+
+
१९औं एसियाली खेलकुद :

समापन समारोहमा एरिकाले नेपालको झण्डा बोक्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २१ गते ९:४६

२१ असोज, हान्झाउ । नेपाललाई करातेमा ऐतिहासिक रजत पदक दिलाएकी कराते खेलाडी एरिका गुरुङले १९औं एसियाली खेलकुदको समापन समारोहमा नेपालको झण्डा बोक्ने भएकी छन् ।

हान्झाउमा जारी एसियाडको समापन समारोह आइतबार हुँदैछ । त्यस समारोहको मार्चपासमा नेपालको झण्डा एरिकाले बोक्नेछिन् ।

नेपाल ओलम्पिक कमिटी र सेभ दि मिसनले एरिकालाई झण्डा बोक्न दिने निर्णय गरेको हो ।

एसियाडको १५औं दिन शनिबार कुमुते ६८ केजीमाथी तौल समूहमा रजत जितेपछि एरिकाले यो अवसर पाएकी हुन् ।

एरिकाले एसियाडअघि इन्डोनेसियामा भएको दशौं वर्ल्ड शितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् ।

करातेमा नेपालबाट ८ खेलाडी सहभागी भएकोमा एरिकाले मात्र पदक जितेकी हुन् । एसियाड अन्तिम दिन प्रतिस्पर्धा गरेकी करातेकी सविना श्रेष्ठ कुमुते ५० केजीमुनि तौल समूहमा अन्तिम ३२ मा चीनकी रानरान लिसँग ३-१ ले पराजित भइन् ।

एरिकाको रजत एसियाडमा नेपालले व्यक्तिगततर्फ जितेको २५ वर्षपछि पहिलो रजत हो । समग्रमा यो तेस्रो रजत हो । यसअघि सन् १९९८ मा तेक्वान्दोकी सविताराज भण्डारीले रजत पदक जितेकी थिइन् । यस्तै २०१८ मा प्याराग्लाइडिङ टिमले इन्डोनेसियामा रजत जितेको थियो ।

नेपालले १९औं एसियाडमा २९ खेलमा अहिलेसम्मकै सबैभन्दा धेरै  २५३ खेलाडी सहभागी गराएको थियो । जसमा नेपालले एक रजत र एक कांस्य जित्यो । एरिकाले रजत जित्नुअघि नेपालको मिहला कबड्डी टिमले कांस्य पदक जितेका थिए ।

हान्झाउ एसियाडको उद्घाटन समारोहमा भने तेक्वान्दोका वीरबहादुर महरा र उसुकी निमा घर्तीमगरले नेपालको झण्डा बोकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?