+
+

पृथ्वीसुब्बा गुरुङले देखाएको शक्ति

अधिवेशनलाई पृथ्वीसुब्बा र खगराज दुवैले एकअर्काको राजनीतिमा धक्का लगाउनेगरी तयारी गरेका थिए । स्थानीय तह, जिल्ला र प्रदेश तहसम्म अलग-अलग गुट बनेका थिए ।

अमृत सुवेदी अमृत सुवेदी
२०८० असोज २२ गते २०:१६

२२ असोज, पोखरा । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट नवराज शर्माको प्यानलले पदाधिकारीमा ‘क्लिन स्वीप’ गरेपछि उपमहासचिव पृथ्वीसुब्बा गुरुङबारे अनेक आँकलनसहित चर्चा सुरु भएको छ । उनी समर्थकहरुले त पार्टी अध्यक्ष केपी शर्मा ओलीपछिका नेता भनेरै नारा लगाएका थिए ।

उनीहरुको विश्वास छ-पृथ्वीसुब्बालाई अब अध्यक्ष ओलीले पनि गण्डकीमा पाखा लगाउन सक्दैनन् । कतिपयले भने एमालेको आगामी एघारौं केन्द्रीय महाधिवेशनसँग जोडेर चर्चा गरिरहेका छन् । जबकि अधिवेशनमा नवराज शर्मा नेतृत्वको प्यानलले जितेका हुन् ।

तर प्रदेश अधिवेशनमा जस्ता कसरत भए र जस्तो समीकरण बन्यो, त्यसआधारमा प्रदेश अध्यक्ष जित्ने शर्माको भन्दा उपमहासचिव गुरुङको धेरै चर्चा भइरहेको बुझ्न गाह्रो पर्दैन । किनकि गण्डकीमा उपमहासचिव गुरुङको समर्थन रहेको शर्मा नेतृत्वको प्यानल हराउन पार्टी महासचिव शंकर पोखरेलसहित पार्टीका शीर्ष तहकै नेताहरू लागिपरेका थिए ।

उपमहासचिव गुरुङले प्रस्ताव गरेका शर्मालाई रोक्ने मुख्य प्रयास भने स्थायी कमिटी सदस्य खगराज अधिकारीले गरेका थिए । कास्कीको राजनीतिमा लामो समय एकछत्र प्रभाव जमाएका अधिकारी अध्यक्ष ओली र महासचिव पोखरेलका विश्वास पात्र हुन् ।

०७१ को नवौं महाधिवेशनबाट ओली एमाले अध्यक्ष निर्वाचित भएपछि खगराजले आफ्नो प्रभाव फैलाउँदै लगेका छन् । कर्मचारी सुरुवाबढुवा, नियुक्ति, पार्टीभित्र पदीय जिम्मेवारीदेखि चुनावमा टिकट वितरणमा समेत खगराजको प्रभाव छ । अध्यक्ष ओलीले आफू अध्यक्ष भएपछि खगराजले मागेको भूमिका दिँदै आएका छन् । प्रतिनिधिसभा सदस्य, प्रमुख सचेतक, गृहमन्त्री, गण्डकीको मुख्यमन्त्री र पार्टी संगठन विभाग प्रमुख जस्ता महत्वपूर्ण पद लगातार पाइरहनुले पनि ओलीको विश्वास उनीमा रहेको बुझ्न सकिन्छ ।

‘खगराज अधिकारीको प्रभाव पहिले कास्कीमा थियो, अहिले गण्डकीकै संस्थापन नेता हुन पुगेका छन्, निर्णय पनि उनकै चल्ने’, एक नेता भन्छन् । उनै खगराजले पृथ्वीसुब्बाले अगाडि सारेका नवराजलाई रोक्न लमजुङका मायानाथ अधिकारीलाई अगाडि बढाएका थिए । पृथ्वीसुब्बाकै गृहजिल्लाका मायानाथको नेतृत्वमा प्यानल पनि बन्यो, तर यो प्यानलका कसैले पनि पदाधिकारीमा जित्न सकेनन् ।

जबकी यो अधिवेशनलाई पृथ्वीसुब्बा र खगराज दुवैले एकअर्काको राजनीतिमा धक्का लगाउनेगरी तयारी गरेका थिए । स्थानीय तह, जिल्ला र प्रदेश तहसम्म अलग-अलग गुट बनेका थिए । अधिवेशन अगाडि एकअर्का समूहमा रहेका नेताहरु तान्न ठूलै प्रयत्न भएको थियो । पार्टी मोर्चा, होटल र कोठासम्म भएको गृहकार्यपछि नवराज शर्मा र मायानाथ प्यानल बनाएरै अलग-अलग चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । यो तानातानमा खगराजको पल्लाभारी देखिएको थियो ।

पृथ्वीसुब्बा मुख्यमन्त्री हुँदा उनकै टीममा काम गरेकाहरुदेखि केन्द्रीय सचिव पद्मा अर्याल र पुराना नेता किरण गुरुङलाई समेत खगराजले आफूतिर तान्ने प्रयास गरेका थिए । यसरी गुट बदल्न खगराजलाई महासचिव पोखरेलले खुलेर साथ दिएका थिए । तर चुनावी परिणाम भने पृथ्वीसुब्बाको पक्षमा आयो ।

‘आलोचनात्मक चेत भएका व्यक्तिहरु पृथ्वीसुब्बाको लाइनमा उभिए । किनकि पृथ्वीसुब्बा नेतृत्वकै आलोचना पनि गर्न सक्छन् र काँध थापेर समर्थनमा पनि हिँड्न सक्छन् भन्ने कार्यकर्तामा परेको देखियो’, प्रदेशका एक नेता भन्छन्, ‘यत्तिको हक्की नेता चाहिन्छ भन्ने पनि देखियो ।’

‘क्लिन स्विप’को विश्लेषण

नवराजको प्यानलले पदाधिकारीमा ‘क्लिन स्विप’ गर्दा पृथ्वीसुब्बाको राजनीतिक शक्तिबारे अनुमान गरिनुमा भने अधिवेशन अगाडि चलेको चर्चाले पनि काम गरेको देखिन्छ । अधिवेशनको नतिजा आउनुअघि गण्डकीका संस्थापक मुख्यमन्त्री गुरुङ पार्टीभित्र एक्लिएको चर्चा चलेको थियो । तर फराकिलो अन्तरसहित गुरुङ समर्थित नवराजले जितेपछि त्यसो हुनुको कारणको खोजी पार्टी पंक्तिभित्र भइरहेको छ ।

पार्टी महासचिव लाग्दा समेत मायानाथ नेतृत्वको प्यानलले जित्न नसक्नुको मुख्य कारण त पृथ्वीसुब्बा गण्डकीकै सिनियर नेता भएकाले प्रतिनिधिहरुले विश्वास गर्नुलाई मानिएको छ । सिनियर हुनुको अनुभवले सबैलाई समेट्नेगरी टीम निर्माण अर्को कारण भएको नेताहरुको बुझाइ छ ।

कतिसम्म भने मुख्यमन्त्रीबाट विस्थापित भएर अरु मुख्यमन्त्री आउँदा पनि प्रदेशलाई चाहिने नेता पृथ्वीसुब्बाजस्तै भन्ने भाष्य निर्माण भयो । यस्ता कारणहरुले गण्डकीमा पृथ्वीसुब्बा हाबी हुन पुगेको देखिन्छ

उपमहासचिव गुरुङले नवराजको प्यानल बनाउँदा पुराना, युवा, पार्टी प्रवेश गरेर आएका, समावेशी जस्ता क्षेत्रलाई समेटेका थिए । नेकपाको विभाजनपछि एमालेमै बसेका लिलबहादुर थापा, बालकृष्ण काउचादेखि कांग्रेसबाट आएका मञ्जु शर्मा चालिसे, नवराज शर्मा, एकीकृत समाजवादीबाट फर्किएका श्रीराम कार्की समेतको समर्थन उपमहासचिव गुरुङले पाए । नवनिर्वाचित कमिटीको शपथपछि उपमहासचिव गुरुङले खुलेरै भने, ‘यो चुनाव अरु पार्टीबाट आएका, फर्केकाहरुको पनि जीतको सन्देश हो ।’

बाहिरबाट आएकालाई ठाउँ दिने, कुरा सुनिदिने र कम्युनिस्ट पार्टी मिल्नुपर्छ भन्ने लबिइङ गर्ने नेता भएकाले पनि पृथ्वीसुब्बाले आफ्नो पक्षमा मत बढाए । जनजाति समुदायको मत तान्न उपमहासचिव गुरुङलाई अप्ठ्यारो परेन । आफैं पनि जनजाति समुदायको एजेण्डालाई नेतृत्व गर्दै आएका उनीले सजिलै सहानुभूति पाए ।

‘नेताहरुले एक्ल्याउन खोजेको भन्ने भएपछि एउटा जनजातीको छोरो त्यहाँसम्म पुगेको छ भनेर सहानूभूति पनि पाए’ एक नेता भन्छन्, ‘सुवास नेम्वाङको मृत्युपछि अझै बढी सेन्टिमेन्ट उनीमाथि परेको देखियो ।’

पद्मा अर्याल र किरण गुरुङले खुलेर भूमिका नदेखाउनुको लाभ पनि उपमहासचिव गुरुङले नै उठाए । महासचिव पोखरेलकै संकेत र आग्रह हुँदा पनि उनीहरु समयमै खुलेर कुनै पक्षमा लाग्न सकेनन् ।

त्यसको कारण भने खगराजलाई नेता स्वीकार्न नसक्ने र आफूलाई त्यो समूहको नेता मान्न पनि नसक्ने परिस्थिति थियो । त्यसैले कहिले पृथ्वीसुब्बा त कहिले खगराज पक्षले आफूतिर खुलेको प्रचारबाजी गर्न पाए । जबकी पद्माकै रोजाइमा पृथ्वीसुब्बाको कित्ता छाडेर रश्मी आचार्य खगराजको कित्तामा लागेका थिए ।

पद्मा नजिकका नेताहरुलाई तान्न खगराजले सक्दो प्रयास गरेका थिए । स्याङ्जाकै मीनप्रसाद गुरुङलाई तेस्रो धार (पूर्वमाले) को अगुवाइ गराउने कोसिस भए पनि उनी तयार भएनन् । तर स्याङ्जाका सुधीकुमार पौडेल, सूर्यप्रकाश गैरे, विश्व पौडेल लगायतले खगराजतिर लाग्न नहुने अडान लिएपछि पद्मा आफैंमा अप्ठ्यारोमा परेकी थिइन् । त्यसैले उनी बीचमै काठमाडौं उडिन् ।

खगराजले पहिले प्यानल बनाउनु पनि पृथ्वीसुब्बालाई थप फाइदा भयो । खगराजले अध्यक्षमा मायानाथ अधिकारी, उपाध्यक्ष बाबुराम विक, सचिव रश्मी आचार्य, उपसचिवमा सन्तोष रावल र मीना गुरुङलाई उम्मेदवार बनाउनेगरी प्यानल बनाएका थिए । नवराजकै जिल्ला म्याग्दीबाट सन्तोषलाई उठाएर भोट तान्ने नीति अधिकारीले पनि लिएको देखिन्छ ।

तर खगराजले आफ्नो प्रस्ताव रहेको प्यानल घोषणा पहिले गरेकाले पृथ्वीसुब्बाले काउन्टर रणनीति बनाउन पाए । जस्तो- उपाध्यक्षमा मोहन रेग्मीको नाम पक्का भइसकेपछि नवराजको प्यानलबाट मीनप्रसाद गुरुङ उम्मेदवार बने ।

उपसचिवमा हुम गुरुङको नाम निकालेर दामबहादुर विकको नाम राखियो । जसका कारण प्यानल समावेशी बन्यो । पद्माले खगराजलाई मौन समर्थन दिएपनि स्याङ्जाकै मत नवराजले पाए ।

पृथ्वीसुब्बाको साथ छोडेर जानेहरुले प्रभावकारी भूमिका देखाउन नसक्नु पनि खगराज पक्षधरको हारको कारण बनेको नेताहरु बताउँछन् । गुट फेरेपछि प्रतिनिधि चयनमै संकट खेप्नु परेकाले उनीहरु खुलेर लाग्न नसकेको ती नेताहरु बताउँछन् ।

‘कास्कीका राजीव पहारी, बागलुङका गोविन्द नेपाली, गोरखाका रामशरण बस्नेतले कित्ता त फेरे, तर प्रभावकारी भूमिका देखाउनुको साटो उल्टो ब्याकबाइटिङ भयो,’ खगराज समूहका एक नेता भन्छन्, ‘कतिपय उहाँहरुको अपरिपक्कताको शिकार पनि हुनुपर्‍यो ।’

लमजुङबाट हार र जितको अनुभवसहित पार्टी केन्द्रकै राजनीति गर्दै आएका गुरुङले गण्डकीमा प्रभाव देखाउन थालेको भने संस्थापक मुख्यमन्त्री बनेपछि नै हो । मुख्यमन्त्री बनेपछि उनी गण्डकीमै केन्द्रित भए ।

जिल्ला-जिल्लाबाट उनीसँग नजिक हुनेहरु बढे । संघीयता कमजोर बनेको भन्दै आफ्नै पार्टी नेतृत्वको संघीय सरकारसँग आलोचनात्मक रुपमा प्रस्तुत भएर हिम्मतिलो नेताको छवि बनाए । त्यसैबेला ११ वटै जिल्लामा पृथ्वीसुब्बाले प्रभाव जमाएको नेताहरुको बुझाइ छ ।

कतिसम्म भने मुख्यमन्त्रीबाट विस्थापित भएर अरु मुख्यमन्त्री आउँदा पनि प्रदेशलाई चाहिने नेता पृथ्वीसुब्बाजस्तै भन्ने भाष्य निर्माण भयो । यस्ता कारणहरुले गण्डकीमा पृथ्वीसुब्बा हाबी हुन पुगेको देखिन्छ । तर यो अधिवेशनपछि उपमहासचिव पृथ्वीसुब्बालाई अध्यक्ष ओलीले गर्ने व्यवहार कस्तो हुन्छ भन्ने जिज्ञासा कार्यकर्ता वृत्तमा छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?