+
+

राष्ट्रसंघका महासचिव भेटेपछि परराष्ट्रमन्त्री साउद अमेरिका जाने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २ गते १३:११

२ कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद कात्तिक दोस्रो साताभित्र अमेरिका भ्रमणमा जाने भएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको आगामी १२ कात्तिकदेखि हुने नेपाल भ्रमणमा भेटघाट गरेर मन्त्री साउद अमेरिका जाने तयारी चलिरहेको छ ।

हाल बेइजिङमा जारी बेल्ट एन्ड रोड फोरममा सहभागिता जनाइरहेको यूएन महासचिव गुटेरेस १२ कात्तिकमा नेपाल आउने कार्यतालिका छ । परराष्ट्रमन्त्री साउदको सचिवालयले गुटेरेस नेपाल आइपुगेपछि मात्रै उनको अमेरिका भ्रमण हुने जानकारी दिइएको छ ।

‘संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेस कात्तिक ११ को राति (१२ गते बिहान) नेपाल आउनु हुँदैछ । यूएन महासचिव गुटरेससँग १२ कात्तिकमा भेट गरेपछि मात्रै परराष्ट्रमन्त्री अमेरिका जाने गरी भ्रमणको कार्यतालिका बनिरहेको छ’, परराष्ट्रमन्त्रीको सचिवालयका एक सदस्यले भने ।

राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस यसअघि २६ र २७ असोजमा नेपाल आउने कार्यक्रम थियो । तर इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमणपछि उक्त कार्यक्रम स्थगित भएको थियो ।

परराष्ट्रमन्त्री साउदको सचिवालयका अनुसार अहिलेसम्म भ्रमणको कार्यतालिका र एजेन्डालाई अन्तिम रूप दिन बाँकी छ । ‘एजेन्डा र कार्यतालिका तय भएपछि मात्रै भ्रमणको कार्यतालिका दुवै मुलुकले एकैपटक सार्वजनिक गर्ने तयारी छ’, उनको सचिवालयले भनेको छ ।

अमेरिकी सरकारको निमन्त्रणामा जान लागेका परराष्ट्रमन्त्री साउदले वासिङटन डीसीमा विदेशमन्त्री एन्टोनी ब्लिंकेनसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्रमन्त्री साउदले अघिल्लो महिना मात्रै संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रतिनिधि मण्डलसँगै न्यूयोर्क गएका थिए ।

गुटेरेस १२ कात्तिकमा नेपाल आउने

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आगामी १२ कात्तिकमा नेपाल आउने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निम्तोमा राष्ट्रसंघ महासचिव गुटेरेस चार दिने नेपाल भ्रमणमा आउने तय भएको हो ।

यसअघि महासचिव गुटेरेसको नेपाल आउने पूर्वनिर्धारित कार्यतालिका विश्व राजनीतिमा देखिएको बदलावलाई कारण बनाउँदै स्थगित भएको थियो ।

इजरायलमाथि प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेपछि २६ देखि २९ असोजसम्मका लागि तय भएको गुटेरेसको नेपाल भ्रमण रोकिएको थियो ।

स्थगित भएको भ्रमण पुनः १२ देखि १५ कात्तिकसम्म हुने तय भएको प्रधानमन्त्री प्रचण्डका निजी सचिव रमेश मल्लले अनलाइनखबरलाई जानकारी दिए ।

‘यूएन महासभाका क्रममा प्रधानमन्त्रीले दिनुभएको निम्तोलाई माने महासचिव गुटेरेस १२ कात्तिकमा नेपाल आउनु हुने भएको छ’, मल्लले भने, ‘उहाँको भ्रमण पूर्वनिर्धारित भएकाले यसअघि तय भएको एजेन्डामा छलफल हुनेछ । त्यसपछि उहाँ १५ कात्तिकमा फर्किने कार्यक्रम रहेको छ ।’

राष्ट्रसंघका महासचिव गुटेरेसले भ्रमणका क्रममा यूएन महासभामा प्रधानमन्त्री प्रचण्डले राखेका विषयमा छलफल हुने उनको भनाइ छ ।

प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघमा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनको असर र अल्पविकसित मुलुकहरूको संगठन (एलडीसी) र यसको स्तरोन्नतिका लागि अन्य मुलुकको भूमिकाका विषयमा अध्यक्ष मुलुकको हैसियतमा विषय राखेका थिए ।

नेपाल भ्रमणका क्रममा महासचिव गुटेरेसले यीनै विषयमा सरोकारवाला पक्षहरूसँग संवाद गर्नेछन् ।

शान्ति प्रक्रियाका विषयमा सरकारमा रहेका सम्बन्धित सबै राजनीतिक दलका प्रतिनिधिसँग संवाद गर्ने सम्भावना रहेको छ । यद्यपि, त्यसको कार्यातालिका अझै तय भइसकेको छैन ।

त्यसबाहेक जलवायु परिवर्तनका कारण देखिएका असरका विषयमा छलफल हुनेछ भने महासचिव गुटेरेसलाई सगरमाथा क्षेत्रको हवाइ अवलोकन गराइने भएको छ ।

यस्तै भ्रमणका क्रममा एलडीसीमा स्तारोनतिका लागि सदस्य राष्ट्र रहेका ४७ वटा मुलुक तथा अध्यक्ष राष्ट्र रहेको नेपालका विषयमा समेत छलफल हुनेछ ।

भ्रमणका क्रममा गुटेरेसले १३ कात्तिकमा नेपालको संघीय संसदलाई समेत सम्बोधन गर्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?