+
+

‘मर्यादाक्रम’को सामन्ती रुझान

हिजोको सामन्ती राज्य प्रणालीले विकास गरेको मानसिकताको जगमा आफू ठालु बन्नका लागि जनताभन्दा विशिष्ट ठानी ‘सम्माननीय’, ‘माननीय’ तथा ‘महामहिम’ कायम हुनका लागि गरेको प्रतिस्पर्धा चाहिं ‘बडामहाराजाधिराज’ को नयाँ संस्करण जस्तो अनुभूति हुन्छ ।

डा. डिजन भट्टराई डा. डिजन भट्टराई
२०७९ चैत २० गते १०:०४

संसदमा ‘राष्ट्रिय मर्यादाक्रम सम्बन्धी विधेयक, २०७९’ नामको गैरसरकारी विधेयक प्रस्तुत गरिएपछि मर्यादाक्रमका विषयमा विभिन्न कोणबाट बहस सुरु भएको छ । सामन्तवादको कोखबाट जन्मिएको ‘मर्यादाक्रम’ लोकतान्त्रिक राज्य प्रणालीमा सर्वस्वीकार्य हुनसक्दैन । समस्या मर्यादाको क्रममा होइन, किन र केका लागि ‘मर्यादाक्रम’ बनाउने भन्ने अवधारणामा छ ।

मानवीय अस्तित्वको आधार मर्यादा र आत्मसम्मान हो । आत्मसम्मान आफ्नो सापेक्षतामा मानिसले सार्वभौम रूपमा अनुभूति गर्छ । आत्मसम्मान गुमेको मानिसको जीवन निरर्थक जस्तै हुन्छ । त्यसैले आत्मसम्मान हरेक मानवमा समान हुन्छ, त्यो जुनसुकै पद र ओहोदाको किन नहोस् ।

डा. डिजन भट्टराई

मानवीय मर्यादा भनेको आत्मसम्मानको विकासका लागि अर्काले प्रदान गर्ने विषय हो । आत्मसम्मानको विकासमा आफ्नै भूमिका प्रधान हुने भए पनि मर्यादा प्राप्तिमा आफूले गरेका क्रियाकलापमाथि अरू मानिसको अनुभूति र सम्मान जोडिएको हुन्छ । सम्मान र मर्यादा मानिसले सामाजिक जीवनमा पुर्‍याएको योगदानको सापेक्षतामा प्रदत्त हुन्छ । त्यसैले मर्यादा स्वघोषित तथा स्वनिर्मित विषय भने होइन ।

मर्यादाको स्वरूप

मानव सभ्यताको इतिहासलाई हेर्ने हो भने मर्यादाको निर्माणमा तीनवटा धार विकसित भएको पाइन्छ । पहिलो स्वघोषित, दोस्रो राज्य प्रदत्त औपचारिक र तेस्रो आमजनताले स्वतस्फूर्त रूपमा प्रदान गरेको मर्यादा ।

पहिलो धार अन्तर्गत सम्पत्तिको सञ्चय र वर्गीय समाजको निर्माणसँगै मर्यादाको चेतना विकास भएको पाइन्छ । मानव सभ्यताको इतिहासमा शक्तिशालीले आफूले आफैंलाई पूजा गर्न थाले । तत्कालीन शासकहरूले मानवतामाथि गरिएको नृशंस क्रियाकलापबाट ऐतिहासिक सभ्यतासँग भित्रभित्रै डराएको कुण्ठालाई शमन गर्न आफूमा देवत्वकरण गर्न पुगे । मानव सभ्यतामाथिको अत्याचार इतिहासमा सम्मानित हुन सक्दैन । कञ्चटमा बन्दुक राखेर, मानवीय मूल्यमाथिको प्रहारले मर्यादाको निर्माण हुँदैन । तर राजा-महाराजाहरूले आफ्नो मर्यादा स्वयं घोषणा गर्थे । नामको अगाडि ‘श्री …’ र नामको पछाडि ‘देव’ लेख्थे । आफैंले विभूषण र सम्मानको घोषणा गरी आफैं पहिरिन्थे । इतिहास त्यसै भन्छ ।

हिजोको सामन्तवादी राज्य प्रणालीले कर्मचारी, सेना, प्रहरी लगायत राज्यसंयन्त्रलाई औपचारिक मर्यादा दिएको थियो । तर नयाँ लोकतान्त्रिक राज्य प्रणालीमा कानुनले दिएको विशिष्ट कार्य जिम्मेवारी सम्हालेका संयन्त्र र यसका पदाधिकारीलाई छुट्टै विशिष्ट मर्यादा दिनु जरूरी छ र ?

सामन्तवादी अर्थ प्रणालीको जगमा निर्माण भएको सामाजिक संरचनामा शक्तिले मर्यादाको निर्माण गर्छ । फलतः हरेक मानव मस्तिष्कमा सामन्तवाद विद्यमान हुन्छ, त्यसैले ऊ प्रशंसाको भोको हुन्छ । सधैं आफूलाई मात्र केन्द्रमा राख्छ । आफ्नो सापेक्षताबाट मात्रै संसारलाई बुझ्छ । आफूमा सत्य केन्द्रीकृत गर्छ । आफूमा रहेको सीमित ज्ञानको समेत बोध नभई आफूलाई सर्वज्ञानी सम्झन्छ । आफ्नो मूर्खतालाई अर्काको कमजोरीमा आरोपित गरी आत्मसन्तुष्टि लिन्छ । आफूले आफूलाई महानताको पदवी प्रदान गर्दै आफ्नो प्रशंसामा घण्टौं व्यतीत गर्छ । अरूको काँधमा चढेर संसार हेर्नुलाई सफलताको आधारको रूपमा व्याख्या गर्छ । उसले आफ्नो मर्यादाको स्वघोषणा आफैं गर्छ ।

दोस्रो धार राज्य र सरकारले औपचारिक रूपमा निर्माण गरेको हो । स्वाभाविक रूपमा राज्य प्रणाली शक्तिले निर्माण हुन्छ । त्यसैले बन्दुकको नालबाट निस्किएको मर्यादा हृदयको झञ्कार त हुन सक्दैन, तर राज्य प्रणालीको अस्तित्व सर्वस्वीकार्य विषय हो । यो कृत्रिम र औपचारिक सम्मान हो । विधि र कानुनले यस मर्यादाको सीमा निर्धारण गर्छ । राज्य शक्ति र स्रोत-साधनको परिचालनको प्राधिकारको सापेक्षतामा मर्यादाको निर्धारण हुन्छ । यसलाई स्वीकार्न हरेक व्यक्ति बाध्य हुनुपर्छ । किनकि राज्य सत्ता बन्दुकको नालबाट जन्मन्छ ।

मर्यादाको तेस्रो धार आवाजविहीनहरूको नसुनिएको आवाज हो । हरेकको हृदयमा गुञ्जिने संगीतमय भाव हो । यस धारमा मानवीय मूल्यको रक्षा गर्नका लागि प्राण आहुति गर्नेहरूलाई बाँच्नेहरूले, हँसाउनेहरूलाई हाँस्न बिर्सिएकाहरूले, मुक्ति-योद्धाहरूलाई अत्याचारको जाँतोमा पिसिएकाहरूले मर्यादित रूपले सम्झन्छन् । त्यसैले सम्मान पनि निरपेक्ष छैन । वर्गीय समाजमा सम्मान पनि वर्गीय हुन्छ ।

सत्ताको मदमा मर्यादाक्रमको बहस भइरहेको बेला मेरो स्पष्ट बुझाइ छ, ‘मर्यादालाई कागजको खोस्टामा नखोजौं ।’

प्रश्न आउन सक्छ, ‘किन ?’ जवाफ स्पष्ट छ, ‘किनकि सम्मान र मर्यादा त प्रत्येक व्यक्तिको हृदयमा हुनुपर्छ तर विद्यमान समाजमा शक्ति, सत्ता र सम्पत्तिले सम्मानको खरिद-बिक्री हुन्छ । अचम्म छ ! सम्मानलाई पनि कागजमा लेखेर प्रमाणित गरिदिनुपर्छ । मानवीय मूल्य र अस्तित्वको अन्त्य भएको समाजमा मात्र सम्मानलाई कागजमा लेखिन्छ । मलाई शक्तिका अवयवहरूले तिमीलाई महान् भनेको सुन्न मन छैन । तिनीहरूले तिमीलाई उच्च मर्यादा दिएको पनि हेर्न मन छैन । किनकि कागजका खोस्टामा रहेको निर्जीव र मानवताहीन मर्यादा र सम्मानको स्वीकार्यता के पो होला र !

मर्यादा र सम्मान हृदयको आवाजबाट प्रवाहित हुनुपर्छ, जुन शान्त, सौम्य र सुन्दर हुन्छ । त्यसमा रंगीचंगी फूलहरू जडित हुँदैनन् । मन-मस्तिष्कमा चिरकालसम्म जिउँदो रहन्छ ।

सबैलाई शक्ति, पद र प्रतिष्ठा चाहिएको छ । दुःख, पीडामा परेका मान्छेका अन्तस्करणको आवाजलाई बोध गर्न नसक्दा र मानवता हराएपछि मनमा सिर्जना हुने नै यस्तै हो ।

मान, सम्मान र इज्जत भनेको मानव सभ्यताका निर्माताहरूलाई प्रकृतिले दिने उपहार हो । मानवतामाथि क्रूर ढंगले हमला हुँदा त्यसको रक्षाका लागि प्राण आहुति गर्न तयार हुनेहरूको लागि बाँच्नेहरूको हृदयदेखि प्रवाह हुने आत्मिक सम्मान हो । कसैलाई देख्दा श्रद्धाले शिर निहुरियोस्, हृदयको भाव तरंगित होस् । मानव जगतका लागि कसैले गरेको कार्यलाई स्मरण गर्दा मात्रै पनि आँखाहरू रसाउन् ।’

कसैले मलाई भन्यो, ‘तिम्रो हाम्रो समाजमा भ्रष्ट, तस्कर र देशद्रोहीलाई पनि मर्यादा दिइन्छ ! मान, सम्मान र मर्यादालाई शक्तिको तराजुमा तौलिएर मोलमोलाइ गरिन्छ ! शक्तिशालीलाई उच्च मर्यादित र निरीह मर्यादाहीन हुन्छन् ! श्रम गर्ने किसान, दिन-रात नभनी काम गर्ने मजदुरको कुनै मर्यादा नै हुँदैन ! शक्तिको सापेक्षतामा मर्यादाको क्रम निर्धारण हुन्छ, त्यो कागजको खोस्टोमा लेखिएको मर्यादाक्रमका लागि मल्लयुद्ध र कुस्ती हुन्छ, एकले अर्कालाई खिल्ली उडाउँदै आफूलाई उच्च मर्यादाको बनाउन प्रतिस्पर्धा हुन्छ, मर्यादाहीनहरू मर्यादाका लागि लड्ने समाजमा सज्जनलाई बाँच्न कति मुस्किल छ’ यस्तै यस्तै ।

यी प्रश्न (आरोप)हरूले मलाई उद्वेलित गरायो ।

मर्यादाक्रम र नेपालको सन्दर्भ

अहिले मर्यादाक्रम लगायत अन्य विविध विषय गैरसरकारी विधेयकका रूपमा संसदमा पेश भएको समाचार छ । पहिले मन्त्रिपरिषद्ले तयार गर्ने गरेको यस विषयलाई संसदबाटै निर्माण गर्नु स्वागतयोग्य देखिन्छ ।

राजनीतिज्ञहरू समाजका निर्माता हुन् । जनताको हृदयका ढुकढुकी हुन् र समाज रूपान्तरणका योद्धाहरू । उनीहरूले आफ्नो जीउज्यान देश, जनता र समाजका लागि समर्पण गर्नुपर्छ र गरेका हुन्छन् । त्यसैले उनीहरूले राज्य सञ्चालनको जिम्मेवारीमा रहँदा राज्यप्रदत्त औपचारिक मर्यादा स्वाभाविक देखिन्छ ।

विकृत राजनीतिको उदाहरण दिंदै राजनीति र राजनीतिज्ञको अपमान गरिनुहुन्न । समाज रूपान्तरणको सपना नेताले मात्र देख्न सक्छ । सपना प्राप्तिको चाहनामा आफ्ना सारा रहरलाई तिलाञ्जली दिंदै देश र जनताप्रति प्रतिबद्ध व्यक्तिलाई राष्ट्र र जनताले सम्मान गर्नुपर्छ । राजनीतिज्ञले पाउने मान हो, तलब होइन । त्यसैले राजनीतिज्ञलाई मर्यादा दिनुपर्छ । त्यति मात्रै होइन, राजनीतिक पदाधिकारीको तहगत शृंखलालाई व्यवस्थापन गर्न पनि मर्यादाक्रम शायद जरूरी छ ।

संसदमा पेश भएको भनिएको मस्यौदा पढ्दा मर्यादाक्रम निर्माणको सैद्धान्तिक आधार के हो, स्पष्ट हुनसकेको देखिंदैन । यस मस्यौदामा नेपाली समाजमा विद्यमान सामन्तवादको गहिरो प्रभाव छ । लोकतान्त्रिक राजनीतिक प्रणालीमा सामन्तवादको नवीन प्रवृत्ति कसरी विकास हुँदैछ भन्ने कुरालाई यस मस्यौदाले इंगित गरेको छ ।

विद्यमान मर्यादाक्रम र प्रस्तावित मर्यादाक्रममा पनि कर्मचारी तथा सुरक्षा निकायका पदाधिकारीलाई राखिएको विषय लोकतान्त्रिक मुलुकका लागि कत्तिको सुहाउँदो विषय होला ? भारत लगायत अन्य लोकतान्त्रिक देशको उदाहरण दिएर यसलाई लोकतान्त्रिक मुलुकमा अवलम्बन गरिएको विषय त भनिएला तर यो सामन्तवादकै प्रतिबिम्व होइन र ?

हो, कर्मचारीतन्त्र राज्य प्रणालीकै संयन्त्र हो । राजनीतिक नेतृत्वले निर्माण गरेका नीति, योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गरी देश र जनताको सेवा गर्नु यिनीहरूको कर्तव्य हुन्छ । कर्मचारीतन्त्र बेतनभोगी हुन्छ, काम गर्छ र तलब लिन्छ । यो प्रणाली सञ्चालित हुने आफ्नै पद्धति हुन्छ । कर्मचारीतन्त्र पदसोपानको तहगत संरचनामा राज्य प्रणालीद्वारा नै संरचित हुन्छ । कानुनले यसको भूमिकालाई निर्देशित गरेको हुन्छ । त्यसैले कर्मचारीतन्त्रलाई राज्यको औपचारिक मर्यादामा राख्नु जरूरी नै पो छैन कि !

हिजोको सामन्तवादी राज्य प्रणालीले कर्मचारी, सेना, प्रहरी लगायत राज्यसंयन्त्रलाई औपचारिक मर्यादा दिएको थियो । तर नयाँ लोकतान्त्रिक राज्य प्रणालीमा कानुनले दिएको विशिष्ट कार्य जिम्मेवारी सम्हालेका संयन्त्र र यसका पदाधिकारीलाई छुट्टै विशिष्ट मर्यादा दिनु जरूरी छ र ?

कानुनले पदसोपानको विशिष्ट शृंखला नतोकिदिएका राजनीतिक पदाधिकारीलाई पदसोपानिक औपचारिक शृंखलामा राख्न शायद मर्यादाक्रम जरूरी छ । जनताको मताधिकार सहितका जनप्रतिनिधिले राज्यको यथोचित औपचारिक सम्मान प्राप्त गर्नुपर्छ, तर राजनीतिक पूर्वपदाधिकारीलाई मर्यादाक्रममा राख्न खोज्नु चाहिं लोकतान्त्रिक राज्य प्रणालीमा सामन्तवादी सोचको भद्दा स्वरूप हो ।

त्यसका साथै, हिजोको सामन्ती राज्य प्रणालीले विकास गरेको मानसिकताको जगमा आफू ठालु बन्नका लागि जनताभन्दा विशिष्ट ठानी ‘सम्माननीय’, ‘माननीय’ तथा ‘महामहिम’ कायम हुनका लागि गरेको प्रतिस्पर्धा चाहिं ‘बडामहाराजाधिराज’ को नयाँ संस्करण जस्तो अनुभूति हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?