+
+

कृषि विकास बैंकको निष्क्रिय कर्जाले सीमा नाघ्यो, ८८ करोड नोक्सानमा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १७ गते १३:४२

१७ कात्तिक, काठमाडौं । निष्क्रिय कर्जामा कृषि विकास बैंकले ५ प्रतिशतको सीमा नाघेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कुल कर्जामा बैंकको निश्क्रिय कर्जा ५.३३ प्रतिशत पुगेको छ ।

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई निष्क्रिय कर्जाको अधिकतम सीमा ५ प्रतिशत तोकिदिएको छ । समयमै बैंकले ऋणीबाट कर्जाको साँवा तथा ब्याज रकम उठाउन नसकेपछि निष्क्रिय कर्जा बढेको हो । गत वर्षको पहिलो त्रैमासमा बैंकको निष्क्रिय कर्जा जम्मा २.३८ प्रतिशत थियो ।

बैंकको निष्क्रिय कर्जासँगै लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) ह्वात्तै बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो रकम ७८ करोड ४८ लाख रुपैयाँ रहेकोमा यो वर्षको पहिलो त्रैमासमा २ अर्ब १६ करोड पुगेको छ । ठूलो रकम लोन लस प्रोभिजन गर्नुपरेपछि बैंक नोक्सानमा गएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमास (असोज मसान्तसम्म) कृषि विकास बैंक ८८ करोड ८० लाख रुपैयाँ नोक्सानमा गएको छ । जबकि गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंक २२ करोड नाफामा थियो । बैंकको खुद ब्याज आम्दानी सामान्य बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा खुद ब्याज आम्दानी १ अर्ब ८३ करोड रहेकोमा यो वर्षको पहिलो त्रैमासमा २ अर्ब ६ करोड पुगेको छ । बैंकका अन्य वित्तीय सूचक पनि खस्किएका छन् । बैंकको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ऋणात्मकमा गएको छ । गत वर्षको पहिलो त्रैमासमा प्रतिसेयर आम्दानी २ रुपैयाँ धनात्मक थियो ।

त्यस्तै बैंकको प्रतिसेयर खुद सम्पत्ति मूल्य (नेटवर्थ) २०६ रुपैयाँ १७ पैसामा झरेको छ । बैंकको आधार दर १०.३८ प्रतिशत छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो दर ९.८३ प्रतिशत पुगेको छ । आधार दर बढ्नु भनेको ऋण लिनेका लागि बैंकको ब्याज बढ्न जानु हो । बैंकको औसत निक्षेप तथा कर्जाको ब्याजदर अन्तर (स्प्रेड दर) ३.८२ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?