+
+

गैर आवासीय नेपालीलाई नेपालमा लगानी बढाउन महासंघका अध्यक्ष ढकालको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १३ गते १३:४०

१३ कात्तिक, काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महास‍ंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रचुर अवसरहरू भएकाले लगानी बढाउन बेलायतमा रहेका गैर आवासीय नेपालीहरूलाई आग्रह गरेका छन् ।

नेपाल जनसम्पर्क समिति बेलायतले लन्डनमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालको जलविद्युत्  र पर्यटनमा लगानीको प्रतिफल उच्च रहेकाले लगानी बढाउन आग्रह गरेका हुन् ।

बेलायतस्थित गैर आवासीय नेपालीको समेत लगानीमा चन्द्रागिरि हिल्स तथा केबलकार सञ्चालनमा ल्याएको चन्द्रागिरि हिल्स नेपालकै आकर्षक पर्यटन गन्तव्य बनेको र उच्च प्रतिफल दिएको उदाहरण प्रस्तुत गर्दै उनले लगानी बढाउन हिचकिचाउनु पर्ने कारण नरहेको बताए ।

सातै प्रदेशमा चन्द्रागिरि जस्तै हिल स्टेसन सहितका केबलकार परियोजना अघि बढाएको उल्लेख गर्दै अध्यक्ष ढकालले आफू जन्मे हुर्केको प्रदेशमा रहेका पर्यटकीय पूर्वाधार परियोजनामा लगानी गर्न पनि आग्रह गरे ।

कास्कीको सिकलेस, ताप्लेजुङको पाथिभरा र कर्णालीको चिसापानीमा जालपादेवी केबलकार परियोजना निर्माणको चरणमा प्रवेश गरिसकेको भन्दै उनले लगानीको अवसर हातमै आइपुगेको बताए ।

गैर आवासीय नेपालीसँगको सहकार्यमा म्याग्दीमा जलविद्युत् परियोजना सम्पन्न भइसकेकोले अन्य जलविद्युत् परियोजनामा समेत लगानी बढाउन उनले आग्रह गरे ।

विश्वव्यापी संकटका असरले नेपालको अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदै गएको, उल्लेख्य रूपमा रेमिट्यान्स भित्रिएको, पर्यटक आगमनमा सुधार भएको र बैंकिङ क्षेत्रमा लगानी योग्य रकम बढिरहेकाले लगानीको वातावरण सुधार भइरहेको उनले बताए ।

सामाजिक सञ्जाल मार्फत फैलिने नकारात्मक कुरालाई ध्यान नदिएर नेपालमा रहेका लगानी अवसरहरूलाई छोप्न अध्यक्ष ढकालले आह्वान गरे ।

लगानी तथा प्रतिफलका हिसाबले नेपालमा अवसरै अवसरको सम्भावना भएकाले त्यसबाट फाइदा उठाउन ढिलाइ गर्न नहुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?