+
+

कांग्रेसमा प्रश्न : कोशीमा राप्रपाले मुख्यमन्त्री दाबी गरे के गर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २३ गते २२:३५
फाइल तस्वीर

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसमा कोशी प्रदेशको सरकार गठनको विकल्पबारे छलफल सुरु भएको छ । नेकपा एमाले सहितको सरकार बनाउने कि राप्रपाको समर्थन जुटाउने भन्ने छलफल भए पनि कुनै निर्णय भने भएन ।

कोशी प्रदेशमा संविधानको धारा १६८(५) अनुसार सरकार गठनका लागि दाबी गर्न शुक्रबार ५ बजेसम्म समय छ । सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेको तीन दिनपछि मंगलबार कांग्रेसले पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक बोलाएको थियो ।

बैठकमा महामन्त्री गगनकुमार थापाले कोशी प्रदेशमा सरकार गठनबारे के कुराकानी भइरहेको छ भनेर प्रश्न गरेका थिए ।

नेताहरुले कुराकानी भइरहेको सुनाए । त्यसक्रममा नेता मिनेन्द्र रिजालले डा. शेखर कोइराला र आफूले हालै मात्र माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको सुनाए । त्यसक्रममा प्रचण्डले यो पटक सरकरको नेतृत्व आफ्नो दलले पाउनुपर्ने संकेत गरेको रिजालले सुनाए ।

कांग्रेसलाई समर्थन गरिसकेको र आफूलाई पनि दलभित्र दबाव रहेको भन्दै प्रचण्डले भनेको उनको ब्रिफिङ थियो । त्यसपछि उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता हुन लागेको सुनाए ।

नेताहरुका अनुसार लिङ्देनले प्रचण्डसँग भएको भेटमा प्रस्तावका आधारमा थप निर्णय गर्ने समझदारी भएको छ ।

एक नेताका अनुसार राप्रपा नेताहरुले नेताहरु अनुसार फरक फरक कुरा गर्ने गरेका छन् ।कोशी प्रदेश, संसदीय दलका नेता भक्ति सिटौलाले कांग्रेस संसदीय दलका नेता उद्धव थापा बाहेक अरुलाई अघि सारेको अवस्थामा समर्थन गर्न सकिने संकेत गर्ने गरेका छन् । तर  अध्यक्ष लिङ्दनले भने कसलाई मुख्यमन्त्री बनाउने भन्ने आफूहरुको सूची नभएको बताउने गरेका छन् ।

एक नेताका अनुसार आफ्नै निर्वाचन क्षेत्रका उद्धवलाई मुख्यमन्त्री बनाउन भने राप्रपा तयार देखन्न । उनका अनुसार राप्रपाले गठबन्धनलाई समर्थन गर्ने, कांग्रेसमा उद्धव थापा बाहेकलाई समर्थन गर्ने वा आफ्नै नेतृत्व दाबी गर्ने सम्भावना छ । त्यसैले अब उसको प्रस्ताव सुनेर मात्र निर्णयमा पुग्न नेताहरू सहमत भएका छन् ।

प्रधानमन्त्रीसँग भएको भेटमा लिङ्देनले के प्रस्ताव राखे भनेर सभापति देउवाले जानकारी लिने र भोलि बुधबार फेरि बैठक बस्ने भनेर नेताहरु उठेका छन् ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले मंगलबार विहान नै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग भेट पनि गरेका छन् । भेटमा प्रचण्डले कोशी प्रदेशमा सरकार गठनमा सहयोग गर्न आग्रह गरेपनि लिङ्लेनले प्रष्ट जवाफ दिएका छैनन् ।

राप्रपा कोशी प्रदेशका संसदीय दलका नेता भक्ति सिटौला भने यो पटक सरकारको नेतृत्वमा आफूहरुको पनि दाबी रहेको बताउँछन् । उनले अनलाइनखबरसँग भने, ‘वार्ता भइरहेको छ, तर टुंगोमा पुगेको छैन ।’

नेताहरूका अनुसार मंगलबारको बैठकमा राप्रपाले मुख्यमन्त्री दाबी गरे के गर्ने  भन्ने प्रश्न पनि उठेको थियो । कांग्रेस महामन्त्री थापाले बैठकमा भनेका थिए, ‘गठबन्धनलाई समर्थन गर्यो वा उद्धव बाहेक भन्यो भने पनि ठूलो समस्या नहोला, तर मुख्यमन्त्रीमा दाबी गर्‍यो भने के गर्ने ?’

नेताहरुका अनुसार यदि राप्रपाले समर्थन गर्ने अवस्था नआए एमालेसँग सहमति खोजेर भए पनि मध्यावधि टार्नुपर्ने पक्षमा महाहामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा देखिएका छन् । तर सभापति देउवाले भने गठबन्धनमा असर पार्ने भन्दै एमालेसँग सहकार्य गरी हाल्ने पक्षमा देखिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?