+
+

प्रस्तावित विधेयकमा समेटियो शिक्षकको मर्यादाक्रम

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १३ गते १६:४९

१३ कात्तिक, काठमाडौं । राष्ट्रिय मर्यादामा शिक्षकलाई समेटेर मर्यादा सम्बन्धी कानुन बनाइने भएको छ ।

सोमबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट पारित ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९’ मा शिक्षकको मर्यादा सम्बन्धी व्यवस्था प्रस्तावित छ ।

विश्वविद्यालयका प्राध्यापकको मर्यादा क्रम १७ औं स्थानमा राखिएको छ । विश्वविद्यालयका सहप्राध्यापक र माध्यमिक तहको प्रथम श्रेणीका शिक्षकको मर्यादा १९ औं स्थानमा छ ।

माध्यमिक तह द्धितीय श्रेणीका शिक्षकलाई २० औं स्थानमा र माध्यमिक तह तृतीय श्रेणीका शिक्षकलाई २१ औं स्थानमा राखिएको छ ।

विश्वविद्यालयका उपप्राध्यापकको मर्यादाक्रम पनि २० औं स्थान रहने र विश्वविद्यालयका सहायक प्राध्यापकको मर्यादा क्रम २१ औं स्थानमा राख्ने गरी विधेयक अघि बढेको छ ।

प्रस्तावित विधेयकको प्रतिवेदन मंगलबार बस्ने राष्ट्रिय सभाको बैठकमा पेश गर्ने विधायन व्यवस्थापन समितिको तयारी छ । विधायन व्यवस्थापन समितिबाट पारित विधेयकलाई राष्ट्रिय सभाले पारित गरी प्रतिनिधि सभामा पठाउनुपर्छ । प्रतिनिधि सभाले पनि स्वीकार गरी अगाडि बढाएको खण्डमा राष्ट्रिय मर्यादामा शिक्षकलाई समेत समेटिएर कानुन बन्नेछ ।

विधायन व्यवस्थापन समितिकी सभापति जयन्तीदेवी राई शिक्षकहरुको सम्मानका लागि मर्यादा निर्धारण गर्ने गरी कानुन बनाउने निर्णय हुनु ऐतिहासिक काम भएको बताउँछिन् ।

शिक्षकहरूले राज्यले मर्यादाक्रम कायम गरिदिनुपर्ने माग राख्दै आए पनि लागू हुन सकेको छैन । तर, यसअघि नै सरकारले शिक्षकहरुको मर्यादा निर्धारण गर्ने सहमति शिक्षकहरुसँग गरिसकेको छ ।

शिक्षा विधेयकलाई लिएर शिक्षकहरुले आन्दोलन गरेपछि सरकारले उनीहरुसँग सहमति गरेको थियो । सहमतिपत्रको पहिलो बुँदामै शिक्षकको मर्यादाक्रम कायम गर्ने उल्लेख थियो । सरकार र शिक्षकहरुबीच भएको सहमतिलाइ समेत ख्याल गर्दै विधायन समितिले राष्ट्रिय मर्यादामा शिक्षकलाई समेटेर मर्यादा सम्बन्धी विधेयक पास गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?