+
+
यात्रा संस्मरण :

राजधानी हराएको सहरको यात्रा

‘यिनीहरूले पार्टी सभापतिको कुरा सुन्दैनन् कि मान्दैनन् ? खादामाला अबिर नलाउने भन्या ! साथी जगदीशलाई खुस्स सोधें ?’ उनले खिस्स हाँसेर ‘अँ तनि’ को भावमा मुन्टो मात्रै हल्लाए ।

बोधराज रेग्मी बोधराज रेग्मी
२०८० असोज २० गते १८:०३

त्यसो त हामी घुम्ने मात्रै सिलसिलामा थिएनौं, खातका खात समस्याहरू बोकेर ल्याउनुपर्ने जिम्मेवारी थियो । जिम्मेवारीको भारी बोकेकी थिइन्, रास्वपा सांसद डा. तोसिमा कार्कीले । कार्कीको भारी हलुका बनाउन खोज्ने हामी तीन जना थियौं, कार्कीकै स्वकीय सचिव रिता थापा, युवा नेता जगदीश खरेल र म ।

२०८० असोज ३ गते रास्वपा नेता तथा कमेडी च्याम्पियन सिजन एकका विजेता हिमेश पन्तले बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान गेटमा लगेर छोडिदिए । केही समयमा सबै साथीहरू भेट भयौं र लाग्यौं विमानतर्फ । एअरपोर्ट पुगेपछि भेटिए रास्वपा सुदूरपश्चिम काठमाडौं सम्पर्क मञ्चका सभापति यज्ञराज जोशी । बोर्डिङ पास लिएर भित्र पुग्दा अर्का दुई माननीय सुमना श्रेष्ठ र अशोक चौधरी साथै पार्टीका सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी भेटिए ।

कबिन्द्र प्याट्टै बोलिहाले, ‘तपाईंहरू आउनुहुन्छ भन्ने थाहा थियो ।’

‘ए हो सर ?’ मैले उनले सुन्ने गरी भनें । अनि सोचें, ‘ठूला मान्छेलाई सबै कुरा थाहा हुनुपर्छ ।’

उनले थपे, ‘तोसिमाजीले भन्नुभएको थियो ।’

बुद्ध एअरको सिटमा पेटी बाँधेर बसेको ठ्याक्कै एक घण्टा १२ मिनेटमा उड्यो प्लेन धनगढीतर्फ, अनि उडेको एक घण्टा १० मिनेटमा धनगढी विमानस्थलमा ल्याण्ड भयो ।

आन्तरिक उडानमा प्लेनभित्र २ घण्टा २२ मिनेट पेटी बाँधेर बसेको मेरो पहिलो अनुभव थियो । अरुको के अनुभव थियो सोधिनँ मैले ।

खेतकै बीचमा ल्यान्ड भयो क्या हो ? आफैंसँग प्रश्न गरें । अरुले सुन्ने गरी प्रश्न गरेको भए के जवाफ आउँथ्यो कुन्नि !

धनगढी विमानस्थल बजार क्षेत्रबाट अलि टाढा लाग्यो मलाई र सम्झिएँ ल्याण्ड हुनै लाग्दा एअरहोस्टेजले भनेको बाहिरको तापक्रम ३३ डिग्री सेल्सियस् । बाहिर निस्केको करिब १ मिनेटमै पसिना त अनुहार नाघिसकेर छातिसम्मै पुगिसकेछ । मेरो मात्रै होइन अरुहरूको पनि ।

हेर्न हुन्थ्यो या हुन्थेन थाहा भए,  तर हेरियो एकछिन । स्वागतमा  रास्वपाकै साथीहरू अबिर र खादा लिएर बसेका थिए । ‘यिनीहरूले पार्टी सभापतिको कुरा सुन्दैनन् कि मान्दैनन् ? खादामाला अबिर नलाउने भन्या ! साथी जगदीशलाई खुस्स सोधें ?’ उनले खिस्स हाँसेर ‘अँ तनि’ को भावमा मुन्टो मात्रै हल्लाए ।

विमानस्थलबाट सुमना श्रेष्ठ र अशोक चौधरीलाई बाईबाईको हात हल्लाएर खाना खान पुगियो शहीद गेट भित्रपट्टीको एउटा रेस्टुरेन्टमा । बाहिर हेर्दा के गतिलो होला र यस्तो ठाऊँ जस्तो लाग्या थियो तर सिमेन्ट नपोतिएको ब्लकको कोठा र टिनको छानामा एसी जडान गरेको पहिलो पटक देखे यी आँखाले ।

‘लोकल मुर्गीको लागि स्पेसल ठाउँ हो यो’, हामीलाई खाना ख्वाउन लगेका साथी (जगदिशसँग काठमाडौंमा सँगै पढेका) कविन्द्र श्रेष्ठले बताए । खाना आयो, तर अलि पिरो । आँखाबाटै पसिना निस्केला कि झैं भयो तोसिमाजीको । पछि सागको झोलसँग मात्रै खाना खाइन् ।

त्यहाँबाट निस्केपछि हामी लाग्यौं सुदूरपश्चिममा बन्न लागेको सबैभन्दा ठूलो गेटा अस्पताल । ७५ विगाहा क्षेत्रफलमा फैलिएको करिब ७ अर्ब लगानीको यो अस्पतालले क्षमता बमोजिमको सम्बन्धन नपाएको र राजनैतिक खिचातानीले सेवा सुचारु हुन नपाएको जानकारी पाउँदा पुराना दलहरूले स्वास्थ्य सेवालाई दलदलमा फसाएको तितो उदाहरण हाम्रो सामुन्ने ङिच्च गरेर हाँसेजस्तो लाग्यो ।

गेटा अस्पतालका समस्याहरू केही मोबाइलमा त केही डायरीमा पोको पारेर हामी लाग्यौं डोटीतर्फ ।

कैलालीकै गोदावरी नगरपालिका नाघेर भित्तामा पुगेपछि शीतल महसुस हुन थाल्यो । यात्रामा हामीसँगै थपिएका थिए, रास्वपा सुदूरपश्चिम प्रदेश उपसभापति सृष्टि महरा, डोटी उपसंयोजक मीनसिंह धामी । देउराली डाँडामा पुगेपछि साथी जगदीश र मैले चिया पिउने बहाना बनाएर गाडी रोक्न लगायौं । खासमा बहाना चियाको थियो, चाहना चुरोटको ।

चुरोट तान्दै गर्दा सृष्टि प्वाक्क बोलिन्, ‘छि छि कस्तो चुरोट खाको लाज लाग्दैन ?’

मैले झ्याप्पै जवाफ फर्काइहालें, ‘चुरोट खाको हो नि, घुस खाको हो र ?’

‘जितेकी माननीय उता छन्, कालो चिया मात्रै खाने ! हामी हारेका परेम् हारेकालाई पीर पर्छ के ? हामीलाई निस्तो चिया रुच्दैन,’ साथी जगदीश हाँस्दै थिए । गत मंसिर ४ को चुनावमा जगदीश दोलखाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार थिए र म स्याङ्जा १ बाट ।

चिया समय ! होइन होइन चिया चुरोट समय पश्चात् हामी पुग्यौं, डोटी जिल्लाको जोराएल गाउँपालिकाको बुडर । त्यहाँ पनि उस्तै तामझाम छ खादामाला अबिरको । त्यहाँका समस्या पोको पार्ने क्रममा एउटा समस्या अलि जटिल थियो, स्नातक पढाइ हुने क्याम्पसमा यही शैक्षिकसत्रदेखि स्नातक तह फेजआउट ।

डोटी जिल्ला प्रवेश गरिसकेपछि सदरमुकाम पुग्न डोटीभित्रै सडक नरहेछ, डडेल्धुरा प्रवेश गर्नुपर्ने रैछ । बाटोमै भेटियो पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गर्ने गन्यापधुरा गाउँपालिका । संयोग परेको थियो संविधान दिवसको । त्यहाँका रास्वपा समर्थित तथा स्थानीय क्लबका साथीहरूले सडकमै नेपालको नक्सा र नेपाली झन्डाको आकृति बनाई दिप प्रज्वलनको तयारी गरेका थिए ।

पूर्वप्रधानमन्त्रीको जिल्लामा दीप प्रज्वलनको सुरुवाती आफूबाट गरेकी डा. तोसिमा कार्कीको अनुहारमा अलिअलि लाज र हिनताबोध प्रष्ट देखिन्थ्यो । कारण ५ पटक प्रधानमन्त्री भइसकेका व्यक्तिको क्षेत्र सामान्य पूर्वाधार विकासमा समेत पछाडि परेको सहजै देख्न सकिन्थ्यो ।

डडेल्धुराको गन्यापधुरा र अमरगढीलाई पछाडि पार्दै हामी अगाडि बढ्यौं फेरि डोटीकै शिखर नगरपालिका । शिखर नगरपालिका पुग्दा अँध्यारो भइसकेको थियो तर हामीलाई पर्खिरहेको थियो दिपायल सिलगढी नगरपालिकाको पिपल्ला बजार अर्थात् राजधानी हराएको सहर ।

हामीलाई बस्ने भनिएको होटलमा अर्को एउटा पार्टीका नेता र कार्यकर्ता पनि छन् भन्ने सुनियो । होटल खचाखच रहेछ, त्यो रात एड्जस्ट गर्दा मेरो खाट हराएछ । राजधानी हराएको सहरमा खाट हराउनु कुन ठूलो कुरा भो र ? विस्तरा र निद्रा हराएको होइन । र, म भुइँमान्छे नै हुँ ।

भोलिपल्ट बिहान सूर्यले पिपल्ला बजारलाई आक्रमण गरिसकेपछि मात्रै साथीहरू रेडी भए । नास्तामा सुख्खा रोटी चियामा डुबाउँदै खाँदै गरेकी कार्की बोलिन्, ‘आइयो डोटी, खाइयो रोटी !’

त्यत्तिकैमा साथी जगदीशले प्याट्ट बोले, ‘अबचाहिँ माननीयज्यू हुनुहुन्छ कि अलि मोटी !’

हाँसोको फोहोरा छुट्यो ।

४ गतेको हाम्रो यात्रा थियो केआई सिंह गाउँपालिका ! राजपुर सहरलाई छिचोल्दै अगाडि बढे दुइटा डबल क्याप बोलेरो र केही मोटरसाइकलहरू । हाम्रो काम त उही हो जनताका गुनासा पोको पार्ने ।

वायल बजारको छेउमै रहेको गाउँपालिका भवन पुग्यौं । लगत्तै नजिकैको दुर्गामाडांै स्वास्थ्यचौकी । स्वास्थ्यचौकीको अवस्था उस्तै थियो । सरकारले निःशुल्क भनेर जारी गरेका ५८ प्रकारका औषधि त्यहाँ थिएनन् । आवश्यक स्ट्रेचरसमेत थिएनन् । दरबन्दीमा रहेका डाक्टर त झन् हुने कुरै भएन । स्वास्थ्यचौकी अवलोकन पश्चात् वायल बजारबाट केही पर रहेको झिमे मालिका मावि पुग्यौं ।

शैक्षिक पूर्वाधारहरू करिब पूर्ण रूपमा रहेको पाइयो । ल्याबदेखि सेनेटरी प्याडसम्म । राज्यले शिक्षामा गरेको लगानी अनुसार दक्ष जनशक्ति उत्पादन नहुँदा चाहिं खल्लो महसुस हुने क्या !

केआई सिंह गाउँपालिकाका अधिकांश युवाहरू रोजगारीका लागि भारत गएको, उब्जनीले खान नपुग्ने, अधिकांश महिलाहरू अशिक्षित । यस्तै यस्तै …. । फाट्टफुट्ट घरेलु उद्योग चाहिं रहेछन् तर बजार पाउन गाह्रो ।

केआई सिंह गाउँपालिकाका स्थानीयसँगको भलाकुसारी पश्चात् हामी पुग्यौं जिल्लाको ठूलो अस्पताल मध्येको एक सुजङ अस्पताल । यहाँको पनि हालत उस्तै ! आवश्यकीय जनशक्ति र पूर्वाधार अभाव ।

पहिले राज्य ५ वटा विकास क्षेत्रमा विभाजित हुँदा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम थियो, दिपायल । संघीयता आएसँगै ७ वटा प्रदेशमा विभाजित हुँदा सुदूरपश्चिम प्रदेशको राजधानी दिपायल रहेन । यहाँ खानेपानी, प्राविधिक शिक्षा, रोजगारी, स्वास्थ्य सेवा सबै अभाव छ ।

असोज ५ गते बिहानै सेती नदी तरेर बायाँतर्फ मोडियो । हरियाली छँदै थियो, केही पर पुगेपछि दायाँतर्फ बर्सौंदेखि जहाज कुरिरहेको डोटी विमानस्थल देखियो । उसको जहाज पर्खाइ यस्तो लाग्थ्यो कि यतिधेरै वर्ष त प्रेमी प्रेमिकाले पनि कुर्दैनन् होला शायद । निरीह र सुनसान थियो विमानस्थल । डोटेली जनताको हवाइ यात्रामा साथ दिन सक्ने विमानस्थललाई यस्तो अवस्थामा किन छाडियो ? विमानस्थलले सधै विमान कुरिरहने मात्रै हो त ? अनुत्तरित प्रश्न आफैसँग गरिरहें ।

उकालो चढ्दै जाँदा हामी आदर्श गाउँपालिकाको मौवा बजार पुग्यौं । त्यहाँका स्थानीयसँगको छलफल पश्चात् मौवानगरदह स्वास्थ्यचौकी अवलोकन गरी सायलतर्फ अगाडि बढ्यौं । आदर्श गाउँपालिकाको वडा नं. ६ मा केही वर्ष पहिले ठूलो बाढी आएको र उक्त क्षेत्रमा अहिलेसम्म बिजुली बत्तीको सुविधा नपुगेको हाम्रा आदर्श गाउँपालिकाका संयोजक नरेन्द्र भाटले बताए ।

सायल गाउँपालिकाका स्थानीयको अलि फरक गुनासो थियो । घरको मुख्य जिम्मेवार पुरुष बिहानैदेखि मदिरामा लट्ठ भैदिने, पैसा गरगहना सबै चोर्ने, मदिराकै कारण केही व्यक्तिहरूको मृत्युसमेत भइसकेको ।

हामीले भेटेका २५ देखि ७५ वर्षसम्मका पुरुषहरूमध्ये करिब ८० प्रतिशत पुरुषको नजिक जाँदा मदिराको गन्ध आउँथ्यो । एकजना स्थानीय महिलाले यस्तो घटना सुनाइन्, जहाँराखे पनि श्रीमानले पैसा, गहना चोर्न थालेपछि खाना पकाउने अगेनो भन्दा तल एकहात खनेर पैसा र गहना लुकाइछन् । लुकाएको एक हप्ता पनि नपुग्दै श्रीमानले त्यो रकम चोरेर रक्सी खाइदिएछन् ।

घरेलु हिंसा अत्यधिक भएपनि पुलिसलाई उजुरी नदिने, दिइहाले फेरि मरणासन्न हुनेगरी कुटपिट सहनुपर्ने र ३ हजार रूपैयाँ प्रहरी कार्यालयमा बुझाउनुपर्ने भएको कारण यस्ता घटना प्रहरीसम्म नआइपुग्ने बताउँछन्, इलाका प्रहरी कार्यालयका प्रहरीहरू ।

आदर्श र सायल पश्चात् हामी लाग्यौं जिल्ला सदरमुकाम सिलगढीतर्फ । पहाडमा रहेको यो सहर मलाई ठ्याक्कै गोरखा बजार जस्तो लाग्यो । पिपल्ला बजारबाट जम्मा ११ किमी टाढा रहेको सदरमुकामको हावापानी बिलकुल फरक ।

जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल, जिल्ला प्रहरी प्रमुख विष्णुहरी कोइराला लगायतसँग हामीले देखेका समस्या र समाधानका विषयमा छलफल ग¥यौं साथै सदरमुकाममै रहेको जिल्ला अस्पताल अवलोकन पश्चात् सिलगढी बजारमै वास भयो हाम्रो ।

अर्को दिन अर्थात् असोज ६ गते नजिकैको शैलेश्वरी मन्दिर दर्शन पश्चात् हाम्रो यात्रा सदरमुकामबाट पूर्वीचौकी गाउँपालिकातर्फ थियो । पूर्वीचौकीका आफ्नै समस्या थिए । ऐलानी जग्गामा बनेका संरचना, भूकम्पमा परी ज्यान गएका परिवारहरूले उचित क्षतिपूर्ति नपाउनु, अनुदानका कुराहरूमा राजनीतिक हस्तक्षेप, शिक्षाका लागि टाढा पुग्नुपर्ने बाध्यता लगायत ।

डा.तोसिमा कार्कीले दलित बस्तीमा पुगी पानी खाएको एउटा भिडियो भाइरल भएछ, जुन भिडियो पूर्वीचौकी गाउँपालिकाकै थियो । भन्नेले जेसुकै भने पनि हाम्रो सोच छुवाछूतको अन्त्य हुनुपर्छ भन्ने नै हो ।

पूर्वीचौकी पछि हाम्रो छलफल डोटी उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरूसँग रह्यो । त्यसपछि शिखर नगरपालिकाका केही स्थानमा स्थानीयसँगको साक्षात्कार पश्चात् हामी २०७१ असार २९ मा निर्माण ठेक्का लिएको २०७४ असार २९ मा सम्पन्न भइसक्नुपर्ने शिखर नगरपालिका १० र ११ जोड्ने पुल निर्माणस्थल पुग्यौं । ९ वर्षसम्म पुल नबन्नु, निर्माण कम्पनीलाई कारबाही नहुनु । जनताले सास्ती पाइराख्नु ।

भोट किन र केका लागि भन्नेसमेत राम्रोसँग थाहा नपाएका डोटेली नागरिक १ कचौरा चाउचाउ ख्वाएको भरमा उसले भनेको चुनाव चिन्हमा भोट हाल्छन् भन्दै थिए, रास्वपा डोटी जिल्ला संयोजक केशव बलाएर ।

जिल्लामा ४३ प्रतिशत मात्रै साक्षरता छ, त्यसमा पनि महिला जम्मा २६ प्रतिशत । राजधानी हराएको सहरका जनताका अधिकारहरू कति हराए होलान् आजसम्म ?

यी र यस्तै डोटेली गुनासाहरू मोबाइल र डायरीमा पोको पारेर काठमाडौं फर्किंदैगर्दा डा. तोसिमा कार्कीले बोलिन्, ‘डोटीका हरेक समस्या अब म संसदमा बोल्नेछु र समाधानको बाटो खोल्नेछु ।’

लेखक रास्वपाका नेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?