+
+
समयान्तर :

दशैं दक्षिणाको अर्थशास्त्र

पर्वहरूलाई आफ्नो क्षमता र गच्छे अनुसार मात्रै मनाउने गर्नुपर्दछ । संकटको अवस्थामा ‘खर्च नगर्नु पनि आम्दानी हो’ भन्ने कुरालाई मनन गरियो भने मात्रै समृद्धि र उन्नतिको मार्ग पहिल्याउने संभव हुनेछ ।

मनिकर कार्की मनिकर कार्की
२०८० कात्तिक ८ गते १६:१२

हिन्दु धर्मावलम्बी नेपालीहरूको सबैभन्दा ठूलो र महत्वपूर्ण पर्व हो, दशैं । १० दिनसम्म मनाइने दशैंका आफ्नै धार्मिक एवं सांस्कृतिक मान्यताहरू छन् । यो पर्वको प्रचलनका पनि आफ्नै धार्मिक एवं पौराणिक कथाहरू छन् । ती कथामा अभिव्यक्त मान्यताहरू पनि क्षेत्र, भूगोल र समुदाय अनुरूप फरक फरक हुन सक्छन् । दशैंका लागि सरकारले समेत आफ्ना कर्मचारीलाई थप एक महिनाको तलबी खर्च सहित लामो बिदा दिने हुनाले यसको धार्मिक, सांस्कृतिक र सामाजिक मात्र होइन, अर्थशास्त्रीय महत्व पनि उत्तिकै छ ।

विगतका वर्षहरूमा दशैंको आगमनसँगै सहरबजारमा किनमेल गर्नेहरूको भीडभाड निकै बढ्ने गर्दथ्यो । तर, यसपटक मुलुकका मुख्य सहरबजारमा उपभोक्ताको उतिसारो भिडभाड नभएको खबर सुनियो । चाडपर्वमा भिडभाड कम हुँदै जानुका मुख्य तीन कारण छन् । पहिलो, विद्यमान आर्थिक संकट । दशैं तिहार जस्ता ठूला पर्वका पूर्वसन्ध्यामा सहरबजारका पसल, सपिङ मल अनि मोटरगाडीका शोरुमहरूमा लाग्ने भीडभाड पनि कमै देखियो ।

विगत लामो समयदेखि देशको अर्थतन्त्र उकासिन सकेको छैन । न्यून उत्पादन, बढ्दो बेरोजगारी र चरम् महंगीका कारण उपभोक्ताको क्रयशक्ति क्षयिकृत हुँदै गएको छ । आर्थिक दुरावस्थाले सर्वसाधारणको खल्ती रित्तिएको मात्र छैन, उनीहरूको आर्थिक जीवन नै उथलपुथल भएको छ । जसका कारण चाडपर्वमा गरिने खर्चमा पनि उल्लेख्य कटौति भएको अनुभूति गर्न सकिन्छ ।

दोस्रो, बढ्दो युवा पलायन । पछिल्लो समय श्रमका लागि मात्र होइन, अध्ययनकै लागि पनि विदेशिने विद्यार्थीहरूको संख्या दिनानुदिन बढ्दो छ । सहरबजारका गल्लीगल्लीमा फस्टाएको कन्सल्टेन्सीहरूको व्यापारले पनि त्यसैको संकेत गरेको छ । सन् २०२२ मा मात्रै कम्तीमा १ लाख २५ हजार विद्यार्थी अध्ययनका लागि विदेशिएको सरकारी आंकडा छ । ती विद्यार्थीहरूले औपचारिक रूपमा बाहिर लैजाने धनराशीको हिसाब नै रु. एक खर्ब बढी हुन आउँछ ।

पछिल्लो समय १८-२२ वर्षकै कलिलो उमेरमा विदेशिने युवाहरूको संख्या अनपेक्षित रूपमा बढ्दै गएको देखिन्छ । ती युवा शक्ति जो मुलुकको अर्थबजारका प्रमुख उपभोक्ता हुन्, उनीहरू विदेशिएका कारण पनि बजारमा सुस्तता आएको अनुमान गर्न सकिन्छ । साथै उनीहरूले विदेश लैजाने ठूलो धनराशीका कारण सम्बन्धित घरपरिवार र नजिकका नातागोतासम्मको क्रयशक्ति घट्दोक्रममा हुँदा बजार गतिशील हुन सकेको छैन ।

तेस्रो, भौगोलिक रूपमा विस्तारिँदै गएको बजार र प्रविधियुक्त भर्चुअल कारोबार । अर्थात्, पहिले पहिले किनमेलका लागि उपभोक्ताहरू खासखास सहरबजारमा धाउने गर्दथे । तर, अहिले चल्तीको पूर्व पश्चिम राजमार्ग, हुलाकी राजमार्ग वा अन्य मुख्य राजमार्गका कैयौं स्थानहरूमा नयाँ बजार बनिसकेका छन् ।

ती राजमार्ग छेउछाउ विस्तार भएका बजारले नजिकैको ठूलो सहरमा केन्दि्रत हुने उपभोक्तालाई रोकिदिन्छन् । परिणामस्वरूप बुटवल, पोखरा, भैहरवा, नारायणगढ, हेटौंडा, लाहान, इटहरी जस्ता सहरहरूको आर्थिक कारोबार घट्न गएको अनुमान गर्न सकिन्छ । यसका अलवा सूचना प्रविधि र इन्टरनेटको प्रयोगसँगै बढ्दै गएको अनलाइन माध्यमबाट हुने भर्चुअल कारोबारले पनि सहरबजारमा उपभोक्ताहरूको भौतिक उपस्थिति घट्न गएको हुनसक्छ ।

चाडपर्वमा रमाउनु आम नेपालीहरूको संस्कार नै बनिसकेको छ । त्यसमाथि पनि दशैंको विशेष पारिवारिक, सामाजिक एवं सांस्कृतिक महत्व छ । दशैंमा लामो सार्वजनिक विदा हुने र विद्यालय, विश्वविद्यालयहरूमा पनि लामो समय विदा हुने भएकाले अध्ययन र कामका सिलसिलामा गाउँघर छाडेर सहरबजार बस्ने लाखौं मानिसहरूका लागि दशैंको समय सामाजिक र पारिवारिक मिलनको समय हुने गरेको छ ।

बालबालिकाको दक्षिणा रकमलाई वित्तीय संस्थाहरूमा क्रमिक बचतको रूपमा राख्न सकिन्छ । त्यसैगरी दक्षिणाको रकमलाई उनीहरूकै समुज्ज्वल भविष्यका लागि शिक्षा, स्वास्थ्य र जीवन बिमाका लागि पनि उपयोग गर्न सकिन्छ । बिमा एउटा यस्तो माध्यम हो जहाँ जोखिम बहन हुनुका साथै अनिवार्य बचतसमेत हुने गर्दछ ।

दशैंमा हुने सामाजिक एवं पारिवारिक भेटघाट र सम्पर्कको पाटोलाई हेर्दा यसलाई सामाजिक सद्भाव विस्तारको उपयुक्त अवसर मान्न सकिन्छ । त्यसैले दशैं वास्तवमै पारिवारिक मिलन र नाताकुटुम्बसँगको सामिप्यता बढाउने पर्व हो । यसले सामाजिक सद्भाव र भाइचारालाई प्रगाढ बनाउँछ । वर्षौंदेखि टाढिएका आफन्तजनसँगको भेट नै दशैंको मुख्य आकर्षण बन्ने गरेको छ ।

बिदामा घुमफिर गर्न रुचाउने कतिपय मानिसहरूका लागि घुम्ने अवसर पनि दशैंले उपलब्ध गराइदिएको छ । गाउँ छाडेर सहर पसेकाहरूलाई दशैं गाउँघरको नाता सम्बन्ध नवीकरण गर्ने अवसर बन्ने गरेको छ । दशैंको धार्मिक, सांस्कृतिक एवं सामाजिक महत्व एकातिर छ भने चाडपर्वले निर्माण गर्ने उपभोग संस्कृति पछिल्लो समय यथार्थता हो ।

यो संस्कृति निकै जब्बर रूपमा स्थापित हुँदै गएको छ । दशैं, तिहार, छठ, क्रिसमस, तीज, ल्होसारजस्ता चाडपर्वहरूमा बढेको उपभोगको संस्कारले भने समाजमा एक खालको देखावटीपनको विकास गरिदिएको छ । यसले समाज, टोल छरछिमेकमा आफ्नो हैसियत कायम राख्नकै लागि रिनधन नै गरेर भएपनि चाडपर्व मनाउनुपर्ने बाध्यता स्थापित गरिदिएको छ ।

यस्ता पर्वहरूमा आम जनसाधारणको फजुल खर्च पनि बढ्ने हुँदा त्यसले व्यक्तिको आम्दानी र खर्चको सन्तुलनलाई त असर पर्छ नै दशैंतिहार तथा चाडपर्वहरूमा गरिने फजुल र अनावश्यक खर्चले मुलुकको अर्थतन्त्र पनि अनुत्पादक बन्दै गइरहेको छ । यसले समाजलाई पनि भड्किलो र देखावटी बनाइरहेको छ ।

पूँजीवादी अर्थतन्त्रमा उपभोग नै मुख्य विषय हो । चाडपर्वले उपभोगलाई जोड दिन्छ । उपभोग नै उत्पादनको आधार भएकाले जे जसरी हुन्छ आम मानिसको उपभोगलाई बढाउने नै ध्येय हुन्छ । त्यसैले पूँजीवादी अर्थव्यवस्थाका हिमायतीहरू हरहालमा आम उपभोक्तालाई वस्तु तथा सेवाको उपभोग गराउन मै उद्दत रहन्छन् ।

त्यसो त उपभोग बढ्दा अर्थतन्त्रमा पुँजी निर्माणको प्रक्रिया पनि बढ्ने र अन्ततः त्यसले अर्थतन्त्रको आयतन बढाउने सैद्धान्तिक व्याख्या पनि छ । तर, हाम्रो जस्तो मूलतः आयातकेन्द्रित व्यापारमै निर्भर अर्थतन्त्रमा भने अनावश्यक रूपले उपभोग बढ्दै जाँदा त्यसले अर्थतन्त्रको आयतन बढाउने भन्दा त्यसलाई खुम्च्याउने गरेको दृष्टान्त छ ।

आयातमै उन्मुख दशैं अर्थतन्त्रले भने मुलुकको व्यापार घाटा मात्रै बढाएको छ । जुन मुलुकमा दैनन्दिनीका अत्यावश्यक उपभोग्य वस्तुहरूसमेत सम्पूर्ण रूपले आयातमा निर्भर रहनुपर्छ, त्यो देशको लागि उपभोगवादी संस्कृति कदापि फलदायी हुँदैन । यस्तो व्यापारले अर्थतन्त्रलाई चलायमान त बनाउँछ, तर प्रकारान्तरमा त्यसले ठूलो पैमानामा व्यापार घाटा हुन गई मुलुककै अर्थतन्त्र धाराशायी हुन पुग्छ ।

पछिल्लो समय देखिएको चरम आर्थिक संकट र सरकारी कोषमा घट्दो असन्तुलनको मुख्य कारण नै सरकारी खर्च बढ्दै जानु तर, आम्दानीमा भने संकुचन आउनु हो । मुलुकको समग्र नगद प्रवाहको विवरण हेर्ने हो भने केवल आयातले मात्र होइन, सेवा क्षेत्रबाटसमेत धनराशी बाहिरिएको छ । माथि उद्धृत गरिएजस्तो अध्ययनका नाउँमा पलायन हुँदै गएका युवा विद्यार्थीले ठूलो धनराशी देशबाहिर लगेका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९/८० मा मुलुकको समग्र सेवा खाताअन्तर्गत भ्रमण व्यय रु. १४४ अर्ब ४६ करोड भएको छ । जसमध्ये शिक्षातर्फको व्यय मात्रै रु. १०० अर्ब ४२ करोड रहेको छ । जुन व्यय आर्थिक वर्ष २०७८/७९ मा रु. ९७ अर्ब ३२ करोड रहेको थियो, जसमध्ये शिक्षातर्फको व्यय रु. ६७ अर्ब ७० करोड रहेको थियो ।

चालू आर्थिक वर्षको पहिलो एक महिनामा मात्रै रु. १७ अर्ब २६ करोड रकम भ्रमण व्ययको रूपमा बाहिरिएको छ, जसमध्ये शिक्षाका लागि विदेशिएको रकम मात्रै रु. १० अर्ब ७५ करोड रहेको छ । जबकि यस अवधिमा विदेशी पर्यटकहरूबाट भित्रिएको भ्रमण आय रु. ४ अर्ब ३९ करोड रहेको छ ।

कतिपयलाई लाग्न सक्छ, भ्रमण व्ययको तथ्यांकले मात्र हुँदैन, त्यसै अनुसार बढ्दै गएको विप्रेषण आयलाई पनि हेर्नुपर्ने हुन्छ । कुरा ठिकै हो, तर तथ्यांकले भन्छ कि विदेशमा पढ्न जाने विद्यार्थीबाट मुलुकको विप्रेषण आयमा उतिसारो योगदान गरेको देखिंदैन । रेमिटान्स आयको मुख्य हिस्सा नै वैदेशिक रोजगारीका लागि विदेशिएका युवाहरूले पठाएको रकम हो । जुन मूलतः खाडी मुलुकसँगै मलेसिया, कोरियालगायत देशहरू हुन् ।

त्यस्तै दशैंकै सामाजिक एवं सांस्कृतिक पक्षलाई हेर्दा दशैंमा आफ्नो घरपरिवार, नाताकुटुम्बका मान्यजन समक्ष टीका र आशिष थाप्ने प्रचलन रहेको छ । आफ्ना मान्यजनबाट टीका, जमारा र आशिर्वाद ग्रहण गर्नुका साथै मान्यजनबाट प्राप्त हुने दक्षिणा पनि दशैंको अर्को महत्वपूर्ण विशेषता हो । विशेषतः केटाकेटी एवं किशोर उमेरमा त्यस्तो दक्षिणाको निकै महत्व हुने गर्दछ । दशैंमा मात्र अर्बौंको दक्षिणा हस्तान्तरण हुने देखिन्छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०८० असोज मसान्तसम्म बजारमा रु. ६ खर्ब ५८ अर्ब बराबरको मुद्रा परिचालन गरिएको छ । गत असोज १ गते उक्त परिचालित मुद्रा रु. ६ खर्ब ३ अर्ब रहेको थियो । अर्थात् असोज महिनाभरमा मात्र रु. ५५ अर्ब बराबरको थप मुद्रा बजारमा परिचालन गरिएको छ । जसको झण्डै आधा हिस्सा दशैं लक्षित हो ।

हाम्रा व्यवहार र आनीबानीले समाजलाई भड्काउने र समाजलाई थप वर्गीय विभाजन त गरिरहेको छैन ? भन्ने कुरामा विचार पुर्‍याउनुपर्छ । यसर्थ, हामीले सामाजिक एवं सांस्कृतिक मूल्यको अलावा वित्तीय एवं अर्थशास्त्रीय दृष्टिकोण समेतलाई मनन् गरी चाडपर्व मनाउनु जरुरी देखिन्छ ।

नेपालको राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार नेपालमा कूल ६६ लाख ६६ हजार ९२७ परिवार संख्या रहेको छ । त्यस्तै नेपालमा ८१.१९ प्रतिशत हिन्दु धर्मावलम्बी बसोबास गर्दछन् । यसरी हेर्दा करिब ५४ लाख १२ हजार हिन्दु धर्मावलम्बी परिवारले दशैं मनाउँछन् भन्न सकिन्छ ।

अनि प्रत्येक परिवारले औसतमा कम्तीमा रु. तीन हजार दशैंमा दक्षिणाको रूपमा प्रयोग गर्यो भने कूल रु. १६ अर्ब २३ करोड रकम दक्षिणाको रूपमा कारोबार हुने देखिन्छ । अर्थात् दशैंमा सालाखाला रु. १५ देखि २० अर्बसम्मको दक्षिणा कारोबार हुने अनुमान गर्न सकिन्छ ।

यसर्थ, दशैंमा प्राप्त हुने दक्षिणा रकमलाई कहाँ र कसरी उपयोग गर्ने भन्ने विषय पनि उत्तिकै महत्वको विषय बन्न पुगेको छ । व्यक्तिगत तहबाट हेर्दा एक व्यक्तिले दशैंमा आफ्ना मान्यजनबाट प्राप्त गर्ने दक्षिणा रकम निकै सानो इकाई हुनसक्छ । तर, त्यसलाई समग्रमा हेर्ने हो भने त्यो करिब रु. २० अर्बकै हाराहारी हुने देखिन्छ । यसर्थ, दक्षिणको प्रयोगमा पनि वित्तीय साक्षरता अवलम्बन गर्नुपर्ने अवस्था देखिएको छ ।

हाम्रा अनुभवले बताउँछ कि अक्सर चाडपर्वमा उपभोगको मात्रा बढ्छ । मान्छेका अनेकन चाहना र आवश्यकताहरू हुन्छन् । चाडपर्वमा आवश्यकता भन्दा पनि चाहना पूरा गर्ने धोको धेरैको हुन्छ । अनि सबै त्यही चाहनाका पछि दौडिरहेका हुन्छन् ।

तर, अर्थशास्त्रीय परिभाषा र दृष्टिकोण अनुसार हरेक चाहना आवश्यकता हुँदैनन् । हामीसँग भएको सीमित स्रोतको उपयोग चाहना हैन, आवश्यकता पूरा गर्नका लागि प्रयोग गर्नुपर्छ भन्ने अर्थशास्त्रीय मान्यता रहेको हुन्छ । दशैं, तिहार वा अन्य कुनै चाडपर्वमा प्राप्त गरिने दक्षिणाको उपयोगिताको सवालमा पनि त्यही दृष्टिकोण हावी हुन्छ ।

साना केटाकेटीदेखि वयस्कसम्मले चाडपर्वमा प्राप्त गरिने रकमलाई त्यस्तै फजुल खर्चमै उपयोग गर्दछन् । अझ दशैं र तिहार जस्ता ठूला पर्वमा त मदिराजन्य पदार्थको अत्यधिक प्रयोग हुनुका साथै जुवा ताससमेतमा मानिसहरू झुम्मिने गरेको देखिन्छ । त्यस्तै विलासिताका वस्तुहरूको उपयोग पनि अत्यधिक हुने गरेको देखिन्छ, जुन व्यक्तिको आवश्यकता हैन चाहना मात्रै हो ।

र, हामीले उपभोग गर्ने अधिकांश वस्तुहरू आयातित हुने हुँदा त्यसले अर्थतन्त्रमा भ्यालु एड गर्दैन । यदि हामीले उपभोग गर्ने वस्तुहरू स्वदेशमै बनेका हुन्थे भने त्यस्तो उपभोगले माग-उत्पादन-आम्दानी-उपभोगको चक्रलाई गति प्रदान गरी अर्थतन्त्रको विस्तारमा योगदान गर्दथ्यो । तर, आयातकेन्दि्रत उपभोगले त्यो अर्थचक्र भत्काउँछ र अर्थतन्त्रको दिगो विस्तारमा योगदान गर्दैन ।

त्यसैले दक्षिणाबाट प्राप्त हुने धनराशीको प्रयोगमा हामीले विशेष ध्यान पुर्याउनु जरुरी देखिन्छ । झन् बालबालिकाहरूलाई त यस्तो धनको प्रयोगबारे अहिलेदेखि नै वित्तीय साक्षरता प्रदान गर्नु आवश्यक छ । उनीहरूलाई बचत र बिमाको महत्वबोध गराई संकलित दक्षिणा बचत गराउनु जरुरी हुन्छ ।

बालबालिकाको दक्षिणा रकमलाई वित्तीय संस्थाहरूमा क्रमिक बचतको रूपमा राख्न सकिन्छ । त्यसैगरी दक्षिणाको रकमलाई उनीहरूकै समुज्ज्वल भविष्यका लागि शिक्षा, स्वास्थ्य र जीवन बिमाका लागि पनि उपयोग गर्न सकिन्छ । बिमा एउटा यस्तो माध्यम हो जहाँ जोखिम बहन हुनुका साथै अनिवार्य बचतसमेत हुने गर्दछ । अहिले त लघुबिमा कम्पनीले समेत सेवा प्रवाह थालिसकेको हुँदा वाषिर्क केही सय रकमले मात्रै पनि बिमा गर्ने अवसर उपलब्ध भएको छ । यसर्थ, आफ्नो आर्थिक क्षमता र गच्छे अनुसार जतिसुकै बीमांक बराबरको बिमा गर्न सकिन्छ ।

चाडपर्वलाई लक्षित बिमाले अतिरिक्त आर्थिक बोझ पनि निम्त्याउँदैन । किनकि हरेकवर्ष बिमा प्रिमियम भुक्तानीका लागि यस्तै चाडपर्वमा प्राप्त हुने दानदक्षिणालाई उपयोग गर्न सकिन्छ । सबैभन्दा महत्वपूर्ण पक्ष चैं यस किसिमको व्यवहारबाट बालबालिकाहरूलाई देखि वित्तीय साक्षरता प्रदान गर्न सकिन्छ । त्यस्तै उनीहरूमा बचत गर्ने बानीको विकास हुन्छ र यस्तो बानीले उनीहरूलाई भविष्यमा मितव्ययी बन्न सिकाउँछ ।

यस्तो व्यवहारबाट अन्ततः ‘प्रयोगबिहीन’ मुद्रा बैंकिंग प्रणालीमा प्रविष्ट हुने हुँदा त्यसले बृहत पूँजी निर्माणको प्रक्रियालाई समेत सहज बनाइदिन्छ । जसले अर्थतन्त्रलाई नै गतिशील बनाउँछ । त्यसैले अब चाडपर्वहरू मनाउँदै गर्दा हामीले ख्याल गर्नुपर्ने कुरा के हो भने हामीले यसलाई अनावश्यक रूपमा भड्किलो र आर्थिक बोझयुक्त बनाउनु हुँदैन । हाम्रा व्यवहार र आनीबानीले समाजलाई भड्काउने र समाजलाई थप वर्गीय विभाजन त गरिरहेको छैन ? भन्ने कुरामा विचार पुर्‍याउनुपर्छ । यसर्थ, हामीले सामाजिक एवं सांस्कृतिक मूल्यको अलावा वित्तीय एवं अर्थशास्त्रीय दृष्टिकोण समेतलाई मनन् गरी चाडपर्व मनाउनु जरुरी देखिन्छ । हामीले पर्वहरूलाई आफ्नो क्षमता र गच्छे अनुसार मात्रै मनाउने गर्नुपर्दछ । संकटको अवस्थामा ‘खर्च नगर्नु पनि आम्दानी हो’ भन्ने कुरालाई मनन गरियो भने मात्रै समृद्धि र उन्नतिको मार्ग पहिल्याउने संभव हुनेछ ।

लेखकको बारेमा
मनिकर कार्की

वैकल्पिक अर्थतन्त्रमा रूचि राख्ने कार्की अर्थराजनीतिक विषयमा कलम चलाउँछन् । उनको नियमित स्तम्भ ‘समयान्तर’ प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?