+
+
बारा गोली प्रकरण : :

‘खाजा लिएर मोटरसाइकलमा फर्किँदै गरेका शिक्षकलाई गोली हानेर सीमा क्षेत्रतिर भागे आक्रमणकारी’

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १३ गते १६:१९

१३ कात्तिक, काठमाडौं । सोमबार मध्याह्न साढे १२ बजेतिर कलैया उपमहानगरपालिका–६, बाराका शिक्षक रुपेश स्वर्णकार (गुड्डु) खाजा लिन घरबाट ५ सय मिटरको दूरिमा रहेको रोजबेरी होटलतिर गएका थिए ।

चाउमिन बोकेर फर्किँदा पौन १ बजेको थियो । उनी प्रधानाध्यापक रहेको बाल एकता बोर्डिङ स्कुल र उनको घर नजिकै थियो ।

वडा नं. ६ का वडाध्यक्ष रामविश्वास ठाकुर लोहारका अनुसार, स्कुल नजिक पुग्ने बेला उनलाई दुई वटा मोटरसाइकलमा भएका अज्ञात व्यक्तिले घेरे ।

‘मोटरसाइकल कुदिरहेको थियो, उहाँको अगाडि एउटा र पछाडि अर्को मोटरसाइकलले उनलाई पछ्याएछ’, लोहारले अनलाइनखबरसँग भने, ‘उहाँले भाग्ने प्रयास गर्दै स्पीड बढाउनु भयो, तर अगाडि पट्टी रहेको मोटरसाइकलमा सवार दुईजना मध्ये पछाडि बस्नेले गोली चलाएछन् ।’

त्यसक्रममा रुपेशलाई कम्तिमा ५ राउण्ड गोली लागेको छ ।

गोली लागेलगत्तै उपचारका लागि उनलाई कलैया अस्पताल लगिएको थियो । तर, उपचार सम्भव नभएपछि फेरि बयोधा अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ । त्यहाँबाट पनि काठमाडौं रेफर गर्ने तयारी हुँदाहुँदै चिकित्सकहरुले मृत घोषित गरेको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले अनलाइनखबरलाई बताए ।

कलैया उपमहानगरपालिकाका प्रमुख विनोदप्रसाद शाहका अनुसार, दिनदहाडै गोली चलेका बेला आसपासमा बाटो हिँड्ने महिलाहरु पनि थिए ।

‘उनले भाग्ने प्रयास गरेका रहेछन्, तर कालो सीसा भएको हेलमेट लगाएर आएका अज्ञात व्यक्तिले गोली हानी रहे’, शाहले भने, ‘गोली हानेर उनीहरु भागिहाले ।’

पेशेवर अपराधीले गोली हानेजस्तो देखियो : प्रमुख जिल्ला अधिकारी

बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार, घटनामा पेशेवर अपराधी प्रयोग भएको जस्तो देखिन्छ ।

‘बीच बाटोमा कुरेर बसेर उनलाई मात्र टार्गेट गरेर घर छेऊमा गोली हानिएको छ, जसरी उनलाई मात्र लाग्ने गरेर गोली हानिएको छ, त्यो हेर्दा पेशेवर अपराधी प्रयोग भए जस्तो देखिन्छ’, सापकोटाले भने, ‘यसमा संलग्नको खोजी र अनुसन्धान प्रहरीले थालेको छ ।’

अस्पतालमा बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, मेयर विनोद शाह लगायत । तस्वीरः मुकेशचन्द्र कुशवाहाको फेसबुकबाट

वडाध्यक्ष लोहारका अनुसार, स्वर्णकारले झण्डै एक दशकअघिदेखि स्कुल चलाउँदै आएका थिए । बजारमा उनको दुई वटा सुन पसल पनि छ । ‘उहाँ समाजसेवी पनि हुनुहुन्थ्यो, समाजमा अप्ठ्यारो पर्दा सहयोग गरिरहनु भएको हुन्थ्यो’, उनले थपे, ‘उहाँको कुनै रिसिइबी भएको जस्तो लाग्थेन ।’

जिल्ला प्रहरी कार्यालय, बाराका एक अधिकृतका अनुसार, गोली हानेपछि मोटरसाइकलमा भएको चार जनाको समूह दक्षिणतिरै भागेको छ । घटना सीमा क्षेत्रबाट ८ किलोमिटरको दूरिमा भएको हो । प्रहरी अधिकृतहरुले उनीहरु भारततिर भागेको हुनसक्ने आशंका गरेका छन् ।

गोली हान्ने वित्तिकै स्वर्णकारकै बोर्डिङको बाटो हुँदै उनीहरु सीमा क्षेत्रतिर लागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । प्रहरीले अहिले सीमा क्षेत्र शिल गरेको छ भने आसपासका क्षेत्रमा हुलिया परिपत्र गरेर खोजतलासलाई तीब्र बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?