+
+

ओएसआरका सञ्चालकलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २१ गते १४:४६

काठमाडौं । फिल्म ‘प्रसाद २’ का निर्माताको उजुरीपछि पक्राउ परेका ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

आपराधिक विश्वासघातको आरोपमा शुक्रबार पक्राउ परेका अग्रवाललाई प्रहरीले आइतबार अदालतमा उपस्थित गराएको हो ।

प्रसाद २ का निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले आफूहरुको मञ्जुरीबिनै फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

भएको के हो ?

२०७६ चैत ९ गते फिल्म ‘प्रसाद २’ तत्कालीन निर्माण कम्पनी सुभाष थापा प्रोडक्सन प्रालिका सुभाष थापा र ओसआर डिजिटल इन्टरटेनिङ द नेसन प्रालिका अध्यक्ष ओमप्रकाश अग्रवालबीच डिजिटल राइट्ससम्बन्धी एक करार सम्झौता भएको थियो ।

जसअनुसार फिल्मको हल प्रदर्शन र च्यारिटी शोबाहेको सम्पूर्ण डिजिटल र अन्य प्रविधिबाट हुने प्रदर्शन अधिकार ओएसआरको हुने र डिजिटल राइट्स खरिद गरेबापत अग्रवालले थापालाई भ्याटसहित एकमुष्ट ३२ लाख ५० हजार रुपैयाँ दिने सम्झौता भएको थियो । सम्झौताअनुसार अग्रवालले सुभाष थापा प्रोडक्सनलाई करार बमोजिमको रकम भुक्तानी गरिरहेकै थिए ।

पछि केशव पाण्डे निर्माताको रुपमा फिल्ममा भित्रिए । छायांकनमा जानुअघि विवाद भएपछि पाण्डेले फिल्म छाडेपछि थापाले सुदर्शन बस्नेतलाई नयाँ निर्माताको रुपमा भित्र्याए ।

बस्नेत फिल्ममा जोडिएपछि पुरानो हिसाब खोज्ने क्रममा सुभाष थापा र बस्नेतवीच विवाद बढ्यो । करार बमोजिम रकम तिरेका अग्रवालले प्रसाद-२ को प्रोमो युट्युबमा रिलिज गरेपछि नयाँ निर्माताले अग्रवालविरुद्ध जाहेरी दिएर पक्राउ गराएका हुन् ।

अग्रवालले आफूले सुभाष थापा प्रोडक्सनसँग सम्झौता गरेको र सम्झौता बमोजिम रकम भुक्तानी गरेको हुँदा फिल्मको डिजिटल राइट्सको हकदार आफू हुने कुरामा दुईमत नभएको बताउँछन् । कम्पनीसँग गरेको करारको जिम्मेवारी नयाँ आएका पार्टनरको पनि हुने र पार्टनरबीच भएको विवादमा तेस्रो पक्षलाई मुछ्दा आफू पीडित भएको अग्रवालले बताएका छन् । ओएसआरसँग सम्झौता गरेका सुभाष थापा यतिबेला भागेर विदेश पुगिसकेका छन् ।

नेपाली फिल्मको डिजिटल राइट्स खरिदमा ओएसआर डिजिटल अग्रणी मानिन्छ । फिल्म निर्माताहरुले सुटिङ सुरु नहुँदै डिजिटल राइट्स बेचेर अग्रिम रकम असुल्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?