+
+

आम जनताबाहेक सबैको तोकियो मर्यादाक्रम

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १४ गते १३:४३

१४ कात्तिक, काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले सोमबार राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०७९ पास गर्‍यो ।

राष्ट्रिय सभामा रहेका सबै दलका प्रतिनिधिहरुले गैरसरकारी विधेयकका रुपमा राष्ट्रिय मर्यादासम्बन्धी विधेयक गत चैतमा दर्ता गराएका थिए । गणतन्त्रपछि नेपालमा मर्यादासम्बन्धी छुट्टै व्यवस्था नभएको भन्दै यो विधेयक ल्याउनुपरेको दलिल उनीहरुको थियो ।

यो विधेयक उत्पत्तिको पृष्ठभूमि पनि रोचक नै छ । चल्तीको भाषामा राष्ट्रिय सभा सांसदहरुलाई माननीय भन्ने गरिए पनि वैधानिक व्यवस्थाभित्र नसमेटिएकाले आफूलाई मयार्दाक्रमको सोपानमा पार्न कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत दलहरुमा रहेका सांसदहरुले अग्रसरता लिएका थिए ।

सोमबार त्यसै प्रयासले मूर्तता पाएको हो ।

लेखक नारायण ढकाल पूवसांसद पनि हुन्, जसलाई नयाँ मर्यादाक्रममा आफू कति नम्बरमा छु भन्ने थाहा छैन । उनलाई मतलब पनि छैन ।

‘म कुनै बेला पूर्वसांसद थिएँ भन्ने बिर्सन चाहन्छु’, उनी भन्छन्, ‘अँ, एक दिन सम्झन्छु । सिंहदरबार छिर्ने बेला । त्यहाँ छिर्नका लागि ढोकामा कार्ड देखाउनुपर्छ ।’

ढकालका अनुसार लोकतन्त्रमा मर्यादाको बाँडफाँट आवश्यक हुँदैन । अहिले जो मर्यादाक्रममा आफूलाई र नजिकको मान्छेलाई पारिरहेका छन्, उनीहरुमा जनताप्रति उत्तरदायित्वको भावना कमजोर छ ।

‘यो ठूलो विडम्बना हो, जसले किसान, मजदुरको शक्ति स्थापित गरौं भनेर राजनीति चलाए, उनीहरु नै आज मर्यादाक्रममा लागेका छन् । त्यहाँ किसान, मजदुरको कुनै मर्यादाक्रम छैन’, ढकाल भन्छन्, ‘यस्तो बेकारको व्यवस्था आवश्यक नै छैन ।’

मानवशास्त्री जनक राईले अनलाइनखबरसँग केही समय अघि कुरा गर्दै यो मर्यादाक्रम जात व्यवस्थाकै अर्को रुप भएको बताएका थिए । राईको लेखमा नेपालमा चालु इज्जत इकोनमीमा मर्यादाक्रम कसरी मिसिएर आएको छ भन्ने चर्चा छ ।

लेखक खगेन्द्र संग्रौलाले एक्समा एउटा कुकुरको तस्वीर राख्दै उसको मर्यादा किन मर्यादाक्रममा छुट्यो भनी प्रश्न गरेका छन् । अनलाइनखबरँसग कुरा गर्दै संग्रौला भन्छन्, ‘सामन्तवाद ढाल्न हिँडेका यी नेताहरुले सामन्ती संस्कार नै सिकेछन्, राजनीतिक र प्रशासनिक पदमा बसेका ठालुहरुले आफूलाई मात्रै मर्यादाको हकदार ठानेको उदाहरण हो यो ।’

मर्यादाक्रम अनावश्यक कुरा भए पनि हिजो सहमति जुटेको विधेयकमा संघीय मन्त्रीलाई मूख्यमन्त्रीभन्दा माथि राख्ने, काठमाडौंका मेयरको मर्यादाक्रम तल खस्काउने आदि कुराले संघीयताको धज्जी उडाएको उनले बताए ।

लेखक नारायण ढकालका अनुसार मर्यादाक्रम मानवद्वेषी पनि छ । सफाइ मजदुर, दलित आदिको मर्यादा नहुने, जसको हातमा शक्ति छ, उसको मात्रै मर्यादा हुने कुरा लोकतन्त्रको विरोधमा छ ।

‘कति महत्वपूर्ण कानुन बन्नै बाँकी छन्, ती अनेक कारणवश ढिला गरिएका छन्, तर आफ्नो मर्यादाको कानुन कति छिटो पास भयो भन्ने कुराले नै अहिलेको वास्तविक अवस्था देखाउँछ’, ढकालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?