
१६ कात्तिक, काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र संविधानको विरुद्धमा प्रयोजित रुपमा आवाज उठाउन थालिएको भन्दै नेपाली कांग्रेस र नेकपा एमालेले प्रतिनिधिसभाको ध्यानाकर्षण गरेका छन् ।
बिहीबार संघीय संसदको चालू अधिवेशनको अन्तिम दिन प्रतिनिधिसभामा भएको सदनको कामकारबाहीको समीक्षात्मक बैठकमा पार्टीक तर्फबाट बोल्दै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक र एमालेका उपाध्यक्ष समेत रहेका सांसद विष्णु पौडेलले संविधान र व्यवस्थाको रक्षार्थ एक हुनुपर्ने बताएका थिए ।
त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट बोलेका बुद्धिमान तामाङले संविधान तलमाथि हुँदैमा आकाश खस्ने, धर्ती फाट्ने रुपमा नसोच्न आग्रह गरे ।
संसदमा संविधान तलमाथि भयो भने आकाशै खस्ने धर्ती नै फाट्ने जस्तो गरी प्रस्तुती भएको उल्लेख गर्दै उनले भने, ‘मलाई लाग्छ-संविधान मूल कानुन हो । यो साध्य होइन, साधन हो । यो गतिशील छ ।’
राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभाम सत्ता, स्वाधिनता, मानव अधिकार र प्रेस स्वतन्त्रताबाहेक संशोधन हुन सक्ने भनिएको उल्लेख गर्दै उनले थपे, ‘त्यसकारण संविधान तलमाथि भयो भने आकाशै खस्ने धर्ती फाट्ने जस्तो सोच्न मिल्दैन कि जस्तो छ ।’
सात महिना चलेको संघीय संसदको अधिवेशन कमजोर हुन पुगेको उनले बताए । एउटा विधेयक मात्रै पास हुनु बिडम्बनापूर्ण रहेको पनि उनले बताए ।
प्रतिक्रिया 4