+
+
‘हिमालपारि’ जलवायु परिवर्तनको असरः :

अनपेक्षित बाढीपहिरो, हिउँ नपर्दा गाउँ नै विस्थापित

विकास रोकामगर विकास रोकामगर
२०८० कात्तिक ३ गते १७:५१

३ कात्तिक, पोखरा । कागबेनीकी ५० वर्षीया कर्मा रिन्चेन गुरुङलाई मुस्ताङमा ठूलो पानी परेको थाहा छैन । पहिले–पहिले थोरै मात्रामा पानी पर्दथ्यो । पानी पर्दा घर नजिकैको कागखोला केही बढे पनि केहीबेरमै पुरानै आकारमा फर्किहाल्थ्यो ।

सानो कागखोलाले त्यति ठूलो क्षति पुर्‍याउला भन्ने उनले कहिल्यै सोचेकी थिइनन् । साउन अन्तिम साता मुस्ताङमा दुई दिनसम्म लगातार परेको वर्षाले रिन्चेनको घरगोठ सबै बगायो । ‘पहिले–पहिले पनि पानी त पर्थ्यो, थोरै । खोला पनि सानो आउँथ्यो, फेरि सुकिहाल्थ्यो । यो साल त निकै ठूलो आयो’ रिन्चेनले सुनाइन्, ‘दुईतले घर थियो । च्यांग्रा हुल्ने एउटा गोठ सबै गयो नि !’

वर्षौंदेखि जुन ठाउँमा उनी आफ्नो ७ जना परिवार सहित बस्थिन्, त्यहाँ अहिले बगर बनेको छ । आफ्नो घरखेत बगर बनेपछि उनी छिमेकीको घरमा सहारा लिएर बसेकी छन् । ‘अहिले त हामी अर्काकै घरमा बसिराख्या छौं’ उनी भन्छिन्, ‘आफ्नो सबै बगाइसक्यो नि, फेरि बनाऊँ भने जग्गा छैन !’

२८ साउनमा कागखोलामा आएको बाढीले ९ घरको नामोनिशान नरहने गरी बगायो । उनीहरू अहिले छिमेकीकै सहारामा छन् । बाँकी आंशिक क्षति पुर्‍याएका केही घरधनीले जीर्णोद्धार गरिरहेका छन् भने केहीले गर्नै बाँकी छ ।

बुधबार कागबेनी पुग्दा ६३ वर्षीय कृष्ण गुरुङ बाढीले भत्काएर बाँकी रहेको घर जीर्णोद्धार गरिरहेका थिए । ‘यहाँ होटल थियो, ७ वटा कोठा पूरै लग्यो’  बाढीले खण्डहर बनाएको एभरेष्ट होटल सम्झिए, ‘अरू सामान त केके लग्यो, थाहै भएन ।’

करिब ४८ घण्टाको लगातारको वर्षासँगै कागबेनीस्थित कागखोलामा लेदो सहित बाढी आयो । बाढीले करोडौंको भौतिक क्षति भयो, पूर्वसूचना पाएकाले मानवीय क्षति हुन पाएन । गुरुङ भन्छन्, ‘पहिले नै केटाहरूले माथि गएर हेरेर सूचना दिएका थिए, त्यसैले चाँडै भाग्न पायौं, मान्छेलाई केही हुन पाएन ।’

कागबेनीका स्थानीयका अनुसार ठूलो बाढी पटक्कै नआएको भए पनि पछिल्ला वर्षहरूमा हिमपहिरो जानुका साथै पानी धेरै पर्ने, साना-साना खोलामा बाढी आउने गरेको थियो ।

वृष्टि छायाँ (रेनस्याडो) क्षेत्रमा पर्ने र हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङले मात्रै होइन, मनाङले पनि पछिल्लो केही वर्षयता अत्यधिक वर्षात् हुँदा उस्तै समस्या भोग्नु परिरहेको छ ।

धेरै पानी पर्दा स्थानीयले आफ्नो परम्परागत घर नै छोड्नुपर्ने बाध्यता आउन थालेको छ । कम पानी पर्ने हुनाले मनाङ, मुस्ताङका बासिन्दा माटोकै छपनी लगाएका घरमा बस्दै आएका छन् । ‘अत्यधिक वर्षात् हुन थालेपछि स्थानीय सीप र कलाबाट बनेका घर, गुम्बा लगायत हाम्रा कला-संस्कृतिमा क्षति पुग्न थालेको छ’ नेकपा एमालेको मुस्ताङ जिल्ला अध्यक्ष समेत रहेका आशबहादुर थकालीले भने ।

मुस्ताङकै वारागुङ मुक्ति क्षेत्रमा गत वर्ष लगातार एकहप्तासम्म पानी पर्दा माटोले बनेका स्थानीयका घरमा ठूलो क्षति पुर्‍यायो । वारागुङ मुक्ति क्षेत्र गाउँपालिका प्रमुख रिङजिन नाम्गेल भन्छन्, ‘स्थानीयको माटोको घरमा वर्षाले क्षति पुर्‍याएपछि गाउँपालिकाले नै ग्रिन हाउस, प्लास्टिक बाँड्नुपर्‍यो ।’

वर्षायाममा धेरै पानी पर्ने मात्र होइन, हिमपात पनि अनियमित हुन थालेको छ । उपल्लो मुस्ताङवासी हिउँद लागेसँगै जाडो छल्न सदियौंदेखि बेंसी झर्ने गर्दछन् । पहिले-पहिले छिटोमा कात्तिक मसान्तपछि मात्रै हिमपात हुन्थ्यो, यसपालि असोजमै हिउँ पर्‍यो । ‘बेमौसम’मा परेको हिउँले स्थानीय प्रभावित भए ।

छिट्टै हिमपात हुँदा हिमालमा हिउँ कम हुन्छ । यसले उपल्लो मुस्ताङका दुई वटा गाउँ सोमजोङ र धीगाउँबाट मानिसहरू विस्थापित भएको संरक्षण क्षेत्र व्यवस्थापन समितिका जोमसोम संयोजक चन्द्रबहादुर थकाली बताउँछन् ।

ठिनी, मुस्ताङकी बिना गुरुङ पनि केही वर्षयता गर्मी बढ्न थालेको सुनाउँछिन् । बर्सेनि तापक्रम बढ्दै जाँदा खेतीपातीमा मात्रै असर गरेको छैन, लामखुट्टे पनि आउन थालेको छ । ‘गर्मी पनि पहिलेभन्दा बढी हुन थालेको छ । मच्छर पनि आउन थाले’ उनले भनिन्, ‘स्याउ पनि कम उत्पादन हुन थाल्यो । फलेका स्याउमा पनि रोग लाग्न थाल्यो ।’ स्याउमा रोग देखा पर्न थालेपछि पछिल्लो समय औषधि प्रयोग गर्न थालिएको उनले सुनाइन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) प्रमुख डा. रविन कडरिया पनि जलवायु परिवर्तनले मुस्ताङको जीवन पद्धतिमै असर पर्न लागेको बताउँछन् । ‘अब त हामीले पनि नियन्त्रण गर्न नसक्ने गरी वातावरण फेरिन थाल्यो’ कडरिया भन्छन्, ‘स्याउ कम फल्न थाल्यो, पानीका मुहान सुके । दीर्घकालीन असर देखिन थालेको छ ।’

तथ्यगत रूपमा हेर्दा हिमपात र हिमपहिरोमा परी पछिल्लो ४ वर्षमा मात्रै ६ जनाले ज्यान गुमाउँदा २१ जना घाइते भएका छन् ।

प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार हिमपात तथा हिमपहिरोले सबैभन्दा बढी आर्थिक वर्ष २०७८/८९ मा क्षति पुर्‍याएको थियो । उक्त वर्ष हिमपात र हिमपहिरोबाट ४ जनाले ज्यान गुमाउँदा ११ जना घाइते भएका थिए ।

हिमपात र हिमपहिरोबाट कुन वर्षमा कति क्षति ?

आर्थिक वर्ष घाइते मृत्यु
२०७७/७८
२०७८/७९ ११
२०७९/८० १०
२०८०/८१ -असोज मसान्त

                                                                                                 स्रोत :  प्रदेश प्रहरी कार्यालय,गण्डकी

अघिल्लो आर्थिक वर्षमा पनि हिमपात र हिमपहिरोमा परी २ जनाले ज्यान गुमाएका थिए । जसमा परी १० जना घाइते भएको प्रदेश प्रहरी कार्यालय, गण्डकीसँग तथ्यांक छ ।

हिमपात र हिमपहिरोले चालु आर्थिक वर्षमा अहिलेसम्म कुनै बिगार नगरे पनि मुस्ताङमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ । प्रदेशभर चालु आर्थिक वर्षमै बाढीजन्य प्राकृतिक विपद्बाट २४ घरगोठ पूर्ण रूपमा विस्थापित भए भने १५ घरलाई आंशिक क्षति पुर्‍याएको छ । जसमध्ये मुस्ताङ कागबेनीका ९ घर पूर्ण रूपमा खण्डहर बने ।

प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार प्राकृतिक विपद्बाट चालु आर्थिक वर्षको सुरुआतमै सबैभन्दा बढी भौतिक क्षति व्यहोर्ने जिल्ला पनि मुस्ताङ नै बन्न पुग्यो । तथ्यांक अनुसार सबैभन्दा बढी मुस्ताङमा ४२ करोडभन्दा बढीको भौतिक क्षति पुगेको छ ।

तथ्यांकमा चालु आर्थिक वर्षमा गण्डकी प्रदेशमा विपद्जन्य घटनाको क्षति

जिल्ला पूर्ण क्षति घर÷गोठ मृत्यु क्षति अनुमानित_
कास्की १२ ९८,६६,०००
तनहुँ ४५,२५,०००
स्याङ्जा २२,८०,०००
गोरखा १,०८,१९,०००
लमजुङ ३१,२०,०००
मनाङ
बागलुङ १२ ६४,७५,०००
पर्वत ५,७५,०००
म्याग्दी ११ ७५,४३,०००
मुस्ताङ २४ ४२,०९,५०,०००
नवलपुर ४०,५०,०००

                                                                                     स्रोत :  प्रदेश प्रहरी कार्यालय,गण्डकी

मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त पनि मुस्ताङमा जलवायु परिवर्तनको असर देखिन सुरु भइसकेको बताउँछन् । ‘जलवायु परिवर्तन र वातावरणीय प्रभावको हालका दिनमा चपेटामा परेको छ’ सिडिओ पन्त भन्छन्, ‘तल्लो मुस्ताङका स्याउ, बाली समेत माथिल्लो मुस्ताङतिर सार्नुपर्ने देखिएको छ ।’

सचेत हुनेबेला आइसक्यो : जलवायु विज्ञ

जलवायु विज्ञ डा. सुदीप ठकुरी भने हिमाली भेगमा पछिल्ला घटनाक्रम हेर्दा जलवायु परिवर्तनले भन्दा पनि मानवीय कारण बढी क्षति पुगेको देखिएको बताउँछन् ।

‘अहिले देखिएको क्षतिमा बस्ती संरचना, सडक पूर्वाधार मुख्य कारक हुन्’ अनलाइनखबरसँग ठकुरीले भने, ‘अहिल्यै डराइहाल्नुपर्ने स्थिति होइन । तर तयारी र सचेत हुनुपर्ने अवस्था भने आइसक्यो ।’

नेपालमा जलवायु परिवर्तन सम्बन्धी तथ्यांक नराख्दा त्यसको असर र क्षतिबारे पनि जानकारी लिन समस्या भएको बताउँछन् । ‘पहिले पहिले पनि त्यस्ता विपद्का घटना नहुने होइनन्, तर नाप्ने, गन्ने संयन्त्र नै हामीसँग भएन । तथ्यांक नभएपछि कत्तिको असर परिरहेको छ भन्ने थाहा हुने कुरा पनि भएन’, उनले भने ।

ठकुरीको टोलीले २०१९ मा देशैभरिको मौसम सर्वेक्षण गरेको थियो । उक्त सर्वेक्षणले पनि विगत चार दशकयता हिमाली भेगको मात्रै नभएर समग्र नेपालकै तापक्रम बढ्दै गएको देखिएको जलवायु विज्ञ ठकुरीले जानकारी दिए ।

कोप २८ मा हिमाली जिल्लालाई क्षतिपूर्ति मागिदिनुहोस् !

साउदी अरेबियामा हुने जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलनमा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा टोली जाँदैछ । त्यसको पूर्वसध्यामा प्रधानमन्त्री र वनमन्त्रीलाई बोलाएर राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले बुधबार जोमसोममा सरोकारवालासँग जलवायु संवाद गरेको थियो ।

कार्यक्रमका वक्ताहरूले मुस्ताङले पछिल्लो समय जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेको प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । उनीहरूले आफूहरू गल्ती विनै ‘सजायको भागीदार’ हुनुपरेको गुनासो समेत गरेका थिए । साथै मुस्ताङलाई अन्य विकसित मुलुकसँग क्षतिपूर्ति माग गरिदिन प्रधानमन्त्रीलाई माग गरे ।

‘कन्भेन्सन हुन लागेको जानकारी पाएका छौं । अहिलेको कागबेनी गाउँ जुन प्रकारको क्षति व्यहोर्‍यो’ वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका प्रमुख रिङजिन नाम्गेलले भने, ‘त्यसको क्षतिपूर्तिको माग पनि गरिदिनुहुन हार्दिक अनुरोध गर्न चाहन्छु ।’

गण्डकी प्रदेशसभा सांसद विकल शेरचनले पनि जलवायु परिवर्तनको जोखिममा नेपाल चौथो स्थानमा रहेकाले विकसित राष्ट्रबाट प्राप्त हुने क्षतिपूर्ति दिलाइदिन माग राखेका थिए ।

‘मनाङ, मुस्ताङ, मेलम्चीको बाढीपहिरोले हामीलाई धेरै कुरा सिकाएको छ’ प्रधानमन्त्री प्रचण्डलाई शेरचनले भने, ‘…विकसित राष्ट्रहरूले कम र अल्पविकसित राष्ट्रहरूलाई क्षतिपूर्तिबाट त्यसमा विशेष पहल गरेर मनाङ, मुस्ताङ जस्ता जोखिममा रहेका जिल्लालाई त्यो क्षतिपूर्ति मार्फत आउने कार्यक्रमहरू समावेश गरिदिनुपर्छ ।’

वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोले जलवायु परिवर्तन विश्वकै समस्याका रूपमा आइरहेको भए पनि नेपालका हिमाली जिल्लाले प्रत्यक्ष असर भोग्नु परिरहेको बताउँछन् । मनाङ, मुस्ताङले पछिल्लो समय भोगिरहेको जलवायु परिवर्तनको समस्या देखाएर विश्व समुदायलाई सचेत बनाइरहेको दाबी उनको छ ।

‘आज मुस्ताङ जिल्लाको जलवायु परिवर्तनले हुने प्रभाव न्यूनीकरण गर्नका लागि हामीले विश्वभर नै यो कुरा उठाइरहेका छौं’ भन्छन्, ‘मुस्ताङमा आएको बाढीपहिरोबारे हामीले विश्वभरलाई नै जानकारी दिइरहेका छौं, सचेत बनाइरहेका छौं ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोप २८ मा आफूले मनाङ, मुस्ताङ लगायत हिमाली जिल्लाले भोग्नुपरिरहेको जलवायु परिवर्तनको क्षतिबारे विश्व समुदायलाई जानकारी दिने आश्वासन दिए । ‘जलवायु परिवर्तनकै निम्ति आयोजना गरिएको कार्यक्रम भएको हुनाले यो पटक, यो विषयमा मैले फेरि एकचोटि विश्व समुदायको ध्यान आकर्षित गर्ने’ प्रचण्डले भने, ‘र नेपालमा यो जोखिम न्यूनीकरण गर्नको निम्ति कोषको व्यवस्था बढीभन्दा बढी अन्तर्राष्ट्रिय सहयोगको निम्ति अपील गर्ने तयारी गरिसकेका छौं ।’

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?