+
+

कात्तिक १८ मा काठमाडौंमा यम बरालको एकल साँझ हुने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ३ गते १८:०९

काठमाडौं । गायक यम बराल एकल सांगीतिक साँझमा गुञ्जिने भएका छन् । यही कात्तिक १८ गते नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा ‘यम बराल : हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट’ हुने शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । कार्यक्रमलाई लाइन्स क्लब अफ सिद्धार्थ एभरग्रिन संस्थाले आयोजना गर्न लागेको हो ।

तीन दशकभन्दा लामो समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय गायक बराल झण्डै २५ वर्षपछि एकल साँझमा गुञ्जिन लागेका हुन् । दुई चरणको प्रस्तुति रहने कार्यक्रमा पहिलो भागमा गायक बरालले आफ्ना लोकप्रिय सुगम संगीतमा आधारित गीतहरु गाउनेछन् भने दोस्रो भागमा रमाइला गीतहरुको प्रस्तुति रहनेछ ।

पत्रकार सम्मेलनमा गायक बरालले यो कार्यक्रमका लागि लायन्स क्लबसँग सहकार्य गर्न पाउँदा आफू हर्षित रहेको बताए । ‘लायन्स क्लबको सामाजिक कार्यममा संगीतमार्फत जोडिन पाउँदा अत्यन्तै हर्षित छु । डेढ घण्टासम्मको कार्यक्रम ऐतिहासिक हुने विश्वास छ,’ उनले भने ।

एकल कन्सर्टमा उनले आफ्ना नयाँ-पुराना चर्चित दुई दर्जनभन्दा बढी गीत लाइभ ब्याण्डमा प्रस्तुत गर्नेछन् । २०४७ सालमा रेडियो नेपालमा ‘सागरभन्दा गहिरो’ बोलको गीत गाएर नेपाली संगीतमा पाइला चालेका यम बराललाई ‘बादलुको घुम्टो’ गीतले परिचित बनायो । त्यसपछि निष्ठुरीले छाडेर गइहाली, अब चोटहरुले, मन रहे पो मायाप्रीति, तिम्रो हाम्रो चिनारी, दिलमाया दिलमायालगायत गीत चर्चित छन् । उनले १०० भन्दा बढी नेपाली फिल्ममा पार्श्व गायनसमेत गरेका छन् । हालसम्म एक हजार बढी गीतमा स्वर दिएका उनी गोरखा दक्षिणबाहु चौथो, नारायणगोपाल पुरस्कार, छिन्नलता पुरस्कार, विभिन्न अवार्डलगायतबाट सम्मानित भइसकेका छन् ।

‘यम बराल : हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट’ आयोजक लायन्स क्लब अफ सिद्धार्थ एभरग्रिनले कार्यक्रमबाट उठेको रकम सामाजिक कार्यअन्तर्गत क्यान्सर पीडित गायिका जमुना थापाको उपचारार्थ र लुलसादेवी फाउन्डेसन, ललितपुरद्वारा सञ्चालित अनाथालयलाई सहयोग गर्ने जनाएको छ । कन्सर्टले सामाजिक सशक्तीकरण, सामाजिक जिम्मेवारी र सांस्कृतिक प्रवर्द्धनमा समेत प्रेरणा दिन सहयोग पुग्ने अपेक्षा रहेको क्लबकी अध्यक्ष कल्पना बस्नेतले बताइन् ।

बरालको एकल साँझका लागि टिकट दर भने निश्चित गरिनसकेको आयोजकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?