 
																						११ कात्तिक, चितवन । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका नाक, कान, घाँटी रोग विभागका प्रमुख डा. देजकुमार गौतमले पहिला पहिला उमेर ढल्किएपछि देखिने नाक, कान, घाँटीको क्यान्सर अहिले युवा अवस्थामा नै देखिन थालेको बताएका छन् ।
अनलाइनखबरसँग कुराकानी गर्दै डा. गौतमले विगतमा ५०/६० वर्ष कटेपछि देखिने नाक, कान, घाँटीको क्यान्सर हिजोआज २२ वर्षदेखिकै युवाहरूमा देखिन थालेको भन्दै चिन्ता व्यक्त गरे ।
‘हामीले पढ्दा नै थाइराइड भएका बाहेक ५०/६० कटेकालाई यस्तो क्यान्सर हुनसक्छ अलि बढी सचेत हुनु है भनेर पढियो, तर अहिले २२ वर्ष उमेरकै क्यान्सरका बिरामीलाई अप्रेशन गर्नुपरेको छ’, डा. गौतमले भने, ‘मैले काम गर्न थालेको यतिका वर्ष भयो, पछिल्लो १० वर्षमा युवाहरुमा नाक, कान घाँटीको क्यान्सरको असर बढी देख्न थालेको छु ।’
विश्वमा क्यान्सरहरूको र्याकिङ्गमा नाक, कान, घाँटीको क्यान्सर तेस्रो नम्वरमा पर्दछ ।
युवाहरूमा नाक कान घाँटीको क्यान्सर बढ्नुको पछाडि वंशाणुगत कारण, वातावरणीय प्रभावका साथै अहिले इन्टरनेट र डिजिटल मिडियाको दुरुपयोगले हुनसक्ने डा. गौतम बताउँछन् । युवाहरूको खानपिन, रहनसहन र एक्सपोजरले धेरै असर गरेको डा. गौतमको भनाइ छ ।
उनले अहिले बढेको सचेतना र नजिकै अस्पताल भएका कारणले स्वास्थ्य जनताको पहुँचमा थपिँदा यस्तो भएको पनि हुनसक्ने बताए । पहिला तेस्रो र चौथो चरणको क्यान्सर भएका मानिसहरु अस्पताल आउने गरेकोमा हिजोआज भने दोस्रो र तेस्रो चरणको क्यान्सर भएका बिरामी अस्पताल आउने संख्या धेरै पाएको डा. गौतमले बताए । ‘पहिलो स्टेजमा रोग भएको बेला आउने संख्या लगभग उस्तै जस्तो पाउँछु, तर तुलनात्मक रुपमा पहिलेको भन्दा दोस्रो र तेस्रो चरणमा रोग भएकाहरु अस्पतालमा बढी आएको देख्छु’ डा. गौतमले भने, ‘चौथो स्टेजमा आइपुग्ने संख्या पहिलाभन्दा कम देखिन्छ ।’ डा. गौतमले जति पहिला आयो रोग निको हुने दर पनि उत्ति नै बढी हुने भएकोले यसलाई सुखद संकेत मान्नुपर्ने बताए ।
अवस्था जटिल नहुँदै अस्पताल जानुले निको हुने दर पनि बढाउँदै लगेको छ । ५ वर्षसम्म रोग बल्झिएन र निरन्तर फलोअप गर्दा कुनै समस्या देखिएन भने त्यसलाई क्यान्सर निको भएको अवस्थाका रुपमा बुझ्ने गरिन्छ । पहिलाको भन्दा अहिलेको उपचार पद्दतिमा धेरै परिवर्तन आएकाले विगतमा गर्न नसकिने उपचारहरू पनि हिजोआज सहज र सुलभ भएको डा. गौतम बताउँछन् ।
सर्जरी तथा रेडियोथेरापीबाट यसको उपचार गर्न सकिने चिकित्सकहरुले बताएका छन् । कतिपय अवस्थामा केमोथोरापीको पनि आवश्यकता पर्छ । लेजर प्रविधिबाटसमेत उपचार गर्न सक्ने अवस्था कतिपय केसमा हुन्छ । समयमै अर्थात् सुरुवातको अवस्थामा थाहा पाए क्यान्सर रोगको उपचार सर्जरीबाट सम्भव हुन्छ । उपचारपछि पनि नियमित चेकअप गराउनुपर्छ ।
घाँटीको क्यान्सर पुरुषमा बढी
नाक, कान, घाँटीको क्यान्सरको चर्चा अन्य क्यान्सरको तुलनामा कम भएको पाइन्छ तर सर्जरी नै गर्नुपर्ने अवस्था बढी मात्रामा यही क्यान्सर लागेका बिरामीहरूको हुने डा. गौतमले बताए ।
उनका अनुसार नेपालमा करिब १ लाख मानिसमा नाक, कान, घाँटीको क्यान्सर लागेको अनुमानित तथ्यांक छ । भरतपुर क्यान्सर अस्पतालमा सन् २०२२ मा नाक, कान, घाँटी सम्वन्धी नयाँ क्यान्सरका ७६९ जना बिरामी थपिएका थिए । तीमध्ये पुरुषहरुको संख्या ५७६ जना छ । विश्वमा महिलाको तुलनामा पुरुषमा यस्तो क्यान्सर बढी पाइएको छ । पुरुषले बढी धूमपान तथा मद्यपान गर्ने भएकाले यस्तो भएको बताइन्छ ।
घाँटीको क्यान्सर पुरुषमा नै बढी देखापरेको छ । यस्तो क्यान्सर लागेको मानिसको बोलाइको ताल फरक हुन्छ । त्यसले बोल्ने र आवाज निकाल्ने अंगमा असर पार्छ । मुखको क्यान्सरमा मुखमा आएको घाउ लामो समयसम्म निको नहुनु, मुखमा अल्सर आउनु, मुख वा जिभ्रोमा मासु पलाउनु, दाग–धब्बा आउनु जस्ता लक्षण देखिने डा. गौतमले बताए ।
यस्तै, घाँटीको क्यान्सरको लक्षणमा आवाज धोद्रो हुने, सास फेर्न गाह्रो हुने, खाना निल्न गाह्रो हुने, घाँटी सुन्निने वा डल्लो आउने हुन्छ । कानको क्यान्सरको लक्षणमा कान डम्म हुने, कानबाट रगत आउने र कान नसुन्ने लक्षणहरु देखिने डा.गौतमले बताए ।
ह्युमन प्यापिलोमा भाइरसको कारणले पनि नाक, कान घाँटीको क्यान्सर बढेको हुन सक्ने देखिएको छ ।
महिलाहरुको पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने एचपीभी खोप पश्चिम देशहरुमा पुरुषहरुलाई पनि लगाउन सुरु गरिएको छ । यो भ्याक्सिनले दुबै क्यान्सर रोग लाग्न नदिन सहयोग गर्ने देखिएको डा. गौतमले बताए ।
उनले देशभरका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुले आफ्नोमा आउने नाक, कान घाँटी रोगसँग सम्वन्धित र शंकास्पद अवस्था देखेमा नगरी तुरुन्तै ठूला अस्पतालमा रेफर गरिदिए बिरामीले समयमा नै उपचार पाउने र रोग छिप्पिन नपाउने बताए ।
खानपिन र वातावरणीय प्रभावले क्यान्सरजन्य रोगहरु निम्ताउने गरेको पाइन्छ । ‘५० प्रतिशत रोग त हामी के खान्छौं, के गर्छौं, कस्तो आनीबानी देखाउँछौं भन्ने कुरामा नै डिपेन्ड गर्छ,’ डा. गौतमले भने, ‘५० प्रतिशत रोग लाग्न दिने वा नदिने भन्ने जिम्मेवार त हामी आफैं रहेछौं, हरेक रोग लाग्नुमा आफ्नो आनीबानी र खानपिनको आधा भूमिका हुन्छ ।’
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4