+
+

हरिवंश आचार्य स्टारर फिल्म ‘महाजात्रा’को छायांकन सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १५ गते १२:१४

काठमाडौं । फिल्म ‘जात्रा’को तेस्रो श्रृंखलाको छायांकन बुधबारदेखि सुरु भएको छ । निर्माता कम्पनी षट्कोण आर्ट्सले स्वयम्भूको बिजेश्वरी मन्दिरमा पूजा गर्दै ‘महाजात्रा’ छायांकन थालेको हो ।

विश्व शान्तिको कामना गर्दै बौद्ध गुरुले अग्नि हवन पूजा गरे । चार घण्टा चलेको पूजामा फिल्मको ‘कास्ट एण्ड क्रिउ’ सहभागी रहे । पूजापछि मुहूर्त समारोह गरियो । बुढानीलकण्ठमा निर्माण गरिएको भव्य सेटबाट छायांकन सुरु भएको छ । पहिलो दिन अभिनेता विपिन कार्कीका दृश्य खिच्ने तयारी छ ।

४५ दिनको छायांकन सेड्युल तय गरिएको फिल्मलाई काठमाडौं र जनकपुरमा खिचिनेछ । निर्देशक तथा पटकथाकार प्रदीप भट्टराईले फिल्मको मुख्य सेटिङ काठमाडौं र आंशिक तराईको हुने बताए ।

‘महाजात्रा’ बटमलाइनको रुपमा ‘सत्य लुक्दैन, झुटो टिक्दैन’ राखिएको छ । निर्देशक भट्टराईले यो फिल्ममा बहुघटनाको कथावस्तु चित्रण हुने बताए । ‘एउटा घटनाको जात्रा थियो । दुई टिमको घटनामा जात्रैजात्रा बन्यो । त्यो हिसाबले महाजात्रा धेरै घटनाको कथावस्तु हो,’ उनले भने ।

तेस्रो श्रृंखलामा राष्ट्रिय मुद्दालाई उठान गरिएको उनले बताए । ‘सत्य लुक्दैन, झुटो टिक्दैन भन्ने बटमलाइनमा रहेर नेसनल इस्यु उठाउँछौं,’ भट्टराईले भने, ‘जात्रा भनेको एउटा अराजकता पनि हो । यही जात्रालाई राम्रो मनाउन सके सेलिब्रेसन हुन्छ । यही दुई चीज फिल्मभित्र हुन्छ । महाजात्रामा पनि नसोचेको कुरा भइदिन्छ ।’

मुहूर्त अवसरमा अनलाइनखबरसँग कुरा गर्दै अभिनेता हरिवंश आचार्य र विपिन कार्कीले उत्साह व्यक्त गरे । हरिवंश क्यारेक्टर लुक्समै पत्नीसहित उपस्थित थिए । ‘महाजात्रा’ एक किसिमले कलाकारको पल्टनजस्तै देखिएको छ । अघिल्लो सिक्वेलको कलाकारको रुपमा विपिनसहित रविन्द्रसिंह बानियाँ, रविन्द्र झा र वर्षा राउत त हुने नै भए ।

नयाँ कलाकारको रुपमा हरिवंशसहित राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ श्रृंखलासँग जोडिएको छ । कथावस्तुको संरचनाअनुसार अन्य कलाकारलाई कास्ट गरिएको निर्देशक भट्टराईले जनाए । ‘फिल्ममा कलाकारलाई हाल्नको लागि लिएका होइनौं । पटकथाको संरचना बनाइसकेपछि कास्ट गरिएको हो,’ उनले भने ।

स्वास्थ्यलाभ गरिरहेका अभिनेता प्रकाश घिमिरेलाई तत्काल रिप्लेस नगर्ने निर्माताको तयारी छ । ‘अन्तिमसम्म उहाँलाई पर्खन्छौं,’ निर्देशक भट्टराईले भने । गत साता भीरबाट खसेर घाइते भएका अभिनेता घिमिरेको पोखरास्थित मणिपाल मेडिकल कलेजमा भर्ना गरिएको छ । ‘महाजात्रा’ले बौद्धको सेचेन गुम्बामा घिमिरेको स्वास्थ्यलाभको कामना गर्दै पूजा समेत गरेको थियो ।

फिल्मको स्क्रिप्ट डाक्टरको रुपमा मनोज पण्डित छन् । सुपरहिट ‘महापुरुष’पछि ‘महाजात्रा’ निर्माणमा कस्सिएको षट्कोण आर्ट्सको यो फिल्म पनि दर्शकमाझ प्रतीक्षित छ । चैत ९ गते प्रदर्शन तयारीमा रहेको फिल्मको निर्मातामा म्याक्स दीपेश खत्री छन् । निर्माता खत्रीले दर्शकलाई मनोरञ्जन दिने कुरामा आफूहरुले मेहनत गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?