+
+

पाकिस्तानलाई हराएपछि राशिद भन्छन्- लाग्यो, विश्वकप नै जित्यौं

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ७ गते ८:२०

७ कात्तिक, काठमाडौं । एकदिवसीय क्रिकेटमा लगातार सात हारपछि अफगानिस्तानले पाकिस्तानलाई हराएको छ, त्यो पनि विश्वकप क्रिकेटमा ।

सोमबार भारतको चेन्नईमा भएको खेलमा अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटले हराएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले अब्दुल्ला शफीकीको अर्धशतक र कप्तान बाबर आजमको सर्वाधिक ७४ रनको मद्दतमा २८२ रन बनाएको थियो ।

तर अफगानिस्तानका इब्राहिम जादरान र रमानुल्लाह गुर्बाजले पहिलो विकेटका लागि १३० रनको साझेदारी गर्दै जितको आधार तयार पारे, जसलाई रहमत शाह र कप्तान हशमतुल्लाह शाहिदीले सहजै पुरा गरे । प्लेयर अफ दि म्याच इब्राहिमले ८७ रन बनाए ।

अफगानिस्तानका कप्तान शाहिदीले जितको श्रेय टिमलाई दिए । उनले अघि भनेका छन्, ‘हाम्रो बलिङ राम्रो रह्यो, खासगरी स्पीनर नुरले राम्रो बलिङ गरे । ब्याटिङमा गर्बाज र इब्राहिमले सुरुदेखि नै खेललाई आफ्नो पकडमा राखे ।’

पछिल्ला वर्षहरुमा जुन स्तरको क्रिकेट खेलिरहेको छ, त्यसका आधारमा टिममा विश्वास रहेको उनले सुनाए । उनले भने, ‘मैले भनेको थिएँ कि यो प्रतियोगितालाई आफ्नो देशका लागि ऐतिहासिक बनाउन चाहेका छौं । सबैभन्दा पहिला इंग्ल्याण्ड थियो, आज पाकिस्तान र अन्य खेलको पनि प्रतिक्षा गरिरहेको छु ।’

अफगानिस्तानका बलर राशिद खानले भने, ‘यस्तो लायो हामीले वर्ल्डकप जित्यौं । हामीले यसअघि पाकिस्तानसँग सात खेल खेलेका थियौं र कहिल्यै जित्न पाएका थिएनौं । तर हामीमा भरोसा थियो ।’

पाकिस्तानका कप्तान बाबर आजमले स्कोर राम्रो बनाए पनि बलिङ त्यसअनुसार हुन नसकेको बताए । ‘हामीले उनीहरुलाई मिडिल ओभरमा रोक्न सकेनौं,’ उनले भने, ‘हामीले राम्रो क्रिकेट खेल्न सकेनौं । आगामी खेलमा गल्ती सुधार गर्ने कोसिस गर्नेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?