+
+
टिप्पणी :

कोशीमा बन्नुपर्ने एमाले–माओवादी संयुक्त सरकार

गत चुनावको जनादेश र संवैधानिक प्रावधानहरुलाई आधार मान्दा प्रष्ट बहुमतको सरकार र बलियो प्रतिपक्ष बन्ने सुल्टो समीकरण हो, एमाले–माओवादीको संयुक्त सरकार ।

सइन्द्र राई सइन्द्र राई
२०८० असोज १९ गते २०:०६
कोशी प्रदेशका मुख्यमन्त्री एवम् एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्की (दायाँ) र नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो । फाइल फोटो

१९ असोज, काठमाडौं । बुधबार सुरु भएको कोशी प्रदेशसभाको बैठकमा सबै दलका नेताहरुले एकस्वरमा साझा चिन्ता जनाए, मध्यावधिमा जानु हुन्न । प्रदेशसभा चुनाव भएको ९ महिनाभित्रै बनेको चौथो सरकारलाई समेत विश्वासको मत पाउन मुस्किल परिरहँदा उनीहरुको चिन्ता स्वभाविक हो । किनकि अहिलेकै राजनीतिक समीकरण कायम राखेर अब सरकार बन्दैन, त्यसपछि जाने संवैधानिक प्रक्रिया मध्यावधि चुनाव नै हो ।

तर मध्यावधि कुनै दल र सांसदको रुचि होइन । किनकि दलहरुलाई बदलिएको जनमतसँग डर छ भने सांसदहरुलाई खर्चको पीर । त्यसैले दलीय कित्ता नमिले पनि ‘मध्यावधि रोक्नुपर्छ’ भन्ने भाषा मिलिरहेको छ । तर उनीहरुको बोलीले निर्णय प्रक्रियालाई कुनै असर पार्ने छैन । यदि प्रदेशसभाका सांसद र नेताहरू संविधान बमोजिम आफ्नो निर्णय आफैं लिन सक्षम हुन्थे भने अहिले छलफलको विषय नै अर्थोक हुने थियो ।

कम्तिमा लोकलाजकै डरले भएपनि २०७४ को चुनावमा बनेको प्रदेशसभाले नै प्रदेशको नाम राख्थ्यो । अरू प्रदेशका मुख्यमन्त्रीले जस्तै यहाँका संस्थापक मुख्यमन्त्री शेरधन राईको पनि इतिहासमा नाम रहन्थ्यो, ‘असफल’को पगरी बोक्नुपर्थेन । तर पार्टीका अध्यक्ष केपी शर्मा ओलीको (जसले सिंहदरबारको नेतृत्व गरिरहेका थिए) इसारा पर्खेर बसे, प्रदेश संरचनालाई संविधानले दिएको अधिकार उपयोग गर्ने हिम्मत देखिएन ।

केन्द्रीय नेताको छायाँ बनेर प्रदेशसभामा उभिनु कति पीडादायक छ भन्ने अनुभूति सम्भवतः माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोलाई अरु नेता भन्दा धेरै होला । किनकि प्रदेशसभाको पहिलो पाँच वर्षे अवधि र यसपटकको ९ महिनासम्म आइपुग्दा के–के बोल्नुपर्यो, कुन–कुन नेता र दललाई राम्रो भन्नु पर्यो र फेरि तिनैलाई खराब भन्दै समर्थन फिर्ता लिनु पर्यो भन्ने सम्झन उनले लामै समय लिनुपर्ने हुन्छ ।

गएको १५ फागुनमा, रातारात प्रदेशको नाम राख्दा उनले कोशीको पक्षमा मतदान गर्नुपरेको थियो । अहिले फेरि ‘म पहिचानकै पक्षधर हुँ’ भन्नु परिरहेको छ । यी घटनाक्रममा उनी न कारण हुन्, न कुनै निर्णयमा विवेक उपयोग गर्न पाएका छन् । उनी त केवल पार्टी केन्द्रको निर्णय पालक मात्रै हुन् ।

यसरी प्रदेशका नेताहरू बद्नामीसहित केन्द्रको लाचार छायाँ बन्ने क्रम भने तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनदेखि सुरु भएको थियो । नेकपा फुट्दा संघको राजनीतिक समीकरण बदलियो । संघको सत्ता समीकरण बदलिँदा प्रदेशको समीकरण पनि जबर्जस्त बदल्न खोजियो ।

प्रतिनिधि सभा बैठकस्थलमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । फाइल फोटो

जबकी संघभन्दा भिन्न राजनीतिक विशेषता र संसदीय गणित रहेको प्रदेशहरुमा सरकार परिवर्तन सजिलो थिएन । तर जसरी हुन्छ संघकै जस्तो प्रदेश समीकरण बनाउने नेताहरुको स्वार्थ प्रेरित गतिविधिले संसदीय इतिहासमै नभएका विकृत अभ्यास प्रदेशहरुमा भए । ‘सांसद अपहरण’, फ्लोरक्रस, सांसद पदबाट राजीनामा, पार्टीको ह्वीप विपरीत अनुपस्थित, प्रदेश प्रमुखले पार्टीको लेटरप्याडमा मुख्यमन्त्री नियुक्ति, सबैभन्दा थोरै सांसद भएकै दलको नेतृत्वमा सरकार गठन जस्ता अभ्यास अघिल्लो कार्यकालमा भए ।

संविधानको व्यवस्था र नागरिकका भावना बमोजिम निर्णय गर्न प्रदेशका नेताहरु योग्य छन् भन्ने विश्वास पनि नेतृत्वमा देखिएन । जबकी प्रदेशसभा आफ्नो समस्या हल गर्न सक्षम छन् भन्ने सन्देश मधेशले अघिल्लो कार्यकालमै देखाएको थियो । दुईपटक मतदान प्रक्रियामा गएर नाम राखेपछि अहिले यो प्रदेश तुलनात्मक शान्त छ ।

जबकी सिंहदरबारको तालाचाबीमा सदाबहार हकदाबी गर्ने कतिपय नेताले पहिचानमा आधारित नामाकरण गरिए मुलुककै अखण्डतामाथि प्रश्न उठ्नेदेखि विग्रहको कारण बन्नसक्ने तर्क गरेका थिए । तर त्यस्तो आशंकालाई मधेशले खण्डन गरिदियो ।

मधेशको यस्तो तथ्यलाई रियलाइजेसन नगरेका ठूला दलका केन्द्रीय नेतृत्व अहिले पनि प्रदेशलाई संघकै छायाँ संरचना (पञ्चायत र राजतन्त्रकालीन) बनाउन उद्दत छन् । जसकारणले प्रदेश संरचना मात्रै नभएर सिंगो प्रणालीप्रति नागरिक निराशा बढिरहेको छ । गत वर्षको चुनावी नतिजालाई त्यसैको शुरुवाती संकेतका रुपमा हेर्न सकिन्छ ।

गल्ती सच्याउने हो भने

नामकरणका कारण अशान्त कोशीमा अहिले सरकार निर्माणकै जटिलता देखिनुमा प्रदेश नेताहरुको त्रुटि मुख्य कारण होइन । बरू सार्वभौम जनताबाट अनुमोदित भएपनि प्रदेश सांसदहरुले संवैधानिक व्यवस्था बिर्सिंदै पार्टी नेतृत्वको आदेशपालक मात्रै बन्न पुगेकाले निम्तिएको संकट हो ।

किनकि कोशीमा कसले सत्ताको नेतृत्व गर्ने र कुन दल प्रतिपक्षमा बस्ने भन्ने जनादेशबारे अलमल छैन । यदि संघको राजनीतिक स्वार्थ छोडेर संविधान र जनताप्रति इमान्दार हुने हो भने सरकार निर्माण समस्या हुँदै होइन । ९३ सदस्यीय प्रदेशसभामा ४० सिट जितेर एमाले पहिलो दल छ । एमालेसँगै चुनावी गठबन्धन गरेको राप्रपासँग ६ र जसपासँग १ सिट छ । यो संख्या प्रदेशसभामा ठ्याक्कै बहुमत हो ।

तर गत २६ पुसमा एमाले नेता हिक्मत कार्की मुख्यमन्त्री नियुक्त हुँदा १३ सिटको माओवादी केन्द्र यो समीकरणमा थपिएको थियो । अर्थात् एमाले नेतृत्वमा प्रष्ट बहुमतको सरकार बन्दा २९ सिटको कांग्रेस र ४ सिटको एकीकृत समाजवादी प्रतिपक्षी बन्यो । जनादेशका आधारमा यस्तो राजनीतिक समीकरण स्वाभाविक थियो ।

तर एमालेको साथ पाएर प्रधानमन्त्री बनेका प्रचण्डले गठबन्धन बदले । गठबन्धन बदलेकाले सातै प्रदेशमा एमालेलाई सत्ताबाट हटाउने खेल सुरु भयो । केन्द्रीय राजनीतिको यस्तो रोडम्यामप्रति कोशीका माओवादी नेताहरू सहमत थिएनन् । एमालेलाई अलग गरेर यहाँ सरकार बनाउन सजिलो नरहेको हिसाब उनीहरुले बुझेका थिए । त्यसैले संघमा जस्तो राजनीतिक समीकरण भएपनि कोशीको सत्ता गठबन्धनलाई निरन्तरता दिने उनीहरुको चाहना थियो ।

तर प्रदेशका नेताहरू व्यवहारतः संघको निमित्त पात्र न बन्न पुगेका छन् । त्यसैले नेतृत्वलाई अटेर गरेर धेरै टिक्न सकेनन्, र समर्थन फिर्ता लिए । त्यसपछि सुरु भइहाल्यो, अघिल्लो कार्यकालकै जस्तै विकृत अभ्यास ।

संवैधानिक व्यवस्था र जनताको भावनामा आधारित भएर सत्तालाई प्रश्न गर्ने शक्ति (राजनीतिक दल) कै संसदमा अस्तित्व संसदमा नरहने गरी सर्वदलीय सरकारको प्रस्ताव गर्नेहरुले त्यस्तो परिस्थिति पञ्चायती अभ्यासभन्दा कति फरक हुन्छन् भन्ने पुष्ट गर्न कठिन छ ।

गत २१ असारमा मुख्यमन्त्री नियुक्त भएका कांग्रेस नेता उद्धव थापाले प्रदेशसभामा बहुमत (४७ सांसद) जुटाउन सभामुखको समेत हस्ताक्षर प्रयोग गरे । सरकार निर्माण प्रक्रियामा सभामुखले भाग लिन नमिल्ने संवैधानिक व्यवस्था सम्झाउदै सर्वोच्च अदालतले थापालाई पदमुक्त गरिदियो । त्यसपछि बाबुराम गौतमलाई सभामुख पदबाट राजीनामा गर्न लगाएर गत १६ साउनमा दोस्रो पटक थापा मुख्यमन्त्री नियुक्त भए ।

तर एमाले–राप्रपाको साथ नपाउँदा थापाले सभाको अध्यक्षता गरेका व्यक्तिलाई समेत मत दिन लगाइयो । गठबन्धनले उस्तै गल्ती दोहोर्याएको ठहरसहित गत २२ भदौमा सर्वोच्चले हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दियो । परमादेशबाट मुख्यमन्त्री बनेका कार्कीले पनि अहिलेकै राजनीतिक समीकरणमा विश्वासको मत पाउने सम्भावना देखिँदैन ।

यदि कार्कीले विश्वासको मत नपाए संविधानको धारा १६८ (५) बमोजिम बहुमत जुटाउने व्यक्तिले सरकारको दाबी गर्न सक्छन् । त्यो विकल्पमा पनि गृहकार्य भइरहेको देखिन्छ ।

तर त्यसरी बन्ने सरकार पनि पाँच वर्ष चल्ने आधार बलियो छैन । तसर्थ कतिपय नेताहरुले सर्वदलीय सरकारको प्रस्ताव गरिरहेको सुनिन्छ । झट्ट सुन्दा यस्तो प्रस्ताव आनन्द नै लाग्छ । तर यो विकल्प सुन्दा आनन्द लाग्ने मात्रै हो । किनकि मुलुकको संविधान, लोकतान्त्रिक प्रणाली र संसदीय अभ्यासले त्यस्तो कल्पना गर्दैन । राज्यको शक्ति सन्तुलन भत्काउने गरी सर्वदलीय सरकार निर्माणमा कानूनले रोक नलगाएको तर्क पनि गर्न सकिएला । तर सरकारमाथि प्रश्न उठाउने शक्ति (राजनीतिक दल) अस्तित्वमा नरहने परिस्थिति (प्रणाली) पञ्चायती अभ्यास भन्दा भिन्न हुन्न भन्ने पनि बिर्सनु हुँदैन ।

अनि केही नेताहरुले नामकरणको समस्या समेत हल गर्नुपर्ने भएकाले सर्वदलीय सरकार उचित भनिरहेका छन् । तर नामाकरण प्रदेशसभाभित्र रहेका दलहरुको मात्रै विषय होइन । र, सर्वदलीय सरकार बन्दा नामाकरणको मुद्दा हल हुने तर्क कमजोर छ । निकट विगतको अभ्यासले पनि प्रदेशको नामकरणबारे देखिएको समस्या हल गर्न सर्वदलीय सरकार बन्नैपर्छ भन्ने हुँदैन । किनकि नेपालको संविधान–२०७२ जारी हुँदा राष्ट्रिय सरकार थिएन । संविधानसभामा सहमति हुँदा दलहरुबीच सरकार निर्माणको प्रतिस्पर्धा नै थियो ।

त्यसो भए निकास के त ? सहज विकल्प हो, संघकै जस्तो प्रदेशको विद्यमान छायाँ समीकरण भत्काउने । प्रदेशलाई संघको बन्धक बनाउने मनोविज्ञान बदल्नसाथ कोशीमा सरकार बन्ने अनेक विकल्प खुल्छ । एमालेलाई बाहिर राखेर पनि सरकार संभव छ । त्यस्तो सरकारको नेतृत्व गठबन्धनमा रहने जुनसुकै दलले गर्न सक्नेछन् । तर गठबन्धनले राप्रपालाई आफूतिर ल्याउनुपर्नेछ ।

अर्को विकल्प हो, एमाले र कांग्रेसको गठबन्धन सरकार । तर एमाले नेतृत्वको सरकारबाट आफैंले अलग गराएको माओवादीलाई बाहिर राखेर यो विकल्पमा जान कांग्रेसलाई सजिलो देखिँदैन । किनकि एमालेसँग अलग भएपछि माओवादी केन्द्रले प्रदेश सभामुखलाई राजीनामा गराउने सहितका क्षति र बद्नामी खेपिसकेको छ । अर्कातिर कांग्रेस–एमाले सरकार बलियो होला, तर प्रतिपक्ष कमजोर हुनेछ । किनकि वैकल्पिक सरकार दिन सामर्थ्य नराख्ने हैसियतको शक्ति संसदीय प्रणालीमा नाम मात्रैको प्रतिपक्ष हुन्छ ।

बाँकी विकल्प हो, एमाले र माओवादीको संयुक्त सरकार । त्यसका लागि गत २६ पुसमा जस्तै माओवादीले समर्थन गरिदिए पुग्छ । हुन त समर्थन फिर्ता चार महिना नपुग्दै त्यही दल र व्यक्ति नेतृत्वको सरकारमा कसरी जाने भन्ने पनि होला । तर गत चुनावको जनादेश र संवैधानिक व्यवस्थालाई आधार मान्दा सहज बहुमतको सरकार र सशक्त प्रतिपक्ष बन्ने सुल्टो समीकरण यही नै हो ।

जनादेश र संवैधानिक प्रणालीभन्दा पनि भागबण्डा आधारित राजनीति चलिरहेकाले यस्तो विकल्पप्रति कतिपयलाई आपत्ति होला । कतिपयलाई कम्युनिष्ट पार्टीहरु एक ठाउँ उभ्याउने प्रस्तावजस्तो पनि लाग्ला । तर संवैधानिक व्यवस्था, संघीय प्रणाली र जनादेशको सम्मान गर्दै नागरिकमा बढेको निराशालाई विश्वासमा बदल्ने हो भने यो विकल्प अरुभन्दा उत्तम हो ।

संघमा जस्तो समीकरण भएपनि प्रदेशमा कांग्रेसले अरु लोकतान्त्रिक शक्तिलाई साथमा लिएर वा एकल नेतृत्वमा सशक्त र रचनात्मक प्रतिपक्षी भूमिकामा रहनु जनादेश पनि हो । किनकि व्यवस्था र प्रणालीलाई बचाउने हो भने जुनसुकै बेला सत्ता नेतृत्वको अवसर जनताले दिन्छन् भन्ने अनुभव कांग्रेसलाई अरु दल भन्दा बढी धेरै छ ।

तर जसरी पनि सत्तामा पुग्ने अडान लिइरहने हो भने ढिलोछिटो, तर असमयमै मध्यावधितिर प्रदेश जानेछ । त्यो मध्यावधि संवैधानिक नै हुनेछ, तर नेताहरुको योग्यतामाथि प्रश्न पनि सँगै मतदातासम्म पुग्नेछ ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?