
News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी प्रदेश संसद्मा बजेट छलफलको क्रममा सांसदहरूले धम्कीपूर्ण भाषा प्रयोग गरेको भन्दै मन्त्रीको आलोचना गरे।
- आङ्बोले मन्त्रीहरूले गलत तथ्याङ्क प्रस्तुत गरेको र बजेटको दोहन र लुटपाट भएको आरोप लगाए।
१३ असार, विराटनगर । कोशी प्रदेश संसद्का प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर आङ्बोले मन्त्रीले धम्कीपूर्ण भाषा प्रयोग गरेको भन्दै असन्तुष्टि जनाएका छन् । कोशी प्रदेशको विनियोजन विधेयक (बजेट) माथिको छलफलमा शुक्रबार विशेष समयमा बोल्दै आङ्बोले असन्तुष्टि जनाएका हुन् ।
मन्त्रीले जवाफ दिने क्रममा हावादरी तर्क प्रस्तुत गरेको उनको गुनासो छ । बजेटमाथि उठेको प्रश्नको जवाफ दिने क्रममा बुधबार भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईले मुख्यमन्त्री राजेन्द्र राई र आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो भएका बेला बजेटको थिति बिग्रिएको आरोप लगाएका थिए ।
पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले जवाफ दिने क्रममा धम्कीपूर्ण भाषा प्रयोग गरेको आङ्बोले बताए । उनले अहिले बजेटमा चरम दोहन र लुटपाट भएको बताए । ‘यो पटक स्रोतमा चरम दोहन भएको छ, लुटपाट भएको छ,’ उनले भने,‘तपाईंले हप्काएको भरमा स्वर सानो हुँदैन ।’
सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्रीहरुले असन्तुलित, धम्कीपूर्ण भाषा प्रयोग गरेको बताउँदै उनले गलत तथ्याङ्क पनि प्रस्तुत गरेको बताए ।
‘सांसदले उठाएको प्रश्नमा मन्त्रीले दिएको जवाफ सन्तुलित छैन, मन्त्रीले त भरसक राम्रो गर्न खोजेका छौं, सीमा कमजोरी भयो भने सच्याउँछौं भनेर विनम्रता प्रस्तुत गर्ने होला नि सदनमा,’ उनले भने, ‘तपाईं सदनलाई हप्काउनु हुन्छ, सांसदलाई हप्काउनु हुन्छ,अनि संसदले टेर्छ ?’
उनले सांसदलाई हप्काएर नियन्त्रणमा राख्ने मुर्खता नगर्न आग्रह गरे । ‘सांसदलाई हप्काएर नियन्त्रणमा राख्छु या दबाबमा राख्छु भन्ने कसैले सोच्छ भने यस्तो मुर्खता यो प्रणालीमा गर्न मिल्दैन ।’
‘संसदीय दलभित्र आफ्ना सांसदलाई हप्काउनुहुन्छ कि गाली गर्नुहुन्छ कि आलोचना गर्नुहुन्छ, के-के गर्नुहुन्छ, त्यो तपाईंहरुको आफ्नो आन्तरिक मामिला हो,’ उनले भने, ‘तर संसद सरकारको नियन्त्रणमा बस्दैन ।’
भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राईले पूर्वमुख्यमन्त्री राजेन्द्र राई पालादेखि नै बजेटको थिति बिग्रिएको बताएका थिए । राईले २०७९/०८० मा आङ्बोको जिल्ला पाँचथरमा एक अर्ब र राजेन्द्र राईको जिल्ला भोजपुरमा दुई अर्ब २७ करोड बढी बजेट गएको उल्लेख गरेका थिए ।
आङ्बोले २०७९/८० मा भोजपुर र धनकुटा हेर्ने कार्यालयले १ अर्ब ३६ करोड बजेट विनियोजन भएको बताए । पाँचथर र ताप्लेजुङ हेर्ने डिभिजनलाई १ अर्ब ६ करोड बजेट विनियोजन भएको बताए । मन्त्रीले आफ्नो कमजोरी ढाकछोप गर्न गलत तथ्याङ्क प्रस्तुत गरेको उनको आरोप छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकमाथिको छलफलमा ३८ जना सांसदले सहभागिता जनाएका थिए ।
बजेटमाथिको छलफलमा सहभागिता जनाएका एमालेका केही सांसद बाहेक सबैले प्रदेशको बजेट मन्त्री र मुख्यमन्त्रीको कार्यक्षेत्रमा बजेट केन्द्रित गरेको गुनासो गरेका थिए ।
प्रदेशका समानुपातिक सांसदलाई १ करोड ५० लाख र प्रत्यक्ष निर्वाचित सांसदसँग २ करोड ५० लाख रुपैयाँको योजना माग गरेर सरकारमा सहभागी मन्त्रीले अधिकांश बजेट आफ्नो क्षेत्रमा केन्द्रित गर्दा सांसद रुष्ट छन् ।
प्रतिक्रिया 4