+
+
पुस्तक समीक्षा :

द्रौपदी अवशेष : हुम्लाको दर्पण

उपन्यासमा ‘कस्तो पनि लाग्दोइन, दिदी आफू भन्दोइन, कसरी सक्न्या त्यो ज्यानले, कर्णालीले बगाई लान्या होइन हम्रा दुःख’ जस्ता शीर्षकले त्यहाँको लवजको सम्मान गरेका छन् । मन बोलेका छन् । विरह पोखेका छन् ।

रमेशकुमार अधिकारी रमेशकुमार अधिकारी
२०८० असोज २९ गते १२:५९

नीलम कार्की निहारिकाको उपन्यास ‘द्रौपदी अवशेष’का पानाहरू पल्टाउँदै जाँदा भौगोलिक यथार्थता र जीवनयापनका अपरिचित आयामहरूसँग साक्षात्कार भएको महसुस हुन्छ ।

उपन्यासको भाषाशैली सलल बगेको छ । टमाटरमा आलो टिमुर मिसाएर पिंध्दा चटनीको वासना र स्वाद उघ्रे जस्तै स्थानीय बोलचालका लवजको मिश्रणले उपन्यास पढ्न रसिलो छ ।

आरम्भ शीर्षकबाट उपन्यास सुरु हुन्छ तर त्यसमा उत्तरार्धको बयान छ । त्यसैले उपन्यासमा अब के हुन्छ ? को जिज्ञासा सुरुमै पैदा हुन्छ । पढिनसक्दासम्म प्रबल भइरहन्छ । अनुच्छेदउपर आँखाहरू अविश्राम दौडिरहन्छन् ।

दिग्विजय नामका पात्र हुम्ला जिल्लाको उत्तरी भेगमा सुधारिएको चुलो कार्यक्रमको संयोजक बनेर वैशाख महिनामा पुग्छन् । उनी काठमाडौंबाट गएका हुन्छन् । पहिलो पटक सुधारिएको चुलो कार्यक्रम लिएर हाकिम गाउँमा आउँदा स्थानीय जनता प्रसन्न हुन्छन् । उनलाई गाउँका मुखिया तथा घरमुलीहरूको सहयोग सहज रूपमा प्राप्त हुन थाल्दछ ।

दिग्विजयलाई सिमकोटबाट पैदल हिंडेर गन्तव्यमा पुग्दासम्म बाटोमा देखिएका दृश्य, भेटिएका मानिस र अनुभव गरिएको जीवनचर्याबाट आफ्नो मुकाम हुने गाउँमा बस्दाको खानपिन, बसउठ र जिम्मेवारी सम्पादनको मोटामोटी अन्दाज भइसकेको हुन्छ । उनले आफ्नो दैनिकीमा आवश्यकता परिपूर्तिको न्यूनताभन्दा पनि रोमाञ्चको मनोविज्ञानबाट सामुन्नेमा जे उपलब्ध छ, त्यसैमा रमाउने बानी बसाउँदै जान्छन् ।

दिग्विजय सिमकोटबाट गन्तव्यतर्फ जाँदै गर्दा बाटोमा भेटिएका ग्याल्जन नै उनको घनिष्ठ साथी हुन्छन् । हुनत गाउँका मुखिया र सहयोगी कर्मचारी वाङ्दीको साथ दिग्विजयलाई मिल्छ । तथापि ग्याल्जनसँगको दोस्ती गहिरो र आत्मीय हुन्छ । खुलस्त सहयोगी स्वभावका ग्याल्जनबाटै रहनसहन सिक्छन् । स्थानीय बासिन्दासँगको सम्बन्ध पि्रय बनाउँछन् । र, उद्देश्यका धेरै पाटाहरूमा सफलता प्राप्त गर्दै जान्छन् ।

दिग्विजयको मुकाम रहने गाउँ ढुङ्गे पहाडको काखमा छ । घरहरू ढुङ्गाको गारोबाट बनेका छन् । घरका छाना ढुङ्गाकै छन् । घरका आँगन पनि ढुङ्गाले छापेका छन् । उनी बस्ने घर तीन तलाको छ । त्यहाँको बसाइमा उनले नितान्त नौलो परिवेश महसुस गर्छन् ।

स्थानीय समाजमा स्थापित विश्वास अनुसार तीनतले घरको सबैभन्दा माथिल्लो तलालाई तेडला भनिन्छ । स्वर्गलोकको मर्यादा यस तलालाई प्राप्त हुन्छ । यहाँ पूजाकोठा हुन्छ । बीचको तलालाई पारचन भनिन्छ । यो मनुष्यलोक हो । यो तलामा भान्सा, भण्डार र स-साना सुत्ने कोठाहरू हुन्छन् । तल्लो तलालाई लु भनिन्छ । यो तलालाई यमलोकको दर्जा प्राप्त छ । नागपूजा गर्ने ठाउँ र चौंरी गोठको प्रयोग यस तलामा गरिन्छ । एक तलाबाट अर्को तलामा उक्लन/ओर्लन काठको लिस्नो (भर्‍याङ) हुन्छ । दिग्विजयले यो जानकारी सुरुमै पाउँछन् र अभ्यस्त हुँदै जान्छन् ।

दिग्विजय बस्ने घरसँग हर जोडिएको अर्को घर छ । त्यस घरकी बुहारी हुन् पेमा । दिग्विजय गाउँ पुगेको सातादिनसम्म पेमाकै घरमा उनले खाना खान्छन् । पेमाको घर होटल त होइन तर कहिलेकाहीं बाहिरका मानिसलाई त्यहाँ खाना खुवाउने गरिन्छ । पेमाले टक्र्याएको चिया र सातुको ब्रेकपास्ट, कोदाको थुक्पाको लन्च र फापर वा कोदाको रोटीको डिनरबाट दिग्विजयको दैनिक भोजन प्रणाली चल्दै जान्छ । सात दिनपछि दिग्विजय आफू बसेकै घरमा खाना खान थाल्छन् ।

उपन्यासमा पेमा एक यस्ती पात्र हुन् जसको जीवनचर्याले दिग्विजयलाई त्यहाँको परिवेश बुझ्न सहज हुन्छ । लामो समय त गफिंदैनन् पेमासँग तर उनको दैनिकी देखेर दिग्विजयलाई धेरै सन्दर्भको व्यावहारिक पक्षलाई बुझ्न सहज हुन्छ । दिग्विजयको बानीव्यहोरा देखेर पेमा पनि प्रभावित हुन्छिन् । पछि दिग्विजय गाउँबाट विदा हुँदा केही उपहार पनि दिएकी हुन्छिन् ।

दिग्विजय नितान्त नयाँ ठाउँमा छन् । भाषा छिचोल्न र अर्थ बुझ्न गाह्रो छ । तापनि ग्याल्जनको संगतले सिक्दै जान्छन् । बानी पर्दै जान्छन् । हुम्लाको उत्तरी सीमा क्षेत्रमा जीवित रहेको बहुपति प्रथा (पोलियाण्ड्री) को बारेमा यथार्थ जानकारी प्राप्त गर्ने दिग्विजयको ‘हिडन इन्ट्रेष्ट’ हुन्छ । परियोजनाका काम पनि र उक्त प्रथाको जानकारी पनि हासिल गर्दै जाने दिग्विजयको रणनीति हुन्छ । यो मेसोमा ग्याल्जन दिग्विजयको दाहिनेहात हुन्छन् ।

हुम्लामा पाइला नटेकेका पाठकलाई हुम्लाको भूगोल, समाज, जनजीवन, संस्कार, भाषा, भेषभूषा, खानपान, संस्कृति, सभ्यता आदिमा साक्षात्कार गर्न सक्ने सुविधा यस उपन्यासले दिएको छ । पङ्क्तिकारको मूल्याङ्कनमा ‘द्रौपदी अवशेष’ हुम्ला देख्ने दर्पण हो

उता ग्याल्जन र पेमा बीच पनि प्रेमको सुषुप्त साइनो छ । पेमा विवाहित नारी हुन् । बहुपतिका साथ उनी पारिवारिक जीवन बाँचिरहेकी छिन् । तर ग्याल्जन उनैप्रति आकर्षित छन् । सायद पेमाको विवाह अघि उनीहरूका बीचमा माया-प्रेम गाढा थियो । पेमाको विवाह पछि पनि ग्याल्जन टाढिन सक्दैनन् । पेमाको ग्याल्जनप्रति कस्तो भाव छ, त्यो त उनको मनभित्रै होला । तर ग्याल्जन भने दिग्विजयसँग कुरा गर्दा पेमाको सन्दर्भ नजोडेर बिट नै मार्दैनन् ।

उपन्यासको कथावस्तु दिग्विजय, ग्याल्जन र पेमाकै वरिपरि घुमिरहन्छ । वाङ्दी पनि दृश्यमा त छन् तर उनको भूमिका कम देखा पर्छ । समयक्रममा दिग्विजय आसपासका गाउँ घुम्छन् । मानसरोवर निकटको गाउँमा पनि पुग्छन् । गाउँमा आयोजित विवाह समारोहमा सम्मिलित हुने मौका पाउँछन् । यी अवसरहरूले उनलाई व्यावहारिक रूपमा परिवेशलाई आत्मसात् गर्न सघाउ पुग्छ । सुधारिएको चुलो परियोजनाको आकर्षण र उनको मिलनसार व्यवहारले गाउँमा सबैसँग उनको सम्बन्ध पि्रय हुन्छ । यही स्वभावले आफ्ना जिज्ञासा उपरका उत्तरहरू उनले सहजै प्राप्त गर्दै जान्छन् । रहस्यमय ठानिएका सूचनाहरू प्राप्त गर्न सफल हुन्छन् ।

उब्जाउ जमिनको कमि र अन्न उत्पादन थोरै हुने अवस्थाले धेरै जनसंख्या धान्न सकिंदैन भन्ने पूर्वजदेखिको मान्यताले गर्दा बहुपति प्रथा कायम रहँदै आएको यथार्थतालाई उपन्यासले उजागर गरेको छ । उपन्यास पढ्दा बहुपति प्रथाको व्यवस्थापन विधि र प्रक्रिया स्पष्ट हुन्छ । प्रथा आफैंमा जटिल छ र सर्वप्रिय छैन, अपितु यसको व्यवस्थापकीय पाटो ‘सिस्टमेटिक र साइन्टिफिक’ बनाएको भन्नुपर्ने स्थिति पैदा हुन्छ ।

टाढाबाट हेर्दा सडक यातायातको पहुँच नहुनु, बिजुली बत्ती, अन्न उब्जनी पर्याप्त नहुनु, अस्पतालको सुविधा नहुनु, बालबालिकाले पढ्न नपाउनु जस्ता आधारभूत कारणले कर्णालीको जीवन कष्टकर छ भन्ने अनुमान गरिन्छ । सिमकोटदेखि हुम्लाको उत्तरी भेगमा जाँदा र र्फकंदा दिग्विजयले फरक फरक रुट प्रयोग गरेका हुन्छन् । सो पैदल यात्रामा उनले अनुभव गरेको अवस्थाको वर्णनले उक्त अनुमानलाई सत्य सावित गर्दछ ।

तर कर्णालीको सकारात्मक पाटो पनि छ । त्यो भनेको यहाँ स्वच्छ हावा छ । खनिजयुक्त पानी छ । जडीबुटी छ । पौरख छ । इमानदारी छ । मौलिक संस्कार छ । व्यावसायिक सीप छ । घोडा र चौंरी परिवहनका साधन छन् । आफ्नै मौलिक सभ्यता छ । यी पक्षमा उपन्यासले चर्चा गर्दछ र हुम्लाको सुदूर उत्तरी क्षेत्रको जीवन चल्नुको रहस्य स्पष्ट पार्दछ ।

तिब्बततर्फको भेगलाई जडान र नेपालतर्फको क्षेत्रलाई खसान भन्ने जानकारी उपन्यासमा उल्लेख छ । जडानमा ऊन र नुन तथा खसानमा अन्नबाली, सागसब्जी तथा काठपातको उत्पादनका कारण वस्तु विनिमयको विधिबाट दुवै क्षेत्रको जीवन चलेको उपन्यासले प्रस्ट्याउँछ ।

हिउँदमा औलो र बर्खामा लेकको तालिकामा उत्तरी भेगका हुम्लीहरू बाचेको कथा उपन्यासले बोलेको छ ।

उपन्यासमा ‘कस्तो पनि लाग्दोइन, दिदी आफू भन्दोइन, कसरी सक्न्या त्यो ज्यानले, कर्णालीले बगाई लान्या होइन हम्रा दुःख’ जस्ता प्रयोगले त्यहाँको लवजको सम्मान गरेका छन् । मन बोलेका छन् । विरह पोखेका छन् । उपन्यासका पेटबोलीमा यस्ता लवजहरू प्रशस्त छन् । यिनले उपन्यासलाई मगमगाउने बनाएका छन् ।

उपन्यास पढ्दा सरकारले कम्तीमा गतिलो सडक मात्र बनाइदिए बाँकी कुरा त स्थानीय बासिन्दाले स्वयं गर्ने थिए भन्ने मनोभाव पैदा हुन्छ

दिग्विजय गाउँबाट फर्किने समय आउँदै गर्दा उनलाई पेमाले ‘मलाई पनि साथै लैजा है’ भन्छिन् । तर दुईवटा चौंरीमा सामान बोकाएर ग्याल्जनका साथ दिग्विजय सिमकोट र्फकन्छन् । आश्चर्यको कुरा बाटोको कुनै विन्दुमा पेमा पनि सिमकोट तर्फ हिंडेकी भेटिन्छन् । बाँकी कुरा उपन्यास पढ्दा नै रहस्य खुल्ला र आनन्द महसुस होला ।

महाभारतकालीन समयमा द्रौपदीका पाँच पति भएको कथा अहिले पनि पढिन्छ, सुनिन्छ । नेपाली समाजमा सो प्रथाको अवशेष जीवित छ भनेर त्यसको यथार्थ स्वरूप बताउने लिखित आधार भएको छ उपन्यास ‘द्रौपदी अवशेष’ ।

उपन्यासमा राष्ट्रियस्तरमा परिचित व्यक्तित्व छक्कबहादुर लामाको मन्तव्य समावेश छ । उहाँ सोही समाजका सदस्य एवं अध्ययनशील राजनीतिक अगुवा हुनुहुन्छ । उहाँको मन्तव्य समावेश गर्दा उपन्यास यथार्थ र आधिकारिक हुने विश्वास भएर नै उपन्यासकारले सो मन्तव्यलाई उपन्यासको अङ्ग बनाएको कार्य उचित लाग्दछ ।

उपन्यासले सरकार समुदायमा नपुगेरै हुम्लाको उत्तरी भेगका जनता बाँचेको तस्वीर देखाउँछ ।

बहुपति प्रथाको मर्मसँग सरकार अनभिज्ञ रहँदा सरकारले बनाएका कानुन कसरी पीडादायी भएका छन् भन्ने कुरा छक्कबहादुर लामाको मन्तव्यबाट स्पष्ट हुन्छ । उहाँ लेख्नुहुन्छ- ‘राज्यले उत्पादनको स्वरूपले त्यसको सामाजिक र सांस्कृतिक पक्षमा प्रभाव पार्ने कुरा बुझिदिने गरेको छैन । सामाजिक र सांस्कृतिक परिवर्तनबारे ऐननियम निर्माण गर्नुअघि त्यससँग सम्बन्धित उत्पादनको स्वरूपमा परिवर्तन ल्याएर मात्र निर्माण गर्नुपर्नेमा त्यसको ख्यालै नगरी, एकैचोटि सोलोडोलो रूपमा वर्तमान फौजदारी संहिताद्वारा बहुविवाहमा प्रतिबन्ध लगाउने ऐन बनाउँदा दुर्गम जिल्ला हुम्लाको उत्तरी भेग जस्तो ठाउँका बासिन्दा (जो, राज्य सत्ताको पहुँच र राष्ट्रको मूलधार भन्दा बाहिर छ) लाई अति मर्का परेको देखिन्छ ।’

उहाँले मन्तव्य मार्फत स्पष्ट पार्नुभएको छ कि बहुपति प्रथाले भाइअंशलाई प्रोत्साहन गर्दैन । फलस्वरूप दाजुभाइहरूका बीच सगोलका जग्गा-जमिनहरू पुस्तैपिच्छे जेठो दाइ एक जनाको नाममा मात्र नामसारी हुन्छ । यो परम्पराको मर्म उपर सरकार व्यावहारिक नभइदिंदा भूमि सम्बन्धी कानुनले ती जग्गाहरू हदबन्दीमा पर्न गएका छन् र स्थानीय जनतालाई मर्का पर्न गएको छ ।

चामल नदेऊ, बाटो देऊ, बीउ देऊ, सिंचाइ देऊ भन्ने हुम्लीको अन्तरमनको पुकारलाई साझा सवाल मार्फत सुनेकी लेखिका नीलमले उपन्यासको अन्त्यमा ‘म आएँ’ खण्डमा उपन्यास लेखनको प्रेरणाको श्रोतको रूपमा सो प्रसंगलाई सम्झनुभएको छ । उपन्यास पढ्दा सरकारले कम्तीमा गतिलो सडक मात्र बनाइदिए बाँकी कुरा त स्थानीय बासिन्दाले स्वयं गर्ने थिए भन्ने मनोभाव पैदा हुन्छ ।

उपन्यास विधामा नीलम कार्की निहारिकालाई सम्मानित उचाइ प्राप्त भएको छ । ‘अर्की आइमाई’ उपन्यासले संवत् २०७० मा सर्वोत्कृष्ट डायस्पोरिक महिला लेखकको सम्मान उहाँलाई दिलायो । ‘चीरहरण’ उपन्यासमा उहाँले पद्मश्री साहित्य पुरस्कार (२०७२) पाउनुभयो । ‘योगमाया’ उपन्यासका लागि मदन पुरस्कार (२०७४) बाट उहाँ सम्मानित हुनुभएको छ ।

नेपाली डायस्पोराबाट मातृभूमिको साहित्य-सेवामा निरन्तर लागिरहनुभएकी सशक्त हस्ताक्षर नीलम कार्की निहारिकाको ‘द्रौपदी अवशेष’ अर्को एक वजनदार गहकिलो उपन्यास हो । नेपाली साहित्यको कद बढाउने कृति हो । साथै यो एक ऐतिहासिक दस्तावेज हो ।

हुम्लामा पाइला नटेकेका पाठकलाई हुम्लाको भूगोल, समाज, जनजीवन, संस्कार, भाषा, भेषभूषा, खानपान, संस्कृति, सभ्यता आदिमा साक्षात्कार गर्न सक्ने सुविधा यस उपन्यासले दिएको छ । पङ्क्तिकारको मूल्याङ्कनमा ‘द्रौपदी अवशेष’ हुम्ला देख्ने दर्पण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?