+
+

सडक विभागले सरुवा गर्न नसक्दा काठमाडौंमै डेरा जमाउँदै इन्जिनियर

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८० असोज १८ गते २२:१२

१८ असोज, काठमाडौं । नियमअनुसार १५ असोज  भित्रै इन्जिनियर/सब इन्जिनियरहरुको सरुवा गर्न सडक विभाग असफल भएको छ । विभागले तोकिएको अवधिभित्र नियमित सरुवा नै गर्न नसकेपछि अब काजमा कर्मचारी सरुवा गर्नुपर्ने अवस्था आएको छ ।

निजामती सेवा नियमावलीअनुसार कर्मचारीहरुलाई सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वर्षको भदौ १ भदौ मसान्तभित्रमा सरुवा गरिसक्नुपर्छ । मन्त्रालय वा मन्त्रालय स्तरको केन्द्रीय निकाय वा विभागले प्रत्येक वर्षको असोज १ गतेदेखि असोज १५ गतेभित्रमा सरुवा गर्नुपर्ने नियम छ । त्यसकै आधारमा क्षेत्रीय (प्रदेश) स्तरका निकायहरुले प्रत्येक वर्षको असोज १६ गतेदेखि असोज मसान्तभित्र सरुवाको निर्णय गर्नुपर्ने हो ।

तालिकाबाहेकको समयमा सरुवा गर्नु परेमा सामान्य प्रशासन मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्था छ । तर, विभागको नेतृत्वले निर्णय गर्न नसकेपछि इन्जिनियहरुले विभिन्न किसिमले दबाब बढाएका छन् ।

विभाग अन्तरगत करिब ५०० इन्जिनियर ८०० सबइन्जिनियर  कार्यरत छन् । १५ असोजभित्र सरुवा हुने आशामा अहिले करिब डेढ सय इन्जिनियरहरु काठमाडौं आएर बसेको  विभाग स्रोतको दाबी  छ । उनीहरु विभागदेखि राजनीतिक दलका नेताकोमा समेत पुगेर पायक स्थानमा सरुवाको वातावरण बनाउने गरी दौडधुपमा छन् ।

कतिपय इन्जिनियरहरु भने विगतदेखि नै केहीले अन्याय सहेर दुर्गममा बसेर काम गरेकाले अब सुगममा ल्याउनैपर्ने भन्दै विभागका अधिकारीहरुलाई भेटेर गुनासो पोखिरहेका छन् ।

‘करिब २ वर्षदेखि दुर्गम क्षत्रेमा बसेर काम गरिसक्यौं,’ कर्णालीबाट काठमाडौंमा सरुवा माग्दै आएका एक इन्जिनियर भन्छन्,‘समयमै कर्मचारीको सरुवा समेत गर्न नसक्ने नेतृत्व विभागमा यसपटक मात्रै देखेका हौं ।’

कुनै इन्जिनियरहरु वर्षौंदेखि काठमाडौंमा नै ढलीमली गरिरहेको भन्दै उनले सबैलाई समान अवसर दिने कुरामा विभाग नेतृत्व उदाशीन देखिएको आरोप लगाए । ‘यसपटक आर्थिक चलखेलका आधारमा सरुवा गर्न खाजेको सुनेका छौं,’ उनले भने,‘त्यसो भएमा हामी पनि कार्य क्षेत्रमा फर्किए उत्साहसाथ काम गर्ने अवस्था रहन्न ।’

दशैंको मुखमा इन्जिनियरहरु काठमाडौंमा नै डेरा जमाएर बसेपछि विभिन्न सडक डिभिजन तथा आनयोजना कार्यालयहरुको नियमित कामकाज प्रभावित भएको छ ।

भौतिक पूर्वाधार मन्त्रालयले वर्षाले भत्किएका सडक खण्डकहरु दशैंअघि नै सडक मर्मत गरिसक्न मातहतका कार्यालय र आयोजनालाई निर्देशन दिइसकेको छ । तर, इन्जिनियरहरु नै काठमाडौंमा आएर बसेपछि धेरै कार्यालयहरुलाई काम थाल्न सकस भएको छ ।

‘इन्जिनियरकै सुपरभिजनमा ठेकेदारले काम गर्ने हो,’ एक डिभिजन प्रमुखले भने,‘अहिले सरुवाका  भनेर इन्जिनियहरु काठमाडौं गएर जोडबल लगाउँदै हुनुहुन्छ, नयाँ इन्जिनियर कहिले आएर काम सुरू हुन्छ भन्ने थाहा छैन ।’

महानिर्देशक ढकाल

स्रोतका अनुसार विभागका महानिर्देशक सुशीलबाबु ढकालसहित विभागको प्रशासकीय टिम १५ असोजको रातभरि विभागमा सरुवाको सूची बनाउन बसेको थियो । सोही टिमले मन्त्रालयमा पनि सूची लिएर छलफल गरे पनि सरुवाको निर्णय भने रोकिएको थियो ।

सरुवामा आर्थिक चलखेल गर्न मन्त्रालयले सरुवा रोकेको आशंका पनि विभागभित्र छ । तर, विभागका महानिर्देशक ढकालको निर्णय क्षमतामाथि पनि अधिकारीहरुलाई विश्वास छैन ।

‘डिजीसा‘बको घर  गोरखा भएका कारण विभागको मुख्यालयमा उपमहानिर्देशक नहुँदै महानिर्देशक बन्ने सौभाग्य पाउनुभयो, अभ्यास पनि थाहा नभएकाले उहाँलाई निर्णय गर्ने आँट पनि नआएको हुनसक्छ,’ एक अधिकारी भन्छन्,‘अहिले सरुवाको लागि दबाब आयो भनेर कसैसँग कुरा नै नगर्ने भनेर बस्नु भएको छ ।’ ‘ब्याक डेट’मा सरुवाको निर्णय गर्ने सम्भावना भएपनि सरुवा नियमित र अनियमित भन्ने नहुने महानिर्देशक ढकालको जवाफले इन्जिनियरहरुमा निराशा पैदा भएको छ ।

ढकाललाई प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड र भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ दुबैको रोजाइमा गत फागुनमा सडक विभाग अन्तरगतको आयोजना निर्देशनालय (एडीबी)को आयोजना निर्देशकबाट एकैपटक महानिर्देशक पदमा नियुक्त गरिएको थियो ।

उनी विभागमा आएपछि सडकसम्बद्ध समस्या हल हुने भन्दा बढी थपिंदै गएकाले पनि विभागभित्रै उनको क्षमतामाथि प्रश्न उठ्ने गरेको छ । नियमित सरुवा समेत गर्न नसेकपछि इन्जिनियरहरु नेतृत्वसँग रुष्ट छन् ।

विभागका प्रवक्ता रामहरि पोखरेल सरुवासहित विविध काम लिएर केही इन्जिनियरहरु काठमाडौं आएको स्वीकार्छन् । ‘सरुवाको मुखमा भनसुन चल्छ कि भनेर पनि केही कर्मचारी काठमाडौं आएका होलान्,’ उनले भने,‘तर, हामीले तरुन्तै कार्यक्षेत्रमा जान निर्देशन दिइसकेका छौं ।’

तर, इन्जिनियरहरु अहिलेकै अवस्थामा काठमाडौं छोड्ने योजनामा छैनन् ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?