+
+

जताततै अधकल्चो सडक विस्तार, सकस र जोखिमपूर्ण बन्दै दशैं यात्रा

अच्युत पुरी अच्युत पुरी
२०८० असोज २३ गते १८:१०

२३ असोज, काठमाडौं । काठमाडौं उपत्यकालाई बाहिरी जिल्लासँग जोड्ने मुख्य तीन वटा राजमार्ग अन्तर्गतका सडक खण्डहरु अहिले स्तरोन्नतिको चरणमा छन् ।

पश्चिम नेपाललाई काठमाडौंसँग जोड्ने मुग्लिन-नागढुंगा सडक खण्ड विस्तार हुँदै छ । काठमाडौंलाई उत्तरी जिल्लाहरु नुवाकोट, रसुवासँग जोड्ने पासाङल्हामु सडक एक दशक नाघ्दा समेत निर्माण सम्पन्न हुन सकेको छैन ।

अरनिको राजमार्ग र बीपी राजमार्गमार्फत काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने सूर्य विनायक-धुलिखेल सडक खण्ड समेत यतिबेला विस्तारको चरणमा छ । यी सडक खण्डहरु छिचोल्दै अगाडि बढ्ने यात्रुको सास्ती त्यति मै रोकिनेवाला छैन ।

मुग्लिनबाट तनहुँ हुँदै पोखरा र पश्चिम पहाडी भेगमा जाने यात्रुले विस्तारका क्रममा रहेको मुग्लिन-पोखरा सडक खण्डमा सास्ती बेहोर्नु पर्नेछ ।

मुग्लिनबाट नारायणगढसम्म जाने यात्रुले सो खण्डमा वर्षायाममा झरेका दर्जनौं पहिरोले उत्पन्न गरेको जोखिम पार गर्दैर् यात्रा गर्नुपर्ने छ ।

नारायणगढबाट बुटवलतर्फ जाने यात्रुका लागि महेन्द्र राजमार्गको बुटवलसम्मको यात्रा सबैभन्दा कष्टकर हुनेछ । यो सडक खण्ड विस्तारको काम ६ वर्षमा समेत सम्पन्न हुन सकेको छैन ।

महेन्द्र राजमार्गअन्तर्गत पूर्वी नेपालमा कमला-कञ्चनपुर सडक खण्डसमेत विस्तारको क्रममा छ । पूर्वी नेपालमा केचना-ओलाङचुङगोला सडकअन्तर्गत पाँचथरको हेवाखोलामा यसवर्ष आएको बाढीले सुदूरपूर्वी नेपालमा यात्रा गर्नेहरुले निरन्तर सास्ती भोगे । यो सडक खण्ड अहिले पनि जोखिमपूर्ण अवस्थामा छ ।

जताततैको अधकल्चो सडक विस्तारले यो वर्षको दशैंमा यात्रा गर्ने यात्रुहरुले सकस र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

सडक विभागको तथ्यांक अनुसार अहिले देशभर ९९ प्रतिशत सडक दोहोरो गाडी चल्न सक्ने अवस्थामा छन् । बाँकी एक प्रतिशत सडकलाई दशैंअगाडि नै दोहोरो गाडी चल्नयोग्य बनाउने लक्ष्य सरकारको छ । यद्यपि विस्तारको चरणमा जीर्ण जस्तै अवस्थामा रहेका सडकले दशैंको यात्रा सहज भने हुने छैन ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार यस वर्ष मुग्लिन-पोखरा र नारायणगढ-बुटवल सडक खण्डले यात्रु र व्यवयासीलाई सबैभन्दा धेरै सास्ती दिनेछ ।

सोहीकारण व्यवसायीले अगि्रम टिकट बुकिङ खुलाउनुअगाडि नै यी सडक खण्डमा विनाअवरोध यातायात चल्ने वातावरण बनाउन माग गरेका थिए ।

सडकका कारण गाडी समयमा आउन सकेन भने व्यवसायीले मात्र गाली खाने अवस्था आउने भन्दै उनले सडक पूर्वाधार सुधारमा जोड दिए ।

देशैभरको सडक अवस्थाबारे सडक विभागको विश्लेषण के छ ?

सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल सडक विस्तारको कामले यात्रा कष्टकर हुनेदेखि यात्राको समय लम्बिन सक्ने अवस्था रहेको स्वीकार गर्छन् ।

यद्यपि कम सास्ती होस् भन्ने उद्देश्यले निर्माण कम्पनीहरुलाई सडक व्यवस्थापनको जिम्मा दिइसकिएको उनले जानकारी दिए ।

‘खाल्डाखुल्डी सकेसम्म नहोस्, भएको भए अब छिट्टै पुरिसक्नु भन्ने निर्देशन दिइसकेका छौं,’ उनले अनलाइनखबरसँग भने, ‘साइनिङहरु दुरुस्त राख्ने, ट्राफिक चुस्त राख्ने र कम जोखिममा यात्रा गराउन हामी शतप्रतिशत प्रयास गर्नेछौं ।’

मनसुन ढिला गरी सकिनु र एकैपटक धेरै स्थानमा सडक विस्तारको चरणमा रहेका कारण अहिले देशभरको सडकको अवस्थालाई ‘फेयर’ मात्र भन्न सकिने उनको भनाइ छ ।

कसरी व्यवस्थापन हुँदैछ दशैंको सडक यात्रा ?

यातायात व्यवस्था विभागका निर्देशक इश्वरीदत्त पनेरुका अनुसार मुख्य सडकलाई मर्मत/सम्भार गरी यातायात सञ्चालनलाई सहज बनाउन सम्बन्धित निकायलाई अनुरोध भइसकेको छ ।

सोमबारदेखि नै अग्रिम टिकट बुकिङ खुला गरी टिकट काट्न थालिएको छ । यात्रुबाहक सवारी साधनलाई घटस्थापनादेखि पूणिर्मासम्म नेपालभर लागु हुने गरी रुट परमिट खुला गरिएको छ ।

तर, कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चलन निषेध गरिएका आकार-प्रकारका सार्वजनिक सवारीको हकमा भने बन्देज कायमै रहने छ ।

अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेक टे्रलरलगायत ठूला सवारी साधन २८ असोजदेखि ८ कात्तिकसम्म नारायणगढदेखि काठमाडौंसम्म चल्न रोक लगाइएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?