+
+

चाडपर्व भत्ता बुझेर दशैं मान्न हिँडे गण्डकीका सांसद

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २ गते १७:३५

२ कात्तिक, पोखरा । चाडबाड भत्ता बुझेर गण्डकी प्रदेश सभाका सदस्य तथा तिनका स्वकीय सचिव दशैं मनाउन घर हिँडेका छन् ।

गण्डकी प्रदेश सभाका ५१ जना सांसद र उनका सचिवले वार्षिक रुपमा दिइने चाडवाड खर्च बुझेर दशैं मनाउन घरतिर लागेका हुन् ।

गण्डकी प्रदेश सभाले प्रत्येक वर्ष ६ महिना कार्य अवधि पूरा भएका सबै सांसद र तिनका स्वकीय सचिवलाई एक महिनाको पारिश्रमिक बराबर सुविधा दिने गरेको छ । त्यही अनुसार ५१ जना सांसद र त्यति नै संख्यामा स्वकीय सचिवले चाडवाड खर्च बुझेका हुन् ।

प्रदेश सभा सचिवालयका उपसचिव तथा सूचना अधिकारी प्रेम सुवेदीका अनुसार कार्यकारी पदमा रहेका र पदाधिकारीबाहेक सबैको पारिश्रमिक समान छ ।

अहिले प्रदेश सभा सदस्यको ५४ हजार २ सय पारिश्रमिक ऐनले तोकेको छ भने तिनका स्वकीय सचिवले नायब सुब्बा सरहको पारिश्रमिक पाउने गरेका छन् ।

सभामुख र उपसभामुखसहित सांसदहरुले २९ लाख ७ हजार र उनीहरुका स्वकीय सचिवलाई १७ लाख ३२ हजार रुपैयाँ बैंकमा दाखिला गरिएको सूचना अधिकारी सुवेदीले जानकारी दिए ।

सभामुखले ६३ हजार ४८० रुपैयाँ र उपसभामुख तथा विपक्षी दलका नेताले ६० हजार रुपैयाँ मासिक पारिश्रमिक पाउँछन् । दलको नेताको तलब ५९ हजार ५ रुपैयाँ ऐनले तोकेको छ ।

सत्ता पक्षका दलका नेता, विपक्षी तथा दलका प्रमुख सचेतक, समितिका सभापतिको समान सुविधा छ । उनीहरुले ५८ हजार ८४० रुपैयाँ बुझ्छन् । दलको सचेतकको भने ५६ हजार ५२० रुपैयाँ सुविधा तोकिएको छ ।

मासिक सुविधाबाहेक पनि बैठक भत्ता, इन्टरनेट, पत्रपत्रिका, आवासलगायत सुविधा पनि पाउँछन् । यी सुविधाबाहेक पनि एक महिनाको पारिश्रमिक बराबर चाडवाड भत्ता दिइने सूचना अधिकारी सुवेदीले जानकारी दिए ।

प्रदेश सभाका सदस्य, पदाधिकारीसँगै मुख्यमन्त्री र मन्त्रीहरुले पनि चाडवाड खर्च बुझेका छन् । ७२ हजार ७३० रुपैयाँ मुख्यमन्त्रीको र ६२ हजार ३२० रुपैयाँ मन्त्रीहरुको मासिक सुविधा तोकिएको छ ।

उनीहरुको स्वकीय सचिवहरुले पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट सुविधा बुझेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?