
२६ असोज, काठमाडौं । ४५ वर्षदेखि रोकिएको पचली भैरवको लिङ्गो ठड्याउने जात्रा यस वर्ष हुने भएको छ । जात्राका लागि शुक्रबार साँखुमाथिको जङ्गलबाट लिङ्गोका लागि रुख काटेर ल्याइएको पचली भैरवका गुठियार कुमार रञ्जितकारले जानकारी दिए ।
आश्विन शुक्ल चौँथीका दिन दसैँ आउन लागेको जानकारी दिन लिङ्गो ठड्याउने परम्परा मल्लकालदेखि सुरु भएको हो । लिङ्गो उठाउने साइत भने शनिबार गुरुजुले निकाल्ने छन् ।
शुक्रबार रातिसम्म लिङ्गो टेकु पुर्याइने भएको छ । आश्विन शुक्ल चौँथीका दिन लिङ्गो उठाएपछि टेकुबाट सुरु गरी ब्रह्मटोल, ज्याबहाल, जैसीदेवल, लगन हुँदै हनुमानढोका दरबार क्षेत्रसम्म जात्रा हुने परम्परा छ । यी क्षेत्रमा आश्विन शुक्ल अष्टमीसम्म जात्रा गर्ने प्राचीनकालदेखिको परम्परा छ ।
अष्टमीका दिन दसैँको विशेष रौनक सुरु हुँदा लिङ्गो ढालिन्छ । मल्लराजा जयराम मल्लले जात्राको सुरुआत गरेको विश्वास गरिन्छ । उनलाई थकु जुजु भनी यो जात्राका क्रममा पूजा गर्ने गरिएको छ ।
श्री पचली भैरव आजु यो सिं गुठीले यो जात्राको व्यवस्थापन गर्दै आएको छ । गुठीका थकाली आठ दशक पार गरिसकेका वृद्ध भएकाले युवाको नेतृत्वमा साढे चार दशकपछि यो जात्रालाई पुनःस्थापना गर्न लागिएको जनाइएको छ ।
प्रतिक्रिया 4