+
+

रेखा भन्छिन्- उपहारमा रुद्रप्रिया र मालिकाको गल्ती सच्याउने प्रयास गरेका छौं

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २९ गते १३:३८

काठमाडौं । छायांकनको ४७ दिनमा रेखा थापा स्टारर ‘उपहार : लाइफ टु जर्नी’ इण्ड-क्ल्याप भएको छ । घण्टाघरको अन्तिम दृश्य खिच्दै निर्देशक ज्ञानेन्द्र देउजाले फिल्मको छायांकन टुंग्याए ।

छायांकनलाई लिएर आफूहरु सन्तुष्ट रहेको निर्देशक देउजा र निर्मात्री तथा अभिनेत्री थापाले अनलाइनखबरलाई बताइन्  । रेखाले ‘उपहार’लाई ज्ञानेन्द्र देउजासँग काम गरेका आठमध्येकै उत्कृष्ट फिल्म भएको बताइन् ।

‘यसलाई अजम्बरी नातादेखि यताकै उत्कृष्ट फिल्म भन्छु । मेकिङ र कन्टेन्टको कुरामा धेरै राम्रो बनेको छ,’ रेखाले भनिन्, ‘अघिल्ला फिल्म रुद्रप्रिया र मालिकामा जुन समस्या देखियो, त्यसलाई परिपूर्ति गर्ने काम उपहारमा भएको छ ।’

‘रुद्रप्रिया’ र ‘मालिका’मा इस्यु हाबी हुँदा समस्या आएको महसुस आफूले गरेको रेखाको कथन छ । ‘ती फिल्ममा मेकिङसहितका केही कुरा मिस भएको थिए । उपहारमा ती मिस्टेकलाई सच्याउने प्रयास भएको छ,’ उनले भनिन् ।

उनी अगाडि भन्छिन्, ‘हामीले सानैदेखि हेरेका फिल्ममा आत्मा हुन्थ्यो । तर रुद्रप्रिया र मालिकामा आत्मा भेटेको थिइनँ । उपहार आत्मा बोकेको फिल्म भन्नलायक बनेको छ ।’

आगामी दशैंको कोजागत पूर्णिमामा ‘उपहार’को पहिलो गीत सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गर्ने रेखाको तयारी छ । ‘उपहार’को रिलिज मिति चाहिं घोषणा भइसकेको छैन । यसै वर्षभित्र प्रदर्शन घोषणा गर्ने तयारी रहेको रेखाले बताइन् । ‘आज वितरकसँग मिटिङ छ । पूर्णिमामा आउने गीतसँगै रिलिज डेट घोषणा हुन्छ,’ रेखाले भनिन् ।

निर्देशक देउजाले दर्शकले मन पराउनेमा विश्वस्त रहेको बताए । ‘म सन्तुष्ट छु । दर्शक सन्तुष्ट हुन्छन् भन्ने लागेको छ,’ उनले भने । उनले पनि अहिलेसम्म रिलिज मिति तय नभएको जानकारी दिए । ‘मिडियामा रिलिज मितिबारे आएका कुरामा छलफल भएको हो तर निधो भइसकेको छैन,’ उनले भने ।

फिल्ममा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, समर्पणजंग कार्की लगायतको मुख्य भूमिका छ । यसबाहेक रेखाले सन्तानलाई जन्म दिने तयारीमा छिन् । निर्देशक देउजाको कुरा गर्दा उनी यसपछि ‘झिंगेदाउ २’ को तयारीमा जुट्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?