+

‘यसपटक विश्वकप खेल्ने सुनौलो अवसर छ’

२०८० कात्तिक  २ गते १८:२३ २०८० कात्तिक २ गते १८:२३
‘यसपटक विश्वकप खेल्ने सुनौलो अवसर छ’

२ कात्तिक, काठमाडौं । नेपाली क्रिकेट टिमका फास्ट बलर करण केसीले यस पटक नेपाललाई टी-२० विश्वकपमा छनोट हुने अवसर रहेको बताएका छन् ।

अर्को वर्ष हुने टी-२० विश्वकपको एसिया क्षेत्रको छनोटको तयारीका रुपमा रहेको त्रिकोणात्मक टी-२० सिरिजमा बिहीबार हङकङलाई हराएपछि करणले यस पटक नेपालको एक मात्र लक्ष्य विश्वकपमा पुग्ने बताएका हुन् ।

‘हाम्रो मिसन नै टी-२० विश्वकप हो । जसरी भएपनि हामी विश्वकपमा पुग्नैपर्छ र विश्वकपमा गएर राम्रो गर्नुपर्छ’, हङकङ विरुद्धको खेलमा प्लेअर अफ दि म्याच बनेका करणले भने ।

हङकङ विरुद्ध उत्कृष्ट बलिङ गरेका करणले ४ ओभरमा १५ रन मात्र खर्चेर ४ विकेट लिएका थिए । सिरिजको पहिलो खेलमा बुधबार युएईलाई हराएको नेपालले लगतार दोस्रो जित निकाल्दै फाइनल यात्रा बलियो बनाएको छ ।

पहिलो खेल खेल्दा विकेटको अवस्था थाहा पाएकाले दोस्रो खेलमा सहज भएको करणले बताए । ‘हिजो पनि खेलिसकेको यो विकेटमा, योजनाहरु स्पष्ट थियो । यो विकेटमा कसरी बलिङ गर्ने भन्ने थाहा थियो । विकेट स्लो थियो । सुरुमा विकेट पनि आयो । योजना अनुसार नै भयो आज’, करणले हङकङ विरुद्धको प्रदर्शनबारे भने ।

बुधबार काठमाडौंमा नेपाल, हङकङ र युएई सम्मिलित टी-२० सिरिज भइरहेको छ । जसलाई यही अक्टोबर ३० देखि काठमाडौंमै हुने टी-२० विश्वकप एसिया छनोटको तयारीको रुपमा लिइएको छ ।

एसिया छनोटमा यी तीन टिमसहित ओमान, मलेसिया, सिंगापुर, बहराइन र कुवेत गरी ८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । जसमा फाइनल पुग्ने शीर्ष दुई टोली अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने विश्वकपमा छनोट हुनेछन् ।

विश्वकप पुग्न नसकेको पीडा

नेपाल यसअघि अष्ट्रेलिया भएको टी-२० विश्वकपमा छनोट हुन असफल भएको थियो । ओमानमा भएको ग्लोबल छनोटको समूह ए मा सेमिफाइनलमा युएईसँग पराजित भएपछि नेपाल टी-२० विश्वकप पुग्नबाट वञ्चित भएको थियो । त्यसबेला करण केसी टिममा रहेपनि घाइते भएपछि घर फर्केका थिए र छनोट चरणका खेलहरु गुमाएका थिए ।

करणलाई अहिले पनि त्यो सम्झता दु:ख लाग्छ । आफू भएको भए नेपाललाई विश्वकपमा पुर्या:उन सक्थेँ कि भनेर उनी अहिले पनि सम्झिन्छन् । तर त्यो विगतको समय अब फर्केर आउँदैन ।

त्यसैले अब घरेलु मैदानमा हुने छनोट प्रतियोगिताबाट शीर्ष दुईमा रहेर फेरि विश्वकपमा पुग्ने नेपालको लक्ष्य छ । ‘त्यही बेलादेखि मनमा लागेको छ कि त्यो बेला पनि वर्ल्ड कप पुग्न सक्थ्यो । म खेलेको भए पुग्न सक्थ्यो कि भनेर मलाई लागिरहन्छ । त्यही बेला म घाइते भएँ । सोम पनि घाइते भयो’, उनले भने ।

त्यतिबेला छनोट चरणको खेलअघि नै सोमापाल कामी घाइते भएकाले टिममा थिएनन् । सोम र करण नहुँदा अविनाश बोहरा, जितेन्द्र मुखिया र कमल सिंह ऐरीले नेपालको फास्ट बलिङ सम्हालेका थिए ।

यस पटक भने नेपाली टिमका धेरै सदस्य विश्वकपमा छनोट हुनेमा आशावादी छन् । ‘यस पटक हामी जसरी पनि विश्वकप खेल्नुपर्छ भनेर आपसमा कुरा पनि गरिरहेका छौँ । यो गोल्डेन अवसर हो । छनोट पनि घरेलु मैदानमा हुँदैछ’, करणले जोशका साथ भने, ‘सबैजना त्यसका लगि मिहिनेत गरिराछौँ विश्वकप जसरी भएपनि खेल्नुपर्छ ।’

फास्ट बलिङ युनिट जम्दै

अहिले नेपाली टिममा फास्ट बलिङ राम्रो छ । कुनै समय नेपालको बलिङमा स्पिन हावी हुन्थ्यो । स्पिनरले खेल जिताउँथे । तर अहिले सन्दीप लामिछाने टिममा नहुँदा नेपालको बलिङ अट्याक नै फास्ट बलिङ जस्तै देखिएको छ ।

हङकङ विरुद्ध नेपालले सबै १० विकेट लिँदा ८ विकेट फास्ट बलरको नाममा थियो । जसमा करणले ४ तथा सोमपाल र अविनाशले समान २ विकेट लिए ।

धेरै फास्ट बलर हुँदा सबैलाई आफ्नो भूमिका क्लियर हुने र त्यसले सजिलो भएको करणले बताए । ‘सबैको रोलहरु क्लियर छ । हामी चार जना मिडियम पेसर लिएर खेलिरहेका छौं । त्यसले गर्दा पनि सजिलो भइरहेको छ । पहिला म र सोम मात्र दुई जना मिडियम पेसर खेल्थ्यौँ । अहिले ३-४ जना खेल्दा ब्याक अप पाइराछ’, उनले भने ।

पछिल्लो समय नेपालले निरन्तर अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेकाले पनि खेल सजिलो भएको करणले बताए । नेपालले एसिया कप क्रिकेटमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो । त्यस्तै चीनमा भएको एसियन गेम्समा पनि भारतीय टिमसँग प्रतिस्पर्धा गरेको थियो ।

‘भारत र पाकिस्तानसँग पनि खेल्यौँ । भारत ए सँग पनि खेल्यौं । राम्रो टिमसँग खेल्दा कन्फिडेन्स पनि आउँदो रहेछ । अब यसरी नै अझै भविष्यमा राम्रो टिमसँग खेल्न पाए, सिरिज खेल्न पाए त्यसले फाइदा हुन्छ’, उनले भने । नेपालले गत महिना भारतको राजस्थानमा पनि प्रशिक्षण र टी-२० अभ्यास खेल खेलेको थियो ।

करण केसी नेपाल क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय