+
+

मर्यादाक्रममा मुख्यमन्त्री भन्दा संघीय मन्त्री अगाडि

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८० कात्तिक १३ गते १९:५६
राष्ट्रियसभाको विधायन व्यव्थापन समितिको बैठक ।

१३ कात्तिक, काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले मुख्यमन्त्री र संघीय मन्त्रीलाई एउटै मर्यादाक्रममा राख्ने प्रस्ताव गरेको छ ।

सोमबार समितिबाट पारित ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ मा मुख्यमन्त्री र नेपाल सरकारका मन्त्रीलाई ८ औं नम्बरमा राखिएको छ । तर मुख्यमन्त्रीभन्दा अगाडि नेपाल सरकारका मन्त्रीलाई राखिएको छ ।

गृहमन्त्रालयका सहसचिव एवं मर्यादा शाखा प्रमुख तुलसी श्रेष्ठका अनुसार ‘पहिलोले प्राथमिकता पाउँछ र अगाडि लेखिनेको मर्यादा एउटै लहरमा भएता पनि अगाडि रहेको मानिन्छ ।’

सुरुमा प्रस्तावित विधेयकमा सम्बन्धित प्रदेशमा मुख्यमन्त्री संघीय मन्त्रीभन्दा अघिल्लो मर्यादाक्रममा राखिएको थियो । आफ्नो प्रदेश बाहिर भने संघीय मन्त्री भन्दा तल्लो मर्यादाक्रममा मुख्यमन्त्रीलाई राखिएको थियो ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले प्रस्तावित व्यवस्था बदलेर मर्यादाक्रमको ९ औं नम्बरमा ‘नेपाल सरकारको मन्त्री, मुख्यमन्त्री’ लेख्ने गरी राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ पारित गरेको छ ।

‘चिफ मिनिस्टर भनेको कमाण्डर हो । प्रदेशको कमाण्डरलाई संघीय मन्त्री भन्दा तल राख्ने भए संघीयता खारेज गरे हुन्छ’, कर्णालीका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही भन्छन् ।

 

पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री भन्दा संघीय सरकारको मन्त्री अगाडि रहने गरी कानुन बनाउने प्रयास हुनु गलत भएको बताउँछन् । सुरुमा मुख्यमन्त्री मर्यादाक्रममा अगाडि रहने व्यवस्था गरिएपछि संघीय मन्त्रीहरुले प्रदेशमा जानै नसकिने अवस्था आएको भनी दबाब दिएपछि संघमा संघीय मन्त्री ठूलो हुने र प्रदेशमा सम्बन्धित प्रदेशको मुख्यमन्त्री ठूलो हुने गरी मर्यादाक्रम निर्धारण भएको उनी स्मरण गर्छन् ।

मुख्यमन्त्री भनेको भविष्यको प्रधानमन्त्री हो भनेर हेरिन्छ, मन्त्रीहरुलाई त्यसरी हेरिँदैन वा कम हेरिन्छ । अमेरिका, भारतमा पनि यस्तो अभ्यास रहेको भन्दै पूर्वमुख्यमन्त्री गुरुङले अनलाइनखबरसँग भने ‘संसदीय व्यवस्थामा पनि मुख्यमन्त्री संघीय मन्त्री भन्दा अगाडि नै हुने अभ्यास रहँदै आएको देखिन्छ ।’

तर नेपालमा संघीयताको भावना र मर्म अनुसार मख्यमन्त्रीलाई हेर्ने सही दृष्टिकोणको विकास हुन समय लागेको उनको अनुभव छ ।

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही मुख्यमन्त्रीहरुलाई पूर्वप्रधानमन्त्रीहरुको लहरमा राखिनुपर्ने बताउँछन् । शाहीको प्रश्न छ, ‘प्रधानमन्त्री बनाउन जे प्रक्रिया अपनाइन्छ, त्यही प्रक्रिया मुख्यमन्त्री बनाउन अपनाइन्छ । संघको मन्त्री बनाउने प्रक्रिया सरह हो र मुख्यमन्त्री बनाउने प्रक्रिया ?’

मुख्यमन्त्रीलाई संविधानले नै प्रदेशको कार्यकारी प्रमुख भनेकाले संघीय मन्त्री सरह वा त्योभन्दा तल राख्नु संघीयता विरोधी हुने उनको बुझाइ छ । ‘चिफ मिनिस्टर भनेको कमाण्डर हो । प्रदेशको कमाण्डरलाई संघीय मन्त्री भन्दा तल राख्ने भए संघीयता खारेज गरे हुन्छ’, उनले भने ।

विरोधीहरुले संघयतालाई कमजोर बनाउन मर्यादामा समेत चलखेल गरिरहेको उनको बुझाइ छ । ‘संघीयता मन परेको छैन भने खारेज गरे हुन्छ । होइन भने चिफ मिनिस्टरलाई त्यस अनुसार नै हेरिनुपर्छ’, उनी थप्छन्, ‘संघको प्रधानमन्त्री सरह प्रदेशको मुख्यमन्त्री । त्यसकारण मुख्यमन्त्रीलाई पूर्वप्रधानमन्त्रीको लहरमा राख्नुपर्छ । यसो गर्दा संघीयताको भावना र मर्म अनुसार हुन्छ ।’

गण्डकी प्रदेशकै पूर्वमुख्यमन्त्री खगराज अधिकारी प्रदेशलाई कमजोर पार्ने कुनै प्रकारका प्रयास सह्य नहुने बताउँछन् । ‘प्रदेशलाई कमजोर गर्ने गरी कुनै पनि गतिविधि हुनु हुँदैन, त्यस्तो प्रयास सह्य हुँदैन’ एमाले नेता अधिकारी अनलाइनखबरसँग भन्छन्, ‘दुनियाँमा मुख्यमन्त्री मर्यादामा माथि हुन्छ ।’

तथापि, मर्यादा कानुनमा लेखेर लिने नभई कामका आधारमा प्राप्त हुनेमा आफू विश्वास गर्ने अधिकारी बताउँछन् ।

हेर्नुहोस् सहमति भएको मर्यादाक्रम

 

१. राष्ट्रपति
२. उपराष्ट्रपति
३. प्रधानमन्त्री
४. प्रधानन्यायाधीश
५. प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष
६. पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्को पूर्वअध्यक्ष, पूर्वप्रधानन्यायाधीश
७. संविधान सभाको अध्यक्ष, प्रतिनिधि सभाको पूर्वसभामुख, व्यवस्थापिका-संसदको पूर्वसभामुख, राष्ट्रिय सभाको पूर्वअध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता
८. उपप्रधानमन्त्री, प्रदेश प्रमुख
९. नेपाल सरकारको मन्त्री, प्रदेश सरकारको मुख्यमन्त्री, प्रतिनिधि सभाको उपसभामुख, राष्ट्रिय सभाको उपाध्यक्ष, राष्ट्रिय सभाको सत्ता पक्ष दलको नेता, राष्ट्रिय सभाको विपक्षी दलको नेता, सत्तापक्ष संसदीय दलको उपनेता, विपक्षी संसदीय दलको उपनेता, प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने अन्य दलका नेता, राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने अन्य दलका नेता, पूर्वउपप्रधानमन्त्री, पूर्वप्रदेश प्रमुख, संविधान सभाको उपाध्यक्ष, पूर्वउपसभामुख, राष्ट्रिय सभाको पूर्वउपाध्यक्ष
१०. संघीय संसदको विषयगत समितिको सभापति, प्रतिनिधि सभाको मुख्य सचेतक, राष्ट्रिय सभाको मुख्य सचेतक, प्रतिनिधि सभाको विपक्षी दलका प्रमुख सचेतक, राष्ट्रिय सभाको विपक्षी दलको प्रमुख सचेतक, प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने अन्य दलका प्रमुख सचेतक, प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलको सचेतक, प्रदेश सभाको सभामुख
११. नेपाल सरकारको राज्यमन्त्री, सर्वोच्च अदालतको न्यायाधीश, नेपाल सरकारको सहायक मन्त्री, संघीय संसदको सदस्य, न्याय परिषद्को सदस्य, संवैधानिक निकायको प्रमुख, नेपाल रत्न पाउने महानुभाव, महान्यायाधिवक्ता, सवैधानिक निकायको सदस्य, राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, नेपाल सरकारको पूर्वमन्त्री, पूर्वमुख्यमन्त्री, संघीय संसदका पूर्वपदाधिकारी (नेता, सभापति, सचेतक)
१२. उच्च अदालतको मुख्य न्यायाधीश, प्रदेश सरकारको मन्त्री, प्रदेश सभाको उपसभामुख, नेपाल सरकारको पूर्वराज्यमन्त्री, नेपाल सरकारको पूर्वसहायक मन्त्री, प्रदेश सभाको पूर्वसभामुख, संविधान सभाको सदस्य, पूर्वसांसद
१३. नेपाल सरकारको मुख्य सचिव, संघीय संसदको महासचिव, सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार, प्रधानसेनापति
१४. प्रदेश सभाको विपक्षी दलको नेता, प्रदेश सभाको सत्तापक्ष दलको उपनेता, प्रदेश सभाको विपक्षी दलको उपनेता, प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य दलको नेता, प्रदेश सभाको विषयगत समितिको सभापति, प्रदेश सभाको मुख्य सचेतक, प्रदेश सभाको विपक्षी दलको प्रमुख सचेतक, प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य दलको प्रमुख सचेतक, प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलको सचेतक, नेपाल राष्ट्र बैंकको गभर्नर, राष्ट्रिय योजना आयोगको सदस्य, नेपाल प्रज्ञा प्रतिष्ठानको कूलपति, केन्द्रीय विश्वविद्यालयका कूलपति र सहकूलपति (प्रधानमन्त्री कूलपति र शिक्षामन्त्री सहकूलपति हुने विश्वविद्यालय बाहेक), विश्वविद्यालयको उपकूलपति
१५. प्रदेश सरकारको राज्यमन्त्री, प्रदेश सरकारको सहायक मन्त्री, प्रदेश सभा सदस्य, प्रदेश लोक सेवा आयोगको अध्यक्ष, प्रदेश सरकारको पूर्वमन्त्री, प्रदेश सभाको पूर्वउपसभामुख,
१६. नेपाल सरकारको सचिव एवं राजपत्रांकित विशिष्ट श्रेणी वा सोसरहको अधिकृत, प्रतिनिधि सभाको सचिव, राष्ट्रिय सभाको सचिव, प्रदेश सरकारको प्रमुख सचिव, प्रदेश सभाको सचिव, राष्ट्र गौरब पाउने महानुभाव, नेपाली राजदूत, नेपालस्थित विदेशी राजदूत, सार्कका महासचिव, नेपालस्थित संयुक्त राष्ट्रसंघका आवासीय संयोजक,  प्रदेश लोक सेवा आयोगको सदस्य, रथी, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक
१७. उच्च अदालतको न्यायाधीश, मुख्य न्यायाधिवक्ता, प्रदेश योजना आयोगको उपाध्यक्ष, जिल्ला समन्वय समितिको प्रमुख, महानगरपालिका प्रमुख, नेपाल प्रज्ञा प्रतिष्ठानको उपकूलपति, विश्वविद्यालयको प्राध्यापक, उपरथी, प्रहरी अतिरिक्त महानिरीक्षक, शसस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त अनुसन्धान निर्देशक, प्रदेश योजना आयोगको सदस्य, प्रदेश सरकारको पूर्वराज्यमन्त्री, प्रदेश सरकारको पूर्वसहायक मन्त्री, प्रदेश सभाको पूर्वसदस्य
१८. जिल्ला समन्वय समितिको उपप्रमुख, जिल्ला समन्वय समितिको सदस्य, उपमहानगरपालिका प्रमुख, महानगरपालिका उपप्रमुख, नगरपालिका प्रमुख, उपमहानगरपालिका उपप्रमुख
१९. सहायक रथी, प्रहरी नायब महानिरीक्षक, सशस्त्र प्रहरी नायब महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान निर्देशक, गाउँपालिका अध्यक्ष, नगरपालिका उपप्रमुख, नेपाल सरकारको सहसचिव एवं राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहको अधिकृत, प्रदेश सरकारको सचिव, जिल्ला न्यायाधीश, प्रमुख जिल्ला अधिकारी (राजपत्रांकित प्रथम श्रेणी), नेपालस्थित विदेशी कन्सुल जनरल, विश्वविद्यालयका सहप्राध्यापक, महासेनानी, प्रहरी वरिष्ठ उपरीक्षक, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक, प्रदेश सरकार तथा स्थानीय तहबाट नियुक्त राजपत्राङ्कित प्रथम श्रेणीको तहमा कार्यरत अधिकृत, माध्यमिक तह प्रथम श्रेणीका शिक्षक, सार्वजनिक संस्थानका प्रमुख कार्यकारी
२०. गाउँपालिका उपाध्यक्ष, नेपाल सरकारको उपसचिव एवं राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहको अधिकृत, प्रमुख सेनानी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको उपअनुसन्धान निर्देशक, विश्वविद्यालयका उपप्राध्यापक, सेनानी, प्रहरी नायब उपरीक्षक, सशस्त्र प्रहरी नायब उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको प्रमुख अनुसन्धान अधिकृत, प्रदेश सरकार तथा स्थानीय तहले नियुक्त गरेको राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहको तहमा कार्यरत अधिकृत, माध्यमिक तह द्वितीय श्रेणीको शिक्षक
२१. नेपाल सरकारको शाखा अधिकृत एवं राजपत्राङ्कित तृतीय श्रेणी वा सो सरहको अधिकृत, सहसेनानी, विश्वविद्यालयका सहायक प्राध्यापक, प्रहरी निरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, उपसेनानी, राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत, वडाध्यक्ष, प्रदेश सरकार वा स्थानीय तहले नियुक्त गरेको राजपत्राङ्कित तृतीय श्रेणी वा सोसरहको तहमा कार्यरत अधिकृत, माध्यमिक तह तृतीय श्रेणीको शिक्षक, सहायक सेनानी”

 

 

 

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?