३ प्रतिशत, गोरखाकै प्रियराज रेग्मीको १.३ प्रतिशत र रुपन्देहीका ताराप्रसाद पोखरेलको १ प्रतिशत सेयर लगानी छ ।

कम्पनीमा व्यवस्थापकीय नेतृत्व भने महाप्रबन्धक काँगडा प्रसाईले गरेका छन् । यस्तै सहायक प्रबन्धकको रुपमा किशोर गौतम र अर्का सहायक प्रबन्धक ऋषिराज गौतम हुन् ।
कस्तो छ कम्पनीको वित्तीय अवस्था ?

चालु आर्थिक वर्षदेखि व्यवसायिक उत्पादन गर्ने लक्ष्य लिएको कम्पनी सञ्चित नोक्सानीमा चलिरहेको छ । गत आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनी १ करोड ४६ लाख ४६ हजार घाटामा छ । कम्पनीको प्रतिसेयर आम्दानी २.५९ प्रतिशत ऋणात्मक छ ।

व्यावसायिक उत्पादन सुरु नगरेको हुँदा हाइड्रोपावर कम्पनीको अन्य आम्दानी हुँदैन । त्यसैले यस्ता कम्पनीको उत्पादन सुरु हुनुअघिको वित्तीय विवरणले लगानीमा निर्णय गर्न सहज हुँदन । तर, आयोजनाको लागत र वार्षिक विद्युत उत्पादन क्षमताले भने कम्पनीले कस्तो प्रतिफल दिन सक्छ भनेर मूल्यांकन गर्न सकिन्छ ।

कम्पनीको प्रक्षेपित वित्तीय विवरणमा चालु आर्थिक वर्षमा विद्युत् बिक्रीबाट २८ करोड ७४ लाख २७ हजार आम्दानी हुने उल्लेख छ । चालु आर्थिक वर्षमा ४९ करोड १६ लाख नाफा आर्जन गर्दा कम्पनीको प्रतिसेयर आम्दानी ०.४९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ९५.८८ रुपैयाँ हुने प्रक्षेपण गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा विद्युत् बिक्रीबाट ४४ करोड ५९ लाख २७ हजार आम्दानी गर्ने प्रक्षेपण गरेको छ । कम्पनीले उक्त वर्ष ८ करोड २२ लाख ८३ हजार रुपैयाँ मुनाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ २३ पैसा र प्रतिसेयर नेटवर्थ १०४.१५ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।

यस्तै आर्थिक वर्ष २०८२/८३ मा विद्युत बिक्रीबाट ४५ करोड ८८ लाख २१ हजार आम्दानी गर्ने प्रक्षेपण गरेको छ । उक्त वर्ष कम्पनीको नाफा १० करोड ४ लाख ३२ हजार पुग्ने प्रक्षेपित वित्तीय विवरणमा उल्लेख छ । यसअनुसार प्रतिसेयर आम्दानी १० रुपैयाँ ४ पैसा र प्रतिसेयर नेटवर्थ १०४.२० रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।

कम्पनीको विवरणपत्रमा लाभांशको लागि आर्थिक वर्ष २०८२/८३ नै कुर्नुपर्ने उल्लेख छ । आर्थिक वर्ष २०८१/८२ को मुनाफापछि मात्रै उक्त वर्ष १० करोड लाभांश बाँड्नसक्ने विवरणपत्रमा उल्लेख छ ।

प्रसारण लाइन तथा सबस्टेशन निर्माण कार्यमा नेपाल विद्युत प्राधिकरणले ढिलाइ गरेको हुँदा कम्पनी र प्राधिकरणबीच विद्युत खरिद बिक्री सम्झौतामा ६ पटक संशोधन भएको थियो । पछिल्लो पटक २०७९ पुसमा संशोधन भएको थियो ।

नेपाल विद्युत प्राधिकरणले वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायाममा प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा विद्युत खरिद बिक्री सम्झौता गरेको थियो । व्यापारिक उत्पादन शुरु हुने मितिबाट एक वर्ष पुगेको महिनाको लगत्तै पछिको महिनादेखि लागू हुने गरी प्रत्येक वर्षको लागि ३ (तीन) प्रतिशतका दरले ५ (पाँच) पटकसम्म साधारण मूल्यवृद्धि हुनेछ । यसरी वृद्धि भएर ६१ औं महिनादेखि सम्झौता अवधिभर सुख्खायाममा प्रतियुनिट ९ रुपैयाँ ६६ पैसा र वर्षायामको ५ रुपैयाँ पैसा पुग्ने गरी प्राधिकरणसँग पीपीए भएको हो ।

जोखिमको अवस्था

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङस् नेपालले ‘केयर एनपी डबल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।

खडेरी, अनावृष्टि, अतिवृष्टि, जलस्रोतको मुहानमा अप्रत्याशित परिवर्तन, जलवायु परिवर्तनका कारण हुने अनपेक्षित वातावरण परिवर्तन आदिका कारण पानीको स्रोतमा कमी आएमा उत्पादन क्षमतामा कमी आउन सक्ने जोखिम पनि रहेको कम्पनीले उल्लेख गरेको छ ।

प्राकृतिक प्रकोप तथा नियन्त्रण बाहिरका परिस्थितिहरु सृजना भई आयोजनाको भौतिक संरचना तथा उपकरणहरुमा क्षति पुर्याएमा खर्च वृद्धि हुन सक्ने तथा व्यावसायीक आम्दानीमा कमी हुन सक्ने जोखिम पनि रहन्छ ।

प्रशारण लाइनमा हुन सक्ने प्राविधिक वा यान्त्रिक गडबडीका कारण उत्पादित विद्युत आपूर्ति अवरुद्ध हुन सक्ने साथै विद्युत केन्द्रमा जडित मेसिन तथा यान्त्रिक उपकरणहरुमा हुने खराबीका कारण विद्युत उत्पादन तथा आपूर्ति अवरुद्ध हुन सक्ने जोखिम पनि रहने कम्पनीले जनाएको छ । सम्भावित आर्थिक जोखिमहरुलाई न्यूनीकरण गर्न व्यवस्थापनले बीमा भने गरेको जनाएको छ ।

यस्तै, जलविद्युत् कम्पनीहरुको सेयर सार्वजनिक निष्कासन भएको ३ वर्षपछि संस्थापक सेयर पनि कारोबार गर्न सकिने भएकाले संस्थापकको लकइन अवधि खुल्दा सेयरको आपूर्ति बढ्न गई मूल्यमा प्रभाव पर्नसक्ने विषयलाई पनि लगानीकर्ताले ध्यान दिनुपर्ने हुन्छ ।

लेखक
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?