+
+
कभर स्टोरी :

एक जिमीदारको कब्जामा सिङ्गो दनुवार बस्ती

काभ्रेको पाँचखालमा एक जना जिमीदारको चलाखी र छलछामपूर्ण व्यवहारले स्थानीय दनुवार बस्ती नै आफ्नो पुर्ख्यौली थातथलोबाट विस्थापित हुने अवस्थामा पुगेको छ । गाउँ-गाउँ फैलिएको यो निकृष्ट शोषणको जालो राज्य व्यवस्थाको प्रभावकारी हस्तक्षेप विना निर्मूल हुन कठिन छ ।

कृष्ण ज्ञवाली विजय पराजुली कृष्ण ज्ञवाली, विजय पराजुली
२०८० असोज २६ गते २०:२९

२६ असोज, पाँचखाल, काभ्रे । धुलिखेलबाट अरनिको राजमार्ग पछ्याउँदै करिब ११ किलोमिटर ओरालो झरेपछि पाँचखाल उपत्यका पुगिन्छ । पाँचखाल नपुग्दै तामाघाट बजारबाट राजमार्ग छाडेर पूर्वतिर अघि बढेपछि दनुवार बस्ती सुरु हुन्छ । तीनघरे टोलको मूलबाटो छेवैमा छ, भूकम्पले खल्बल्याए पनि भत्काउन नसकेको चन्द्रबहादुर दनुवारको घर । त्यसको तलपट्टि छ, उनको सानो बारी ।

दुई साताअघि त्यो बारीमा जोत्ने ट्याक्टर सहित नौला मान्छे देखिए । चन्द्रबहादुर र उनका छोरा सन्तोषले अपरिचित मानिसहरूलाई ‘आफ्नो बारी किन खनजोत गरेको’ भनेर सोेधे ।

उनीहरूले तत्काल स्थानीय शरणप्रसाद आचार्यलाई फोन गरे । शरणप्रसादका छोरा राममणिले फोन उठाए । त्यो जग्गा बिक्री भइसकेको जवाफ दिंदै भने, ‘हाम्रो बुबाको नामको जग्गा बेचिसकेको हो, अब आउने मान्छेसँग धेरै निहुँ नखोज्नु, नत्र कुटाइ खाउला !’

जग्गामा खिचलो हुनासाथ चन्द्रबहादुरको परिवारले पल्लो टोलका शरणप्रसादलाई फोन गर्नुको कारण अलि पुरानो र लामो छ ।

‘मेरो बाबुको लालपुर्जा हराएको रहेछ । शरणप्रसाद आचार्यले हराएको लालपुर्जा बनाइदिन भनेर धुलिखेल लगेछन् । त्यहीबेलामा केके गरेर सप्पै जग्गा आफ्ना नाममा लगेछन्’ सन्तोष भन्छन्, ‘मालपोतमा गएर हेर्दा बुबाले आफ्नो नाममा भएको सबै सम्पत्ति शरणप्रसाद आचार्यको नाममा पास गर्नुभएको देखिन्छ रे !’

काभ्रे पाँचखाल तीनघरेका चन्द्रबहादुर दनुवार दम्पती : चन्द्रबहादुरको बाबुको नामको जग्गा शरणप्रसादको नाममा पास भएपछि उनी अहिले थात न बासको अवस्थामा पुगेका छन् ।

त्यो २०५० सालतिरको घटना रहेछ । चन्द्रबहादुरका अनुसार, २०६० सालमा घरमा केही कामको सिलसिलामा लालपुर्जाको कुरा निस्किएको थियो । त्यसै बेलामा उनका बाबु रामबहादुरले ‘हराएको लालपुर्जा शरणप्रसादले बनाइदिएको र उनैले राखेको’ भनेका थिए ।

चन्द्रबहादुर भन्छन्, ‘त्यतिबेला जाँदा उहाँले लालपुर्जा दिन्छु भनेर अल्मल्याउनुभयो । जहिले गए पनि दिन्न कहिल्यै नभन्ने, दिन्छु भन्ने मात्रै गर्नुभयो तर कहिल्यै दिनुभएन ।’

तत्काल लालपुर्जाको खाँचो नभएकाले चन्द्रबहादुरले ताकेता पनि गरेनन् । हुन पनि केही अप्ठेरो परेमा सरसापटी दिने र सहयोग गर्ने उनै शरणप्रसाद थिए । केही सरकारी कामले धुलिखेलतिर जानुपरेमा पनि उनैलाई गुहार्नुपथ्र्यो ।

२०७२ सालमा एकाएक भुईंचालो आयो । चन्द्रबहादुरको घर नराम्रोसँग हल्लियो, तर गल्र्याम्मै ढलेन । सरकारले भूकम्पपीडितलाई घर बनाउन दिने भनेको ३ लाख रुपैयाँ चन्द्रबहादुरले पनि पाउने भए । तर, चन्द्रबहादुरको साथमा लालपुर्जा भएन ।

‘घर बनाउन आफ्नै नामको लालपुर्जा चाहिने रहेछ, नभए अर्को कागज चाहिन्छ रे (उनले मञ्जुरीनामा भन्न खोजेका रहेछन्)’ चन्द्रबहादुर भन्छन्, ‘फेरि पछि जाँदा उहाँले लालपुर्जा दिनुभएन, अर्को कागजको त के कुरा ?’

बीचमा शरणप्रसादले घर बनाउन मौखिक रूपमा स्वीकृति पनि दिएका थिए । सरकारी अनुदानको रकम र ऋण खोजेर घर बनाएको जग्गा पछि उनले खोजेमा के गर्ने भनेर आफन्त र छिमेकीहरूले ज्यादा उत्साहित नहुन सल्लाह दिएछन् । उनले जग्गा माग्नु नै बुद्धिमानी देखे ।

पटक–पटक ताकेता गरेपछि शरणप्रसाद आचार्यले ‘३ लाख रुपैयाँ चाहिन्छ, २० हजार बैना जम्मा गर, म दिन्छु’ भनेछन् । त्यो ३ लाख उनले किन मागे ? चन्द्रबहादुरलाई थाहा छैन । जसोतसो २० हजार रुपैयाँ जुटाए । अनि छोरा सन्तोष, जेठान लगायतको टोली बटुलेर गए र शरणप्रसादको सामु २० हजार राखिदिए ।’ चन्द्रबहादुर भन्छन्, ‘त्यसपछि पनि जाँदा जग्गा दिन्छु मात्रै भन्नुभयो, कहिल्यै दिनुभएन ।’

चन्द्रबहादुरका छोरा सन्तोषले त्यतिबेला भर्खरै प्लस टु सिध्याएका थिए । उनी पनि बाबुसँग गएर जग्गा माग्न थाले । त्यसपछि शरणप्रसादले फेरि मिठा कुरा गर्न थालेको उनी बताउँछन् । शरणप्रसादले ‘मेरो यत्रो जग्गा–जमिन छ । कार छ, भारतमा पनि सम्पत्ति छ । मैले तिम्रो सम्पत्ति खाइदिन्न’ भनेछन् । सन्तोष रित्तैहात फर्किए ।

केही समयपछि नोकझोंक गर्ने मनस्थितिका साथ चन्द्रबहादुर र उनका छोरा सन्तोष शरणप्रसादको घरमा गए । त्यहाँ उनको जेठा छोरा राममणिले भनेछन्, ‘त्यो सम्पत्ति मेरो अंशमा परेको छ, एक टुक्रा पनि दिन्नँ ।’

अति भएपछि जग्गाको मेसो बुझ्न सन्तोष र उनका बाबु चन्द्रबहादुर मालपोत कार्यालय, काभ्रे पुगे । त्यहाँ हेर्दा चन्द्रबहादुरका बाबु रामबहादुरले हालैको बकसपत्र गरी सबै जग्गा शरणप्रसाद आचार्यको नाममा सारेको भेटियो ।’

कुनै जग्गाधनीले आफ्नो नामको घरजग्गा हकवाला बाहेक अरू कसैलाई राजीखुसी दिनुपरेमा बकसपत्र गरिन्छ । जग्गाधनीलाई खुसी बनाए बापत जग्गाधनीले मालपोत कार्यालयमा गएर हालैको बकसपत्र गरेपछि तत्काल इच्छाएको व्यक्तिको नाममा लालपुर्जा बन्छ ।

मालपोतको अभिलेख अनुसार, २०५१ सालमै रामबहादुर दनुवारले राजीखुसी आफ्नो जग्गा शरणप्रसादको नाममा बकस गरेर सारिदिएको देखिन्छ । ‘त्यस्तो त हुँदै होइन’ चन्द्रबहादुर भन्छन्, ‘लालपुर्जा हराएको मेरो बालाई झुक्याएर शरणबाजेले जग्गा आफ्नो नाममा बनाएका हुन् ।’

२३ कित्ता जग्गा बकसपत्र गर्दाको लिखत ।

आफूहरूले वर्षौंदेखि भोगचलन गरेको तर शरणप्रसादको नाममा रहेको जग्गाजमिनको लालपुर्जाको फोटोकपी ल्याएर उनीहरूले चित्त बुझाए । त्यसपछि पनि पटक–पटक जग्गा फिर्ता दिन अनुरोध गरे । त्यसपछि सन्तोषले थाहा पाए, राममणिले जग्गा अर्कैको नाममा बेचेको । जग्गा किन्ने मान्छेको नाम सिंहलाल श्रेष्ठ रहेछ, उनीहरूलाई त्यो बाहेक अरू थाहा छैन ।

उनले सन्तोषका बाबु र आमालाई भनेछन्, ‘यो जग्गा हामीले किनिसक्यौं । अब तिमीहरू धेरै बोल्ने होइन ।’ चन्द्रबहादुर र वरपरका अरू दनुवारहरू जम्मा भए, त्यो जग्गा आफ्नो पुख्र्यौली भएको बताए ।

‘बेच्ने अर्कै हो, किन्ने म हो । तेरो नाममा जग्गा छ र ?’ सिंहलालले भने, ‘निहुँ खोज्यौ भने बोरामा हालेर कुट्छौं !’ उनले आनाको साढे २ लाख रुपैयाँका दरले २७ आना जग्गा किनेका रहेछन् । सन्तोष भन्छन्, ‘हाम्रो मुद्दा परेको जग्गा हो, जोते पनि २/४ दिन पर्खिनुस् भनेको हो, मानेनन् ।’

त्यसपछि सन्तोष दनुवारले बाबुलाई लिएर पाँचखाल नगरपालिका गए, निवेदन लेखाए । पाँचखाल नगरपालिकाको न्यायिक समितिमा पुगेपछि उनले मन थाम्न सकेनन् । सन्तोष भन्छन्, ‘बाले मेरो बिजोग भयो, म त सुकुम्बासी हुने भएँ भनेर हारगुहार गर्न थाल्नुभयो । अरूले पनि थाहा पाए ।’

अनि नगरपालिकाले साक्षी सर्जमिन गरेर जग्गा रोक्काका लागि धुलिखेल मालपोत कार्यालयमा पत्र लेखिदियो ।

पिडितहरुको उजुरीका आधारमा पाँचखाल नगरपालिकाले जग्गा रोक्का राख्न मालपोत कार्यालयलाई लेखेको पत्र ।

 

अहिले चन्द्रबहादुर झनै डराए जस्ता देखिन्छन् । नगरपालिकामा उजुरी दिएको केही दिनपछि शरणप्रसादका छोरा राममणिले उनलाई फोन गरे ।

‘तिमीहरू नगरपालिका गएका रहेछौं, नगरपालिकाले नै जग्गा दिन्छ, उतै खोज्नु भन्ने जवाफ आयो’ चन्द्रबहादुर भन्छन्, ‘सजिलोसँग दिन्छु भनेको भए मैले कतै उजुरबाजुर गर्दिनथें, दिंदै दिन्न भनेपछि मैले यो कदम चाल्नुपरेको हो ।’

नगरपालिकामा उजुरी परेको अनि आफ्नो जग्गा रोक्का राखेपछि शरणप्रसादका कान्छा छोरा चन्द्रमणि आचार्यले सन्तोषलाई फोन गरेर ‘नगरपालिकामा उजुर गर्न गएका रहेछौं, सल्लाहमा गर्ने कि हल्लामा हिंड्ने ?’ भनेर धम्क्याएका थिए ।

‘तीन हजार ऋण, २५ हजारको कागज’

दनुवार बस्तीकै ओजेटार टोलका गोपाल दनुवार (४३) अर्का पीडित हुन् । उनको र भाइको परिवार आमाका साथ आफ्नो घरमा बसेको छ ।

‘यो हाम्रो घर हो, तर उसको नाममा छ । जसले लिएको हो, उसले यो घर आफ्नो हो भन्न गएको छैन’ उनी भन्छन्, ‘हामीले लिएको ऋण तिर्छु जग्गा फिर्ता गर भन्दा ऊ दिन तयार छैन । बुबाको नामको करिब ४ रोपनी रहेको दुई कित्ता जग्गा उसको नाममा गएको छ ।’

गोपालका बाबुले शरणप्रसाद आचार्यबाट २०४९ सालमा ५ हजार रुपैयाँ ऋण लिएका थिए । तत्काल केही महिनापछि २ हजार रुपैयाँ फिर्ता गरे, अरू बाँकी रहेछ ।

‘बुबा बित्नुभन्दा केही समय पहिले शरणप्रसादलाई बाँकी पैसा फिर्ता गरेपछि जग्गा फिर्ता दिन्छन् भन्नुभएको थियो’ गोपाल भन्छन्, ‘उहाँले पनि दिन्छु दिन्छु भन्नुभएको थियो, अहिले त दिन्न पो भन्न थाल्नुभयो ।’

काभ्रे पाँचखाल थामपुरका गोपाल दनुवार । आफ्नो र ससुराको जग्गा समेत ऋण नतिरेको भन्दै शरणप्रसाद आचार्य र परिवारले आफ्ना नाममा सारेको उनी बताउँछन् ।

ऋण लिने बेलामा ६ कक्षामा पढ्ने उनलाई बाबुले सँगै लिएर जाने कुरा भएन । उनलाई जग्गा अर्कोको नाममा गएको छैन, मालपोतमा बन्धकीको रूपमा रोक्का भएको होला भन्ने लागेको थियो ।

ऋण र जग्गाको खिचलोको मेसो पाउन उनी धुलिखेल मालपोत कार्यालय गए, कागजात झिकाएर हेरे, त्यसपछि उनलाई असाध्यै रिस उठ्यो । गोपाल भन्छन्, ‘मैले अहिलेसम्म लालपुर्जा देखेको छैन, पुर्जा भनेको के हो पनि थाहा छैन । आफ्नो भनेको कागज हेर्छु त मेरो जग्गा–जमिनमा उनीहरूको सन्तानको नाम लेखेको छ ।’

गोपालका अनुसार, शरणप्रसादले सुरुमा एक अनि तीन रोपनीभन्दा बढी जग्गा त्यतिबेला नाबालक (१२ वर्षको) रहेको आफ्नो छोरा राममणिको नाममा पास गराएका रहेछन् । पाँच हजार रुपैयाँ ऋण लिएकोमा २५ हजार रुपैयाँ ऋण लिएको लिखत तयार पारिएको रहेछ ।

उनलाई बकसपत्रको व्यहोरा पनि कण्ठस्थ छ, ‘मेरो आवश्यक कामकाज गरी मलाई रिझाई आज कसैलाई केही लिखित नगरेको मेरो हकको जग्गा दिएँ भनेर कागज बनेको गरेछ ।’

मालपोत कार्यालयमा भएको विचित्रका घटना देखेर उनी चकित छन् । जग्गा पास गरिदिएको बेलामा गोपालका बाबुको नागरिकता बनेको थिएन । २०६१ सालमा बाबुलाई धुलिखेल लगेर नागरिकता बनाइदिएको उनी सम्झन्छन् । नागरिकता नभएको मान्छेको जग्गा कसरी पास भयो, अत्तोपत्तो छैन । कतै शरणप्रसादले त्यतिबेलै बाबुको नामको नागरिकता बनाइदिएर जग्गा पनि पास गरिदिएका थिए कि भन्ने शंका लाग्छ अहिले उनलाई ।

गोपालका बुबा बितेको तीन वर्ष भयो । त्यसपछि शरणप्रसादको घरमा गएर उनी कराएको करायै छन् । शरणप्रसाद र उनको परिवार कहिले ‘बुबा हुञ्जेल केही नभन्ने अहिले कराएर हुन्छ ?’ भनेर उल्टै कराउँछन् ।

अलि करकर ग¥यो भने ‘ऋण लिएको तमसुक लिएर आऊ, हिसाबकिताब गरौंला, अनि पैसा बुझाएपछि जग्गा दिउँला भन्छन् । ऋण लिंदा सँगै गएका वडाध्यक्ष जगतप्रसाद न्यौपानेले ‘ऋण लिएको थाहा छ, जग्गा पास गरेको थाहा छैन’ भनेर जवाफ दिए ।

‘कागज गरेर ऋण लिएका भए पो तमसुक हुनु ? सोझै जग्गा पास गरिदिएको छ’ गोपाल जंगिदै भन्छन्, ‘मेरो तर्फबाट आमा मात्रै साक्षी हुनुहुन्छ, आमाको शेषपछि त उसले खाइदिन्छ जग्गा । अब हामी ऊसँग जे पर्छ, त्यही गर्न तयार छौं ।’

घरझगडादेखि आत्महत्यासम्म

तीनघरेका सन्तोष दनुवारले विवाह गरेको तीन वर्ष भयो । श्रीमती घर भित्र्याएपछि पुरानो घर र जग्गा आफ्नै नाममा रहेको भनेका थिए । अहिले आएर सन्तोषकी श्रीमतीले जग्गा आफ्नो नाममा रहेनछ भन्ने पत्तो पाइन् ।

सन्तोष भन्छन्, ‘श्रीमतीलाई झुक्याउने नियत होइन, तर अहिले आएर आफ्नो नाममा घरजग्गा केही पनि छैन भनेपछि बुढीले मसँग झगडा गरिरहेकी छ । मैले झुक्याएको होइन भन्छु, पत्याउनै तयार छैन ।’

चन्द्रबहादुरको मनमा अथाह पीडा छ । भूकम्पले अलिअलि भत्किएको घर बस्न नहुने छ, तर उनको परिवारले निर्वाह गरिरहेको छ । छोराछोरीले घरजम गरे । छोरीहरू ज्वाईं र नातिनातिना लिएर माइती आउँदा राख्ने ठाउँ छैन । छोराको परिवारको उस्तै हाल छ । उनी भन्छन्, ‘जग्गा–जमिन छ, तर अर्कैको नाममा । मेरो आफ्नो भन्नु केही पनि छैन, के निर्वाह गरेर बस्ने ?’

तीनघरेमा ११ घरपरिवारको घरजग्गा शरणप्रसादको कब्जामा छ । पीडितमध्ये अर्का सानुबाबु दनुवार अर्को समस्या सुनाउँछन्— ‘तिमीहरूको पुरानो लालपुर्जा चल्दैन भनेर बाजे (शरणप्रसाद) ले नयाँ बनाउनुपर्छ भनेर धुलिखेल लैजानुभयो । हामी घर फर्कियौं, उहाँले आफ्नो नाममा पुर्जा बनाएर ल्याउनुभएछ ।’

काभ्रे पाँचखाल तीनघरेका माइला दनुवार(मुट्टी कसेका) र सानुबाबु दनुवार(हात फिजाएका) ।

 

११ घरपरिवारकै सदस्यमध्येका रामबहादुरका छोरा राज दनुवारले जग्गा फिर्ता माग्दा शरणप्रसादको परिवारले कहिले ५० हजार त कहिले एक लाख ठिक पार्न लगाए । त्यति हुँदा समेत जग्गा फिर्ता नभएपछि नोकझोंक भयो ।

‘पछि त तंैले सकेको तँ गर, मैले सकेको म गर्छु भनेछन्’ नाम उल्लेख गर्न डराएका एक स्थानीय दनुवार भन्छन्, ‘उसले जग्गा किनेर घर त बनायो ऋण तिर्न सकेन । भएको जग्गा बेच्न खोज्दा नपाएपछि ज्यान फाल्यो ।’

सानुबाबुको दाइको छोराले यस्तै चक्करमा गत वर्ष आफ्नो इहलीला समाप्त पारे । उनीहरूको जग्गा पनि शरणप्रसादको नाममा रहेछ, घर बनाउन मञ्जुरीनामा दिएनन् । उनले ऋण लिएर अर्कोतिर घर बनाएछन् । ‘ऋणमाथि ऋण भयो । अर्कोको जग्गामा बनाएको घर पछि पास भएन, शरणप्रसादले जग्गा दिएनन्’ सानुबाबु भन्छन्, ‘पछि ऊ थामिनै सकेन, ज्यान फाल्यो ।’

गाउँका ठालुको चक्करमा परेका दनुवारहरूले जग्गा फिर्ता लिन पटक–पटक घरमा धाउनेदेखि नगरपालिकामा उजुरी गर्न थालेका छन् । उनीहरू पटक–पटक शरणप्रसादलाई भेट्न पुरानो बानेश्वरस्थित उनको घरसम्म आए ।

‘बाजे अरू केही नबोल्ने, दिन्छुदिन्छु मात्रै भन्ने, खुवाउने, राख्ने मात्रै गरिरहे’ सानुबाबु भन्छन्, ‘कति बस्ने भनेर दिक्क लागेर हामी हिंड्यौं ।’ फर्किंदा बाटो खर्च समेत नभएपछि हामी रमेश खरेल (पूर्वडीआईजी) को घरमा गएर आफ्नो गुनासो सुनायौं । खरेलले उनीहरूको समस्या मिटरब्याज समितिसम्म पु¥याइदिने आश्वासन दिए, अनि बाटो खर्च दिएर पठाए ।

अनलाइनखबरसँगको प्रतिक्रियामा रमेश खरेलले भने, ‘गाउँको समस्याबारे कुराहरू आएका छन् । आफ्नै गाउँछिमेकको अन्यायबारे मैले नबोल्ने कुरा हुँदैन, तर आफ्नो समस्या समाधानका लागि तपाईंहरू सक्रिय हुनुपर्छ भनेको छु ।’

पाँचखाल–१२ खामपुरमा भोजबहादुर दनुवार अरूको सहयोग विना यताउता गर्न सक्दैनन् । नगरपालिकाले दिएको ह्विलचेयरमा बल्लतल्ल आँगन वरपर घुम्छन् । अरूले बोलेको सुन्छन्, बुझ्छन्, तर आफू बोल्न सक्दैनन् । लडेर अपांग बनेका उनकी श्रीमतीको पनि निधन भयो ।

पाँचखाल–१२ खामपुरमा अपांग भोजबहादुर दनुवार । उनको जग्गा पनि शरणप्रसाद आचार्यले आफ्नो नाममा हत्याएको स्थानीयहरुको आरोप छ । २ आना जग्गामा बनेको घरमा उनी छोरा शंकरको साथमा बसेका छन् ।

अहिले जेठा छोरा शंकरको हेरचाहमा चलिरहेका उनी दुई आना घरमा जसोतसो बसेका छन् । नगरपालिकाबाट मालपोतको अभिलेख हेर्दा उनको जग्गा शरणप्रसादको नाममा गइसकेको छ । भएको उनको सम्पत्ति माइला (नाम थाहा नभएको) भन्ने अर्का छोराले भूकम्पपछि घर बनाउन जग्गा खोज्ने क्रममा केही नभेटेपछि एकाएक आफैंलाई सिध्याउने बाटो रोजे ।

‘बाटोको छेउछाउमा उहाँहरूको धेरै जग्गा–जमिन थियो, भूकम्पपछि घर बनाउन खोज्दा कतै पनि फेला परेन, उहाँहरूको सबै जग्गा अड्डामा खोज्दा शरणप्रसाद र छोराहरूको नाममा भेटियो’ पाँचखाल नगरपालिकाको पूर्व उपमेयर लक्ष्मी दनुवार भन्छिन्, ‘अपांगलाई घर बनाउन सहयोग गरौं भन्दा कतै पनि जग्गा भेटिएन । बल्लबल्ल दुई आना जग्गा फेला परेपछि त्यसैमा घर बनाउनुभएको छ ।’

पाँचखाल–१२ थामपुरकी राधा दनुवारका श्रीमान्ले भूकम्पपछि वैदेशिक रोजगारमा जाने क्रममा शरणप्रसादसँग ऋण लिएका रहेछन् । उनलाई ऋण लिएको मिति थाहा छैन, ३ लाख लिएको थाहा छ । ऋणको कुनै कागज नगरी त्यतिबेला शरणप्रसादले सोझै जग्गा पास गरेर लिएको राधा बताउँछिन् ।

काभ्रे पाँचखाल थामपुरका राधा दनुवार(खालीखुट्टा बसेकी) र काली दनुवार(नीलो चप्पल लगाएकी) । ऋण दिएर झुक्यानमा पारी आफ्नो जग्गा शरणप्रसाद आचार्यले खाइदिएको उनीहरुको आरोप छ ।

राधाका श्रीमान् बिरामी भएपछि एकाएक नेपाल फर्किए । पित्तथैलीको अपरेशनपछि चार महिना बिरामी भएर बिते । राधाले माइतीको समेत सहयोगमा ३ लाखको ६ लाख ३५ हजार रुपैयाँ चुक्ता गरिसकिन् ।

‘हिसाबकिताब टुंगिएको पनि छैन, ऋण अझै बाँकी छ रे’ राधा भन्छिन्, ‘१२ आना जग्गा अहिले पनि हामीले कमाइरहेका छौं । उनले अर्कैलाई बेचिसके रे !’

सम्बन्ध र व्यवहारमा अप्ठेरो पर्ला भनेर उनी जस्ता धेरै पीडित अझै पनि चुपचाप बसिरहेका छन् ।

सल्किंदै भुसको आगो

अर्की पीडित पुतली दनुवारले ८ वर्षअघि जग्गा बन्धकी राखेर ३ लाख रुपैयाँ ऋण लिएकी रहिछन् । उनीहरूको परिवारले पटक–पटक गरेर साढे ५ लाख बुझाए । उनी अहिले भक्तपुर क्यान्सर अस्पतालमा रोगसँग संघर्ष गर्दैछिन्, ज्वार्इं गोपाल दनुवार ससुरालीको जग्गा फिर्ता लिन शरणप्रसादसँग लडिरहेका छन् ।

पाँचखालमा कृषि फार्म सञ्चालन गर्ने नवराज सेढाईका अनुसार, विपन्न दनुवार समुदायको जीवनस्तर निकै कठिनाइयुक्त छ । थोरै जग्गामा घर बनाएका उनीहरू गुजमुज्ज बस्तीमा बसेका हुन्छन् । पाँचखाल उपत्यकामा ६÷७ वटा दनुवार बस्तीमा करिब १६ सय घरपरिवार छन् । ८÷९ वटामध्ये हरेक टोलमा कोही न कोही पीडित छन् ।

दनुवारहरूले अहिले पनि करिब करिब हलियाकै अवस्थामा जीवन निर्वाह गरिरहेको उनी बताउँछन् । धानब्याज, गहुँब्याज भनेर दनुवारहरूलाई निकै सस्तो मूल्यमा श्रम लगाउने परिपाटी रहेको भन्दै उनले त्यसक्रममा सोझा दनुवारहरूको जग्गा कब्जा भएको बताउँछन् ।

काभ्रे पाँचखाल तीनघरेको दनुवारबस्ती । यो बस्तीका दनुवारहरुको २३ कित्ता जग्गा शरणप्रसाद आचार्यले आफ्नो नाममा सारेका छन् ।

त्यतिबेला गाउँका दनुवारहरू सीमित ठूलाठालु र पहुँच भएकाहरूसँग निर्भर थिए । सरकारी कार्यालयमा जानुपर्दा उनीहरूकै सहयोग लिन्थे । सेढाई भन्छन्, ‘प्रजातन्त्र पुनस्र्थापना भएको बेलामा, सरकारी अड्डाअदालतहरू पञ्चायती व्यवस्थाबाट आफ्नो प्रभावमा आएको बेलामा गाउँका जिमीदारहरूबाट यो बदमासी भएको हुनुपर्छ ।’

आफ्नो सम्पत्ति ठगिएको लामो समयसम्म पनि दनुवारहरू बोल्न सकेनन् । जग्गा अर्कैको नाममा पास भएपछि अर्को बास नभएकाले उनीहरू त्यहीं बसे । सोमबार दनुवार बस्तीमा पुग्दा केही बुढापाकाहरूले ‘तपाईंहरू शरणप्रसादले पठाएर आएको मान्छे हो ?’ भन्दै सोधखोज गरे । कतिपयले आफू पीडित भए पनि ‘बाजेसँगको सम्बन्ध बिग्रन्छ’ भन्दै बोल्न चाहेनन् ।

अहिले शरणप्रसाद र उनका छोराहरूले उठीबास लगाउने त्रासका कारण पनि बाहिर आउन र बोल्न नचाहेको पूर्वउपमेयर लक्ष्मी दनुवार बताउँछिन् । उनी भन्छिन्, ‘उहाँहरू हाम्रो समस्या हेरिदिनुप¥यो भन्नुहुन्छ । बाहिर आउनुस्, निवेदन दिनुहोस् भन्दा भोलि शरणप्रसादहरूले दुःख देलान् भनेर डराउनुहुन्छ ।’

तीनघरे बस्तीका दनुवारहरु ।

पाँचखाल नगरपालिकाका वर्तमान र पूर्व पदाधिकारी एवं स्थानीय जानकारहरूका अनुसार, शरणप्रसाद आचार्य र उनको परिवारले कति दनुवार समुदायको घरजग्गा आफ्नो नाममा लिएका छन् भन्ने कुनै लेखाजोखा र हिसाबकिताबै छैन ।

पाँचखाल नगरपालिकाका मेयर महेश खरेल पीडितहरू सयौंको संख्यामा रहेको बताउँछन् । उनी भन्छन्, ‘माइन्यूट बुकमा लेखेर ऋण दिएको र पछि त्यसैका आधारमा जग्गा लिएको देखिन्छ । यो समस्या समाधान नहुने हो भने सयभन्दा बढी दनुवार परिवार विस्थापित हुन्छन् ।

उनका अनुसार, पाँचखालको १० र १२ वडामा यस्ता समस्या धेरै छन् । ‘कुनै कागज नदिएर माइन्युट बुकमा हिसाब राख्ने, अनि ब्याज तथा सावाँ फिर्ता दिएको कुनै कागज भेटिएन, टोल–टोलका सयौंको जग्गा यसरी गइरहेको छ’ उनी भन्छन्, ‘गुनासाहरू आउन थालेपछि नगरपालिकाले निवेदन दिन सार्वजनिक आह्वान गरेको छ ।’

जग्गा बकसपत्र गरेर लिएको भेटिएको भन्दै उनले कतिपय पीडितहरूले पैसा पनि नपाएको बताए । मेयर खरेलका अनुसार, स्थानीय वासु खकुरेल भन्ने व्यक्तिले पनि ५० हजार रुपैयाँ दिएर ५ रोपनी जग्गा बकसपत्र गरेर लिएको उजुरी आएको छ । ‘त्यो जग्गा दिन्छु भनेर पटक–पटक झुलाइरहनुभएको रहेछ’ खरेल भन्छन्, ‘फिर्ता भएको छैन । उहाँहरू लगायत अरू कसैले पनि यस्तो काम गरेको भए नगरपालिकाले त्यसलाई गम्भीर रूपमा लिन्छ ।’

पाँचखाल नगरपालिकाका मेयर महेश खरेल ।

पाँचखालका मेयर खरेलका अनुसार, अघिल्लो कार्यकालदेखि अहिलेसम्म पनि निवेदन आइरहेकाले कम्तीमा पनि सयदेखि डेढ सय परिवार पीडितहरू न्यायको पर्खाइमा छन् । उनी भन्छन्, ‘चुपचाप बसेकाहरू अरु कैयौं छन्, यिनीहरूले न्याय पाए उनीहरू पनि आउनेछन् । हामीले निवेदन हेरेर आवश्यक परे जग्गा रोक्का गरिदिएका छौं ।’

भूमि व्यवस्था तथा अभिलेख विभागका पूर्वमहानिर्देशक पदमनिधि सोती सम्बन्धित जग्गाधनी सशरीर उपस्थित भएर अड्डा–अदालतमा मञ्जुरी दिएको अवस्थामा बाहेक कुनै पनि व्यक्तिको जग्गा अर्काको नाममा हस्तान्तरण हुनै नसक्ने बताउँछन् ।

‘अंशबण्डा होस् या बकसपत्र, त्यसमा जग्गा दिनेको उपस्थिति अनिवार्य नै हुन्छ, तपाईंको मञ्जुरी हो कि होइन भनेर मालपोतमा सोधखोज गरिन्छ । जग्गा बेच्दा पनि यही कुरा लागू हुन्छ’ उनी भन्छन्, ‘कसैले बाहिर नै करकापमा पारेर, झुक्याएर, धम्क्याएर मालपोतमा उपस्थित गराए त अलग विषय, नत्र करकापमा पारेको थाहा भएसम्म कर्मचारीले त्यस्तो जग्गा हस्तान्तरणको निर्णय गर्न मिल्दैन ।’

झुक्याएर बकसपत्र गरेको भए आपसी समझदारीमा वा अदालतबाट मात्रै बदर हुनसक्ने उनी बताउँछन् । ‘त्यस्तो अवस्थामा कि त सम्बन्धित व्यक्तिहरूबीचको सहमतिले बकसपत्र बदर हुनसक्छ, अर्को उपाय भनेको अदालत हो’ उनी भन्छन्, ‘मुद्दाको रोहमा आदेश आएमा भने मालपोत कार्यालयले सम्बन्धित जग्गाधनीको उपस्थिति विना पनि निर्णय गर्न सक्छ, त्यसबाहेकको अवस्थामा मिल्दैन ।’

स्थानीय नवराज सेढाई मुलुकमा विकसित केही घटनाले पाँचखालका दनुवार समुदायमा आत्मविश्वास बढेको बताउँछन् । एकातिर सरकारले मिटरब्याजीमाथि निर्ममतापूर्वक कानुनी कारबाही थाल्यो भने अर्कोतर्फ न्यायिक आयोग गठन भयो । यो बेलामा पनि बोल्न नसके हामीलाई कसैले न्याय दिंदैन भन्ने महसुस बढेको सेढाई बताउँछन् ।

काभ्रे पाँचखालका नवराज सेढाई । उनी भन्छन्, ‘दनुवार समुदायलाई झुक्याएर जग्गा नामसारी गरिएको हो ।’

‘अति नै भएपछि जसले पनि निकास खोज्छ, पछिल्ला ३/४ वर्षमा दनुवारहरू जागेका छन्’ सेढाई भन्छन्, ‘जुन समुदायको आडमा राजनीति गरे, तिनै समाजका मान्छे मर्ने अवस्था हुँदासम्म पनि तिनीहरूको कानमा बतास लागेको छैन । अब पनि जबर्जस्ती गर्ने हो भने कानुनी उपचारमा जानुपर्छ ।’

को हुन् शरणप्रसाद ?

पाँचखाल–१२ का वडाध्यक्ष ज्ञानबहादुर दनुवारका अनुसार, प्रशस्त जग्गा–जमिन भएका शरणप्रसाद पञ्चायतकालदेखि राजनीतिमा सक्रिय थिए । स्थानीयहरूलाई ऋण दिने र छिटपुट रूपमा जग्गा लेनदेन गर्ने बाहेक उनको कुनै व्यवसाय छैन ।

सबैको जग्गा आफ्नो नाममा सार्दा हदबन्दीभन्दा बढी हुने भएपछि शरणप्रसादले सबै छोराहरूको अंशबण्डा गरिदिइसकेका छन् भने नाबालक हुँदादेखि नै जग्गा छोराहरूको नाममा बकस गरेर लिएका छन् । तर उनीहरू अहिले पनि सगोलमा बस्ने गरेको वडाध्यक्ष दनुवार बताउँछन् ।

शरणप्रसादका तीन छोरामध्ये जेठा राममणि आचार्य बाबुकै काममा सक्रिय रहेको स्थानीयहरू बताउँछन् । माइला सुन्दरमणि आचार्य विद्यार्थीकालदेखि नै नेपाली कांग्रेसको जिल्लास्तरीय राजनीतिमा सक्रिय छन् ।

आफ्ना तीन छोराहरुको साथमा शरणप्रसाद आचार्य (दौरासुरुवाल र टोपीमा) ।

२०७४ सालको प्रदेशसभा निर्वाचनमा उनी नेपाली कांग्रेसका उम्मेदवार थिए । पछिल्लो पटक उनी क्षेत्रीय सभापतिमा पराजित भएका थिए । पीडितहरूले बाबुसँगको व्यवहारबारे गुनासो गर्दा उनले आफूलाई केही थाहा नभएको बताउने गरेका छन् ।

शरणप्रसादका कान्छा छोरा चन्द्रमणि आचार्य एक वाणिज्य बैंकबाट हालै जागिर छाडेर बसेका छन् । उनले बाबुकै घरव्यवहार सम्हालेको जानकारहरू बताउँछन् । अनलाइनखबरसँग सम्पर्कमा आएका उनले आफ्नो बाबुले कुनै गलत काम नगरेको जिकिर गरे ।

‘बुबाले पैसा तिरेर नै जग्गा किन्नुभएको हो, कतिपयको लेनदेन सल्टाउनुभएको हो’ उनी भन्छन्, ‘किर्ते काम गरेर, झुक्याएर जग्गा हात पार्नुभएको भन्ने आरोप झुटो हो । उहाँले र हामीले समेत कुनै छलछाम गरेका छैनौं ।’

तर, सयौं दनुवारहरूका जग्गा–जमिन कसरी आचार्य परिवारका नाममा हुन पुगे भन्ने प्रश्नमा भने उनीसँग कुनै स्पष्ट जवाफ छैन ।

तस्वीर एवं भिडियो : आर्यन धिमाल

 

कभर स्टोरी
लेखकको बारेमा
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?