+
+

उपमहानगरले बजारको जिम्मा लिएपछि फूलमै मनग्गे आम्दानी

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ७ गते १२:२५

७ कात्तिक, काठमाडौं । धनगढीकी सुशीला विष्टलाई अहिले भ्याइनभ्याइ छ । ठुला चाडपर्वमा नै विष्टको व्यस्तता बढ्ने गर्दछ । विष्टको लागि अहिले नै सबैभन्दा धेरै व्यवसायिक हुने बेला हो । यसको कारण हो उनको फूल खेती, विष्टले डेढ विघा क्षेत्रफलमा गरिरहेको फूल खेतीले आम्दानी सुरु गर्ने बेला भएकोले उनको लागि सिजन चलिरहेको छ ।

पहिले थोरै फूल खेती गरेर सुरु गरेकी विष्टलाई धनगढी उपमहानगरपालिकाले खेती गर्ने तरिका, बजारीकरण तथा माला र सौन्दर्यकोको तालिम दिएपछि उनले यो असारबाट व्यवसायिक रुपमा खेती सुरु गरेकी हुन् ।

‘पहिले कैलारी गाउँपालिकामा २ कठ्ठा जती फूल खेती गर्थे,त्यो बेला तिहारको लागि मात्रै गरिन्थ्यो । तर अहिले उपमहानगरपालिकाले तालिम दिएपछि धनगढीमै व्यवसायिक खेती सुरु गरेको छु,’ विष्टले अनलाइनखबरसँग भनिन् ।

मल, बिउ, ज्याला सबै जोड्दा करिब १० लाख लगानी लागेको बताउँदै विष्टले बजारको जिम्मा उमपहानगरपालिकाले लिएको बताइन् । पहिले भैंसीपालन र घाँसखेती गर्ने उनी फूल खेतीले सहज रुपमा मनग्ये आम्दानी दिने गरेको बताइन् । ‘यो खेती गर्न पहिलेको भन्दा धेरै सजिलो छ, अब अलि दु:ख भनेको फूल्ने र गोड्ने बेलामा मात्रै हो,’ विष्ट सुनाउँछिन् ‘किरा लाग्ने समस्या र हावाहुरीले असर नगरे लगानीको तेब्बर चौब्बर आम्दानी हुन्छ ।’

यो पटक विष्टले १ क्विन्टल फुल दसैंकै लागि बेचिसकेकी छिन् । ‘हामीले मुख्य रुपमा तिहारको लागि फूल उत्पादन गर्ने हो । अहिले पनि फूलको सिजन सुरु भइसकेको छ,’ उनी भन्छिन् ।

फूल यत्तिकै खुद्रा बेच्दा क्विन्टलको ४० हजार मात्रै आउने गरेपनि सजावटको सामग्री बनाए, मालाहरु उनेर बेच्न सके ६० हजारभन्दा धेरै आउने उनी बताउँछिन् । ‘वर्षभरीको हिसाब गर्दा अहिलेकै स्थिती अनुसार ३० लाख भन्दा धेरै त लगानी कटाएर आम्दानी हुनुपर्ने हो,’ उनी सुनाउँछिन् ।

पहिले फुल खेती गरेर बजारमा निकाल्दा कसले किनिदिने भन्ने जोखिम भए पनि अहिले उपमहानगरपालिकाले सबै बजार व्यवस्थापनको जिम्मा लिएपछि ढुक्क भएर खेती गरेको उनको तर्क छ । ‘हामीलाई यहाँ जति उत्पादन गरेपनि बजार पाइन्छ, नपाइएमा हामी आफैं किन्छौं भनेर भनेपछि धेरै लगाउन सुरु गरेका हौं । तर बजारको केहि समस्या छैन, अहिले त हारालुस नै रहेको छ,’ उनी भन्छिन् ।

तालिम पछि बजारको ग्यारेन्टी

धनगढी उपमहानगरपालिकाले जेठ २२ देखि २८ गतेसम्म पहिले २८ जनालाई फूल खेतीसम्बन्धी तालिम दिएको थियो । त्यसपछि तालिम पाएका किसानहरुलाई कलकत्ते सयपत्री फूलको एक केजी बिरुवा अुनदान स्वरुप दिएको थियो ।

उपमहानगरका कृषि शाखा प्रमुख लोकेन्द्र सिंहका अनुसार नै पहिलो चरणम तालिम दिएर फूल उत्पादन भएपछि सजावटसम्बन्धी २२ जनालाई तालिम दिइएको थियो । तालिममा घर, कस्मेटिक, गाडी सजावट, ब्यांक्वेट लगायतको विषयमा तालिम दिएका हो ।

बजारी करणमा उपमहानगरपालिकाले सबैं ब्याक्ङेटहरु, कस्मेटिक पसल, फूल व्यापारीहरुलाई यहाँ उत्पादन भएको फूल खरिद गर्न भनेको छ । अहिले ४-५ जना किसानले फूल उत्पादन गर्न सुरु गरिसकेका छन् । त्यसमा घरबाट नै बिक्री भइरहेको छ । उपमहानगरले बजारीकरण, प्रचार प्रसारको काम गरिरहेको छ ।

उपमहानगरपालिकाले २०७९ असोज १ गतेबाट प्लास्टिक ब्यान्ड (निषेधित ) गरे सँगै प्लास्टिकका फूलहरुको विकल्पमा प्राकृतिक फूल लगाउन भनिरहेको थियो ।

फूल व्यवस्थापनमा फोकल पर्सन तोकिएका लोकन्द्र सिंह किसानले उत्पादन गरेको फूल बजारीकरणको अभावमा बिक्री हुन नसके सबै फूल उपमहानगरले खरिद गर्ने बताउँछन् । ‘ढुक्क भएर खेती गर्न भनेका छौं, फूलले मार्केट पाएन भने उपमहानगरपालिका आफैंले किनेर बजार व्यवस्थापन गर्छ,’अनलाइनखबरसँग उनले भने ।

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले प्लाष्टिकको फूलहरुको विस्थापनसँगै धनगढी मै उद्यमी हुनेगरी तालिम दिएर फूल उत्पादन सुरु गरेको बताए ।

उनले फूल उत्पादन मात्रै नभई यसको उत्पादन पछिको बजारमा कसरी लैजाँदा उपयुक्त हुन्छ भनेर समेत तालिम दिएको बताए । ‘सबै प्राकृतिक फूलहरुले सजाएको गाडीहरु, पार्टी प्यालेसहरुमा विभिन्न समारोहमा प्राृकतिक फूलहरु सजावट गर्ने तरिका सिकाएर किसानहरुलाई थप व्यवसायिक बनाइरहेका छौं । यसले फूलको उत्पादन मात्रै नभई बजारीकरणमा समेत प्रवर्द्धन गर्छ,’ उनी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?