+
+

बाढीले क्षतविक्षत कागबेनीलाई पुरानै स्वरुपमा फर्काउन गाउँलेको हातेमालो 

बाढी पहिरोले कागबेनीवासीलाई ठूलो क्षति पुर्याए पनि उनीहरु हतोत्साही छैनन् । सरकारसँग गुनासो बोकेर बस्नुभन्दा आफ्नै बलबुताले गाउँ पुनर्निर्माणमा जुटेका छन् ।

विकास रोकामगर विकास रोकामगर
२०८० कात्तिक १० गते १०:००
पुनर्निर्माणमा हातेमालो गर्दै स्थानीय ।

१० कात्तिक, पोखरा । गत साउन २८ गते कागखोलामा आएको बाढीले घरगोठ भत्काइदिएपछि कागबेनी मुस्ताङका ६३ वर्षीय कृष्ण गुरुङ आफैं पुनर्निर्माणमा जुटे । बाढीले उनको ‘होटल एभरेस्ट’ खण्डहर बनाइदिएको थियो ।

‘होटल थियो । घर, च्यांग्रा राख्ने सबै गोठ बगाइदियो । २० लाखभन्दा बढी क्षति पुग्यो,’ कृष्ण भन्छन्, ‘अरु घरगोठमा भएका केके बगायो, बगायो । हिसाबकिताबै छैन ।’ उनलाई लडेको आफ्नो घर उकास्न स्थानीय एवं देश–विदेशमा रहेका शुभचिन्तकले भरथेग गरिरहेका छन् ।

जग्गा सबै बगाइदिएपछि ५० वर्षीय कर्मा रिन्चेन आफन्तको शरणमा छिन् । नयाँ घर बनाउने सोचे पनि उनीसँग अब आफ्नो जग्गा छैन, भएको जग्गा बगर भइसक्यो । आफ्नो जग्गासहित घर, गोठ सबै बाढीले सोत्तर बनाइदिए पनि रिन्चेनलाई हतास छैन ।

बाढीले पूर्णरुपमा घरबारविहीन बनेका रिन्चेनजस्तै ९ परिवारलाई गाउँले मिलेर जग्गा उपलब्ध गराइदिएका छन् । कागबेनी जाने बाटो नजिकैको एक्लेभट्टीमा उनीहरुका लागि अस्थायी भवन बन्दैछ । ‘९ वटा घर बनाउन एक्लेभट्टीमा जग्गा दिएका छन् । त्यहीँ घर बनाइदिने भन्याछन्,’ उनले भनिन् ।

सरकारी तथ्यांकअनुसार साउन २८ गतेको बाढीले कागबेनीमा ४६ करोड रुपैयाँ बराबरको भौतिक क्षति पुर्याएको थियो । बाढीले मन्दिर, होटल तथा पुल, सडक सबै बगाएको थियो ।

काग खोलाको बाढीले पुर्याएको क्षति

लगातार दुई दिनको वर्षाले कागखोलामा बाढी आएको थियो । तर, लेदोसहित बाढी आइरहेको समयमै खबर आएकाले मानवीय क्षति भने हुन नपाएको कृष्ण बताउँछन् । ‘पानी परेकोपर्यै गर्न थालेपछि केटाहरु माथि गएर हेरेर खबर गरेका थिए, धन्न मान्छेलाई केही भएन,’ उनले भने ।

अनपेक्षित रुपमा आएको बाढी पहिरोले कागबेनीवासीलाई ठूलो क्षति पुर्याए पनि उनीहरु हतोत्साही छैनन् । सरकारसँग गुनासो बोकेर बस्नुभन्दा आफ्नै बलबुताले गाउँ पुनर्निर्माणमा जुटेका छन् । कसैले पुनर्निर्माण गरिसके, कसैले भर्खरै थालेका छन् ।

सहयोग संकलन

कागबेनीलाई पुरानै स्वरुपमा फर्काउन स्थानीयले घरपझोङ गाउँपालिकाका पूर्वअध्यक्ष फेन्चोक छेप्तेन गुरुङको संयोजकत्वमा कागबेनी बस्ती पुनःस्थापना तथा संरक्षण समिति गठन गरेका छन् ।

बाढीबाट जग्गासहित दुई तले घरगोठ सबै गुमाएकी रिन्चेन पनि स्थानीयकै भरथेगले सन्तुष्ट छिन् । ‘पालिकालाई टिपाउन त टिपाएको छु । अब कुन्नि पैसा आउँछ कि आउँदैन,’ उनी भन्छिन्, ‘समाज, समितिले नै हामीलाई हेरेको छ । सरकारबाट आएपछि बाँड्नुहोला नि !’

पुननिर्माणको क्रममा रहेको एक भवन

कागबेनी बस्ती पुनःस्थापना तथा संरक्षण समिति फेन्चोेक छेप्तेनका अनुसार हालसम्म देशविदेशबाट करिब ८० लाख रुपैयाँ सहयोग संकलन भइसकेको छ । ‘यहाँका गाउँपालिका, प्रदेश सबैकोे सहयोग छ । त्यसमा पनि मुस्ताङका सबैले तनमन, धनसहित आफैंले बेल्चा लिएर सहयोग गरिराख्नु भएको छ,’ उनी भन्छन्, ‘मुस्ताङवासीले धेरै चन्दा पनि सहयोग गरेका छन् ।’

छोप्तेनले संकलित रकमबाट डोजरले सम्याउने, थुप्रिएका गेग्य्रान फाल्ने काम गरिरहेको सुनाए । ‘बाढी आएकोे करिब तीन महिना भयो । पहिलेभन्दा धेरै सफा भइसकेको छ । खोलालाई पुरानो ट्रयाकमा ल्याउन सकेका छौं,’ उनले भने ।

खोलाको मापदण्ड तोकेर वस्ती पुनर्निर्माण

कागबेनीमा बाढीले वितण्डा मच्चाएको दुई महिनापछि कात्तिक १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेलिकप्टरबाटै अवलोकन गरे । त्यसअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित मन्त्रीहरुले स्थलगत अवलोकन गरिसकेका छन् ।

कागबेनी क्षेत्रमा बनाइँदै गरेको घर

स्थलगत अवलोकनमा आउने प्रतिनिधिहरुलाई पनि कागबेनीवासीले ठूलो माग राखेका छैनन् । बरु विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी काग खोला संरक्षण र कागबेनी बस्ती पुनर्निर्माण गर्न माग गरिरहेका छन् ।

कात्तिक १ गते जोमसोममा राष्ट्रिय प्रकृति संरक्षण संरक्षण कोष अन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जोमसोममा आयोजना गरेको ‘जलवायु संवाद’ कार्यक्रममा पुगेका प्रधानमन्त्री प्रचण्डलाई कागबेनी पुनर्निर्माण समितिले ज्ञापनपत्र बुझाएको थियो । उक्त ज्ञापनपत्रमा पनि स्थानीयले (डीपीआर) तयार गरी खोला संरक्षण र बस्ती पुनर्निर्माण गर्न उल्लेख गरेका थिए ।

खोला किनारमै बस्ती रहेकाले ठूलो भौतिक क्षति पुगेको उनीहरु आफैंले महसुस गरेका छन् । त्यसका लागि अब बन्ने नयाँ बस्तीमा खोलाको निश्चित मापदण्ड तोक्नेसहमति स्थानीयले गरिसकेका छन् ।

छेप्तेन गुरुङ, संयोजक, कागबेनी बस्ती पुनःस्थापना तथा संरक्षण समिति

‘हामी गाउँलेले पनि अबदेखि घर बनाउँदा खोलाको निश्चित भाग २० मिटर छोड्नुपर्नेछ भन्ने सहमति गरेका छौं । केही गाउँलेलाई समस्या त पर्छ,’ समिति संयोजक छेप्तेनले अनलाइनखबरसँग भने, ‘तर, उहाँहरुलाई कसरी सकिन्छ भनेर कुराकानी पनि गरिराखेका छौं ।’

कागबेनी हिन्दु र बौद्ध धर्म मान्नेहरुको संयुक्त आस्था केन्द्रमात्रै नभएर भविष्यमा कर्णाली प्रदेश (डोल्पा) र कोरला नाका जोेड्ने मुख्य केन्द्र बन्ने भएकाले पनि पुनर्निर्माणमा विशेष ध्यान दिन समितिकोे माग छ ।

‘यहाँ डीपीआर राम्रोसँग नगरिकन पुलहरु बनेका छन् । त्यसले पनि बाढी आउँदा ठूलो क्षति पुगिराखेको छ,’ छेप्तेन भन्छन्, ‘आगामी दिनमा खोला नियन्त्रण गर्नुभन्दा पहिले राम्रोसँग वातावरणीय प्रभाव अध्ययन गरेरमात्रै यो ठाउँको विकास गर्नुपर्छ ।’

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?