+
+
गफ स्टेसनमा गायक यम बराल :

‘व्यावसायिक गायक-गायिकामाथि म्युजिक कम्पनीले नै लगानी गर्नुपर्छ’

‘मसँग कुनै नयाँ चीज छैन भने म कसरी अपडेट हुने भन्ने लाग्छ । यम बराल अपडेट भएनन् भन्ने गुनासो जायजै होला,’ यम भन्छन्, ‘संगीतमा लागेको कोहीले एउटा गीतमा लगानी धेरै गर्नुपर्छ । म्युजिक भिडियोको खर्च नै सात लाख भन्दा माथि लाग्छ । रेकर्डिङ पनि महंगो भएको छ । यसले पनि गाह्रो बनाएको छ ।’

खेम रिसाल खेम रिसाल
२०८० कात्तिक १६ गते १३:३३

काठमाडौं । पचास-साठीको दशक यस्तो थियो, जहाँ यम बरालका गीत नगुञ्जिएका कुनै रेडियो, टीभी हुँदैनथे । बादलुको घुम्टोले इलाम बजार छोपिंदा, निष्ठुरीले छाडेर गइहाली, अब चोटहरुले, मन रहे पो मायाप्रीति जस्ता उनका एकसे एक गीतले श्रोताको मन जिते ।

इलामको फिक्कलमा जन्मिएका गायक यम बरालले २०४९ सालमा रेडियो नेपालमा ‘सागरभन्दा गहिरो’ गीत रेकर्ड गरी नेपाली सांगीतिक क्षेत्रमा पाइला चालेका हुन् । उनलाई आम श्रोतामाझ चिनाउने काम भने इलामै सेरोफेरोमा रचिएको ‘बादलुको घुम्टोले इलाम बजार छोपिंदा’ गीतले गर्‍यो । यो गीतलाई यति रुचाइयो कि त्यसपछि यम बरालले सांगीतिक जीवनमा कहिल्यै पछाडि फर्केर हेर्नु परेन । सुगम संगीतमा मात्रै होइन, पार्श्व गायनमा पनि धेरै माग हुनेमध्ये एक गायक बने उनी । यमले हालसम्म हजार बढी गीतमा स्वर दिइसकेका छन् भने एक सय बढी फिल्मका लागि पार्श्व गायन गरेका छन् ।

यो साता अनलाइनखबरको गफ स्टेसनमा अन्तर्वार्ताका लागि आएका यमलाई सुरुमै हामीले सोध्यौं- संगीतमा पहिलेको तुलनामा तपाईंको सक्रियता कम भएको हो कि गीतहरु नचलेका ?

यमले निरन्तर सक्रिय रहेको भए पनि समयअनुसार आफू केही ओझेल परेको स्वीकारे । आफूसँग ‘अपडेट’ हुने केही चीज नभएकाले मिडियालगायत आम श्रोता-दर्शकलाई हराएको हो कि जस्तो लागेको हुन सक्ने उनी बताउँछन् ।

‘मसँग कुनै नयाँ चीज छैन भने म कसरी अपडेट हुने भन्ने लाग्छ । यम बराल अपडेट भएनन् भन्ने गुनासो जायजै होला,’ यम भन्छन्, ‘संगीतमा लागेको कोहीले एउटा गीतमा लगानी धेरै गर्नुपर्छ । म्युजिक भिडियोको खर्च नै सात लाख भन्दा माथि लाग्छ । रेकर्डिङ पनि महंगो भएको छ । यसले पनि गाह्रो बनाएको छ ।’

नेपाली संगीतमा कम्पनीले लगानी गर्ने परम्परा हराउँदा पनि व्यावसायिक गायक-गायिकालगायत अन्य संगीतकर्मीलाई सकस भइरहेको यमको बुझाइ छ । ‘आफैंले लगानी गरेर आफ्नै युट्युब च्यानलमा गीत राख्दा केहीबाहेक धेरै कलाकारलाई लगानी उठाउन गाह्रो छ । व्यावसायिक गायक-गायिकालाई कम्पनीले किन्नुपर्छ भन्ने मेरो मान्यता छ । लगानीकर्ताको लगानी उठ्न सक्छ भने मात्रै त्यो सफलता हो,’ उनी भन्छन्, ‘व्यावसायिक व्यक्तिले भरसक आफैंले लगानी गर्नुपर्ने अवस्था नआओस् । तर अहिले त्यो अवस्था छैन ।’

यद्यपि समयको गतिलाई भने आफूले पनि पछ्याउने उनी सुनाउँछन् । त्यसका लागि उनले आफ्नै युट्युब च्यानल र यम्मी इन्टरटेनमेन्ट प्रालि नाममा कम्पनी पनि खोलेका छन् ।

यम केही समय आफू ओझेल परेजस्तो लागे पनि अब तीव्र रुपमा सांगीतिक सक्रियता बढाउने योजना छन् । त्यसैअनुरुप आगामी शनिबार (कात्तिक १८ गते) उनी काठमाडौंको प्रज्ञा भवनमा ‘एकल साँझ’ (यम बराल : हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट)मा गुञ्जिंदैछन् । आफ्नो जीवनकै ऐतिहासिक बनाउने तयारीमा रहेका यमले उक्त कार्यक्रममा आफ्ना लोकप्रिय २०-२५ वटा गीत प्रत्यक्ष बाद्यवादनका साथ प्रस्तुत गर्नेछन् । लाइन्स क्लब अफ सिद्धार्थ एभरग्रिनसँगको सहकार्यमा हुन लागेको एकल साँझबाट उठेको रकम सामाजिक सेवामा लगाइने पनि उनले सुनाए ।

‘कार्यक्रमलाई लिएर निकै उत्साहित छु । मेरा गीतहरु सुनेर आउनुभएका, हुर्कनुभएका श्रोताहरुका लागि रिकल हुनेछ यो एकल साँझ । नयाँपुस्तालाई पनि मेरा गीतहरु सुनाउने अवसर हुनेछ,’ उनी भन्छन् ।

उनका अनुसार एकल लाइभ साँझ गर्न केही चुनौती भए पनि सन्देश पनि हो । ‘अहिले ट्रयाक बोकेर दुई-चारवटा गीत कन्सर्टमा गाउने ट्रेण्ड हाबी छ । यो सहज पनि हो । तर सोलो लाइभ कन्सर्टले श्रोता-दर्शकलाई गहिराइमा गएर गीत सुन्ने वातावरण बनाउँछ भने म्युजिसियन र बाद्यवादकलाई रोजगारी पनि दिन्छ,’ यम भन्छन्, ‘त्यसैले अहिले टुक्रा-टुक्रा गीत सुन्ने, हेर्ने जमानामा यसले नयाँ सन्देश पनि दिन्छ भन्ने लाग्छ ।’

तपाईं आफैंका लागि चाहिं गतिलो ‘कमब्याक’ हो यो एकल साँझ ? भन्ने प्रश्नमा यम भन्छन्, ‘कमब्याक नै चाहिं नभनौं । म काममै छु त्यसैले । सांगीतिक करिअरमा चाहिं यसले ठूलो अर्थ राख्छ । एकल साँझहरुको ट्रेण्ड फेरि आउला भन्ने अपेक्षा पनि हो ।’

५०-६० को दशकमा त्यो बेलाका लोकप्रिय गायकहरु रामकृष्ण ढकाल, यम बराल र राजेशपायल राईलाई नेपाली संगीतका ‘त्रिमूर्ति’ पनि भनिन्थ्यो । किनकि तीनै जना गायक कोहीभन्दा कोही कम थिएनन् । सबैको उमेर एउटै, गीत उस्तै रुचाइने । तर सांगीतिक करिअर उचाइमा उडिरहेकै बेला यम बराल चाहिं अमेरिकातिर लागे । त्यसपछि उनका गीतहरु पनि कम आउन थालेपछि नयाँ पुस्ताले पनि ‘नोटिस्ड’ गर्न पाएनन् ।  अमेरिका लागेपछि आफ्नो सांगीतिक करिअरमा थोरबहुत असर गरेको उनी पनि स्वीकार्छन् ।

‘एकपटक देशविदेश हेरौं भन्ने त भइहाल्छ, त्यो माहोलमा म पनि केही व्यक्तिगत कारणले अमेरिका गएँ । तर त्यहाँ बस्दा पनि नेपाली संगीतको सेवा नै गरिरहेको थिएँ । त्यतिबेला अपडेट हुन सकिनँ होला । अमेरिकामा कन्सर्टमा गाएकै थिएँ, नेपाली रेस्टुरेन्टहरुमा गीत-गजल प्रस्तुत गरिरहेकै थिएँ । केही न केही मात्रामा त्यसले सांगीतिक यात्रामा बाधा पनि पुर्‍यायो होला,’ उनी भन्छन् ।

यमलाई अहिले नेपाली संगीतले सन्तोषजनक रुपमा नै लय समातिरहेको लाग्छ । नेपाली संगीत पूर्ण व्यावसायिक भइरहेको र श्रोता-दर्शकले रुचाएका गायक-गायिका र संगीतकर्मीहरुको जीवनस्तर पनि निकै राम्रो रहेको उनी बताउँछन् । तर पनि टिकटकलगायत सामाजिक सञ्जालमा टुक्रा-टुक्रा गीत सुन्ने-हेर्ने चलनले स्तरीय संगीत सिर्जना गर्नेहरुलाई चुनौती रहेकोमा उनी चिन्तित देखिन्छन् । ‘यो समयको माग होला, समयक्रमसँगै यसमा पनि सुधार आउला,’ यम आशावादी हुँदै भन्छन् ।

यम बराल अब फिल्म निर्माता पनि बन्दैछन् । आफ्नै चर्चित गीत ‘बादलुको घुम्टो’को एक लाइन ‘तिमीलाई सम्झिंदा’ शीर्षकमा उनी फिल्म बनाउँदैछन् । ‘लोकप्रिय गीत ‘बादलुको घुम्टोले’ गीतको कुनै भिडियो छैन । धेरै प्रशंसक र साथीभाइले भिडियोको बारेमा कुरा गरिरहनुभयो । उहाँहरुकै आग्रहअनुसार फिल्म नै बनाउने निर्णय गरियो,’ उनी भन्छन् । इलामका प्रमुख पर्यटकीय स्थल र झापाका केही ठाउँमा खिचिने उनको फिल्मलाई मधुसुदन भट्टराई निर्देशन गर्दैछन् भने कलाकारहरु तय हुन बाँकी नै छ ।

गफ स्टेसनमा यम आफ्नो निजी जीवनलाई लिएर पनि केही खुले । पहिलो विवाह टुटेको लामो समयपछि गत वर्ष उनले झापाकी गीता सिवाकोटीसँग दोस्रो विवाह गरे । उनले विवाहलाई गुपचुप राखेको विषयले पनि त्यतिबेला सांगीतिक वृत्तमा चर्चा पाएको थियो । हुन त यो नितान्त व्यक्तिगत कुरा हो तर पनि सेलिब्रिटी भएपछि कुनै न कुनै समय बाहिर आइहाल्थ्यो भन्ने उनलाई पनि लाग्छ ।

यमले छोराको खुसीलाई केन्द्रमा राखेर विवाह गरेको बताए । ‘बाबु (छोरा) बढ्दै गएपछि उसका पनि रहरहरु र चाहनाहरु बढ्दै जान्छन् । परिवारमा आफूलाई केयर गर्ने कोही भइदियोस् भन्ने उसलाई लाग्यो,’ यम सुनाउँछन्, ‘गीतासँग भेट्दा छोरा यति झ्याम्मियो कि उसले उनीबाट मायाका साथै मोटिभेसन पनि पायो । उसलाई त्यहाँबाट अलग राख्न सकिनँ । एक दिन छोराले सानो कागजमा ‘ड्याडी म्यारी हर गीता’ लेखेर मेरो पर्समा राखेको रहेछ । यस कुराले मलाई निकै भावुक बनायो र छोराको खुसीको लागि उनीसँग विवाह गरें । गुपचुप राख्नुपर्ने कारण एक त कोरोनाको समय थियो र अर्को दुवैतिरको पारिवारिक सल्लाह पनि त्यस्तै थियो । अहिले हाम्रो परिवार एकदमै खुसी छ ।’

गफ स्टेसनको बिट मार्ने बेला यमले राज्य र समाजका लागि पनि केही कुरा राखे । देशको परिस्थितिले युवाहरु विदेशिरहेको देख्दा उनको मन खिन्न हुन्छ । साथै समाजका धार्मिक, जातीय विखण्डनको कुरा गर्नेहरुबाट टाढा रहन पनि उनले आग्रह गरे ।

‘आर्थिक मन्दी र देशको परिस्थितिले युवाहरु विदेशिनु परिरहेको छ, यसको जिम्मा कसले लिने ?’ उनी भन्छन्, ‘जातीय एकतामा खलबल हुने कार्य कसैबाट नहोस् भन्ने लाग्छ । धार्मिक, जातीय विखण्डनवादी कुराहरु ल्याउनुहुँदैन । सबैको संस्कृति र चाडपर्वलाई उत्तिकै महत्वका साथ हामी मनाउँदै आएका छौं । यसलाई सदैव कायम राखौं ।’

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
खेम रिसाल

रिसाल अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् । उनी समाज, कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?