+
+

नयाँ जडान गर्ने भन्दै काठमाडौं महानगरले सडकबत्ती मर्मत गरेन, शहरका मुख्य चोक नै अँध्यारो

अमृत चिमरिया अमृत चिमरिया
२०८० कात्तिक १५ गते २१:१७
फाइल तस्वीर

१५ असोज, काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा रहेको सिभिल हस्पिटलबाट तीनकुनेतर्फ जाने सडकपेटी हुँदै रातमा हिँड्दै हुनुहुन्छ भने टर्च बोक्न नभुल्नुहोला । किनभने त्यहाँ सडकबत्ती बिग्रिएको लामो समय भइसकेको छ ।

‘यो सडकमा बत्तीको नाममा बल्ब मात्रै देखिन्छ, उज्यालोका लागि आफैं टर्च बालेर हिँड्नुपर्ने अवस्था रहेको छ,’ यो सडक हुँदै दैनिक यात्रा गर्ने मनोज तिमल्सिना बताउँछन् ।

सडकबत्ती बिग्रिएका कारण बानेश्वरबाट तीनकुनेतर्फ जाने पैदल यात्रु मात्रै नभएर सवारी चालकहरुलाई समेत समस्या हुने गरेको छ ।

‘सडकबाट यात्रुले जथाभावी बाटो काट्छन, बत्ती नहुँदा दुर्घटनाको जोखिम बढेको छ । गाडी चलाउने मान्छेलाई यति गाह्रो छ, साइकल यात्रु र पैदल यात्रुलाई त कति गाह्रो होला ?,’ ट्याक्सी चालक मिलन राई भन्छन् । राईका अनुसार भित्री गल्लीहरुमा समेत उज्यालोका लागि ट्याक्सी हेडलाइटको भरपर्नुे अवस्था छ ।

कालिमाटीबाट बल्खुतर्फ जाने सडकको हालत पनि उस्तै छ । भएका सडकबत्तीहरु राम्रोसँग बलेका छैनन् भने सोलारबत्तीहरु मधुरा छन् । स्थानीय कविता क्षेत्री भन्छिन्, ‘काठमाडौंमा सडक बत्ती र कुकुरको सधैं डर छ, मेयर बालेन शाहले सुधार गर्नुपर्ने काम किन नगरेको छक्क परेको छु । यसलाई प्राथमिकता दिनुपर्ने हो नि ।’

काठमाडौंका मुख्य सडक, चोक तथा गल्लीसम्म सडक बत्ती बिग्रिएर अँध्यारो भएको विषयमा काठमाडौं महानगरपालिकालाई जानकारी भएको महानगरका सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापा बताउँछन् । तर, त्यसको मर्मतमा भने उसले चासो देखाएको छैन ।

बरु विद्युत् प्राधिकरणसँग मिलेर स्मार्ट सडकबत्ती र हाइमास्ट लाइट हाल्ने योजना रहेको भन्दै बिग्रिएका सडकबत्ती मर्मत नगरेको खुलेआम बताउने गरेको छ । ‘अबको केही महिनामा काठमाडौं महानगर नै झिलिमिली हुन्छ, त्यहि अनुसार काम नै सुरु भइसकेको छ । अहिले नबलेका बत्तीहरु छिट्टै फेरिन्छन्,’ थापाले भने ।

भविष्यमा नयाँ जडान हुँदै छ भनेर बिग्रिएका बत्ती सामान्य मर्मत पनि नगरी जनतालाई अँध्यारोमा राख्न मिल्छ त भन्ने प्रश्नमा उनले एक महिनामै फेर्नुपर्ने बत्ती मर्मत गर्नुको अर्थ नभएको बताए ।

‘नयाँ स्मार्ट सडक बत्ती जडानपछि गुनासो आउँदैन,’ उनको दाबी थियो । तर, थापाकै अनुसार यो परियोजनाअन्तर्गत समयमै काम भए काठमाडौंका मुख्य सडक तथा चोकमा बत्ती जडान गरिसक्न कम्तीमा फागुनसम्म लाग्नेछ ।

सडक बत्ती मर्मत नै गर्नु नपर्ने भए पनि महानगरसँग बिग्रेका, मधुरो बल्ने बत्ती कति छन् भन्ने यकीन विवरण पनि छैन ।

नबलेका पुराना बत्तीहरु हटाएर नयाँ स्मार्ट सडक बत्ती जडान सुरु गरिसकेको भन्दै समस्याको समाधान हुन थालेको विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाका इन्जिनियर सागरमणि ज्ञवाली बताउँछन् ।

‘अहिलेको भएका बत्ती नै टर्च लाइट बालेर हेर्नुपर्ने खालका छन् तर ती सबै फेरिन्छन्, केही समय जनताले धैर्य गरेपछि सबै ठिक हुन्छ,’ ज्ञवालीले भने ।

३ वर्षपछि सुरु भयो काठमाडौं उज्यालो कार्यक्रम

काठमाडौंमा स्मार्ट लाइट जडान गर्ने महानगरपालिकाको ‘काठमाडौं उज्यालो कार्यक्रम’ पनि तीन वर्षसम्म अँध्यारोमै बसेर बल्ल सुरु भएको छ । सो कार्यक्रम सुरु हुनुपर्ने समयभन्दा तीन वर्ष ढिला गरी लैनचौर र लाजिम्पाटबाट स्मार्ट लाइट जडानका सुरु गरेको जानकारी थापाले दिए ।

महानगरपालिकाले दशैं सकिनेबित्तिकै बत्ती जडान सुरु गरेको र प्रमुख सडकहरु सबै कभर हुने गरी काम भइरहेको थापाले बताए ।

फागुनभित्र महाराजगञ्ज लैनचौर, त्रिपुरेश्वर, माइतीघर,नयाँ बानेश्वर, तीनकुने, गौशाला, चाबहिल क्षेत्रका मुख्य सडकहरुमा स्मार्ट बत्ती हालिसक्ने दाबी उनले गरे । थापाका अनुसार काठमाडौं महानगरमा २ हजार १ सय बत्ती जडान हुनेछन् ।

‘बानेश्वरलगायत कतिपय स्थानमा पुराना बत्तीहरु निकालिएको छ भने, मर्मत गर्नुपर्ने, मधुरो भएको पनि यत्तिकै छोडिएको छ । अब त्यहाँ नयाँ बत्ती रिप्लेस हुँदैछ, त्यसैले अहिले अँध्यारो भएको हुनसक्छ तर त्यो धेरै दिन हुँदैन,’ थापाले भने ।

काठमाडौं महानगरपालिकाले बजेटमा नै ‘उज्यालो शहर’ कार्यक्रम ल्याएको थियो । सोही अनुसार नेपाल विद्युत् प्राधिकरणसँग मिलेर १२ करोडमा ठेक्का दिई बत्ती जडान गर्न सुरु गरेको थापाको भनाइ छ ।

काठमाडौंका मुख्य चोकहरुमा हाइमास्ट लाइट जडान गर्न महानगरपालिकाले दशैंअगाडि नै १० करोडको टेण्डर आह्वान गरिसकेको थापाले जनाए । ‘महानगरको मुख्य चोक भीडभाड हुने ठूला पार्कहरुमा गरी ६२ वटा हाइमास्ट लाइट हाल्दैछौं, पुसदेखि हाइमास्टका लागि काम सुरु हुन्छ,’ थापाले भने ।

सडक बत्ती जडानबारे २५ मंसिर, २०७७ मा काठमाडौं महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहमतिपत्रमा हस्ताक्षर भएको थियो । सहमतिअनुसार पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँ बानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलंकीलगायतका क्षेत्रमा करिब १७ करोडको लगानीमा २ हजार बढी आधुनिक बत्ती जडानको कार्य अघि बढ्ने भनिएको थियो । त्यसअनुसार विद्युत् प्राधिकरणले बोलपत्र आह्वान गरेर ठेकदार छनोटको प्रक्रिया अन्तिम चरणमा पुग्दा कर तथा बत्तीको स्वामित्वलगायत विषयमा कुरा नमिल्दा सो परियोजना त्यसै रोकिएको थियो ।

नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाका इन्जिनियर सागरमणि ज्ञवालीले अब भने महानगर र प्राधिकरणबीचको करको विषयलाई छोडेर सडक बत्ती जडान सुरु भएको बताए । महानगरपालिका, प्राधिकरण सहित अन्य संस्थाहरुको बास्केट फन्डबाट सडकबत्ती हाल्ने काम सुरु भएको ज्ञवालीले बताए ।

‘३ वर्ष अल्झिएपछि बल्ल काम सूरु भएको छ, २०८० भित्र काठमाडौं परिवर्तन भएको देखिन्छ,’ ज्ञवालीले भने ।

बास्केट फन्डबाट भए पनि यसको सञ्चालन खर्च विद्युत् प्राधिकरणले नै गर्ने उनले बताए । ‘यो अहिले बत्ती जडान गर्ने मात्रै होइन, एउटा प्रणाली सेट गर्ने हो,’ ज्ञवाली भन्छन्, ‘यसको केबलिङहरु अन्डरग्राउण्ड हुन्छन्, यो स्मार्ट सिटीमा प्रवेश गर्ने एउटा सूचक हो । स्मार्टबत्तीहरु सर्भरबाट नै कन्ट्रोल हुन्छ ।’

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?