+
+

यस वर्ष दयाहाङका तीन भिडन्त

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १४ गते १२:४१

काठमाडौं । हुन त फिल्म रिलिज र वितरणको निर्णय गर्ने जिम्मा कलाकारको होइन । तर यसको सबैभन्दा ठूलो प्रहार चाहिं कलाकारमाथि नै हुने गर्छ । यो पीडाको महसुस सबैभन्दा बढी अभिनेता दयाहाङ राईलाई हुनुपर्छ ।

वैशाख १ गते दयाहाङका दुई फिल्म ‘जारी’ र ‘बिहेपास’ एकैदिन रिलिज भएका थिए । ‘जारी’ ब्लकबस्टर हुँदा ‘बिहेपास’ले घरेलु बक्स अफिसमा आफूलाई अब्बल तुल्याउन सकेन । दुई फिल्म एकैदिन रिलिज हुने भएपछि प्रवर्द्धनका लागि दयाहाङले निकै व्यस्त तालिकालाई पछ्याउनुपरेको थियो ।

आफू अभिनित दुई फिल्म एकैदिन आउने भएपछि दयाहाङले मिडियासामु कूटनीतिक उत्तर दिंदै सहजीकरण गर्न खोजेका थिए । तर यसो भनिरहँदा उनको अनुहारमा ‘दबाब’ प्रष्ट देखिन्थ्यो । रिलिजको यो कठिन समीकरण पुनः उनको प्रदर्शन क्यालेन्डरमा दोहोरिएको छ ।

फागुन २५ गते ‘रंगेली’ र ‘लोकल हिरो’ एकैदिन रिलिज हुने भनिएको छ । यी दुवैमा दयाहाङको शीर्ष भूमिका छ । ‘लोकल हिरो’ले सोही मितिमा प्रदर्शन मिति घोषणा गर्दा दयाहाङले निर्मातालाई त्यसो नगर्न आग्रह गरेको बुझिएको छ । तर निर्माता चाहिं सोही मितिमा फिल्म रिलिज हुने अडानमा छन् ।

प्रेम दिवस अर्थात् भ्यालेन्टाइन सप्ताहको छेकोमा माघ २६ गते दयाहाङकै दुई फिल्म ‘दयारानी’ र ‘हात्तीछाप’ले प्रदर्शन मिति घोषणा गरेका छन् । अहिलेसम्म घोषित क्यालेन्डरअनुसार एकै वर्षमा दयाहाङका तीन फिल्म जुध्नेछन् । कलाकारलाई प्रचारमा समय दिनुपर्नेदेखि दर्शक विभाजित हुने समस्या त छँदैछ, यसबारे निर्माताको आफ्नै खाले व्याख्या छ ।

निर्माता चाहिं चल्ने फिल्म चलिहाल्छ भन्ने दृष्टिकोणमा छन् । तर कलाकारमाथिको दबाब भने कष्टकर हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?