+
+

पूजा भन्छिन्- मलाई नयाँ हिरो मात्र फाप्छ, स्टारसँग त लेखेकै पनि छैन

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १७ गते १६:४७

काठमाडौं । अभिनेत्री पूजा शर्माले प्रायः नयाँ को–एक्टरसँग काम गरिन् । ‘प्रेमगीत’मा उनको जोडी प्रदीप खड्कासँग बाँधियो । ‘म यस्तो गीत गाउँछु’मा पल शाहसँग उनी देखिइन् ।

‘रामकहानी’मा आकाश श्रेष्ठसँग जोडी बाँध्दा ‘सम्हालिन्छ कहिले मन’मा उनी डेब्यु ब्वाय सोनम तोप्देनकी जोडी बनिन् । संयोग या नियति, पूजालाई नयाँ एक्टरसँग अनस्क्रिन रोमान्स गर्न जुरेको देखिन्छ ।

यसपटक उनको स्क्रिन–कपलको भूमिकामा मिस्टर नेपाल समर्पणजंग कार्की छन् । रेखा थापाको फिल्म ‘उपहार’को नयाँ गीतमा पूजालाई समर्पणसँग रोमान्टिक देख्न सकिन्छ । गीत सार्वजनिक गर्न शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पूजाले नयाँ हिरोसँगको किस्सा सार्वजनिक गरिन् ।

रेखाले पनि आफ्नो ब्यानरका फिल्मबाट नयाँ हिरोको उदय हुने चर्चा गर्दा पूजाले पनि यसबारे धारणा राखिन् । आफूलाई नयाँ हिरो मात्र फाप्ने भन्दै उनले स्टारसँग काम गर्न नलेखेको बताइन् ।

उनले भनिन्, ‘रेखा दिदीले भनेजस्तै मलाई पनि नयाँ हिरो मात्र फाप्छ । मलाई स्टारसँग त लेखेकै पनि छैन र मलाई नयाँ हिरोसँग काम गर्नु नै छ । नयाँ हिरो हाम्रो नेपाली फिल्म इन्डस्ट्रीमा चाहिन्छ पनि । राम्रो राम्रो हिरो आउनुहोला ।’

पूजाले को–स्टार समर्पणको प्रशंसा गरिन् । ‘जहिले पनि मेरो कम बोल्ने हिरो पर्थ्यो । यसपालि चाहिं म सुन्ने, हिरो बोल्ने पर्‍यो । यति राम्रो, ऊसँग धेरै कुरा सिक्न पाएँ, ’ पूजाले भनिन् ।

फागुन २५ मा रिलिजको तयारीमा रहेको ‘उपहार’मा पूजासँगै रेखा र बेनिशा हमालले पनि अभिनय गरेका छन् । यो फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् ।

तस्वीर सौजन्य : महम्मद जालिम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?