+
+

कोशी सरकारमा माओवादी केन्द्र र एकीकृत समाजवादी सहभागी हुँदै, आजै सपथको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १७ गते १७:२८

१७ कात्तिक, विराटनगर । केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी सहभागी हुने भएका छन् । मुख्यमन्त्री  निकट स्रोतका अनुसार तत्काल माओवादी  केन्द्र र नेकपा एकीकृत समाजवादीबाट एक–एक जना मन्त्री  नियुक्त गर्ने तयारी  भएको  हो ।

मुख्यमन्त्री कार्कीले कांग्रेसबाट पनि थप एक जनालाई नियुक्त गर्न  खोजेका छन् ।  स्राेतका अनुसार उनले कांग्रेसको संस्थागत निर्णयविरुद्ध विद्रोह गर्दै एमालेको  समर्थनमा मुख्यमन्त्री नियुक्त हुँदा सहयोग गरेका रामकुमार खत्रीलाई मन्त्री बनाउन खोजेका छन् ।  माओवादी  केन्द्रबाट गणेश उप्रेती र एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगू मन्त्री बन्ने सम्भावना छ ।

नेकपा माओवादी  केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले गठबन्धन दलको बैठकपछि आजै  मन्त्रीपरिषद् विस्तार हुने बताए । उनका अनुसार नयाँ मन्त्रीको शपथ ग्रहण पनि आजै गराउने तयारी छ ।

नेकपा एमालेको समर्थनमा काँग्रेसका ८ सांसदसहित विद्रोह गरेर संविधानको धारा १६८ को ५ अनुसार २७ भदौमा मुख्यमन्त्री  बनेका कार्कीले २८ भदौमा कांग्रेस  विद्रोही  पक्षबाट समशेर राई र एमालेबाट राम रानालाई  विना विभागीय मन्त्री नियुक्त गरेका थिए । आज थप गर्ने तयारी गरेका मन्त्रीको  पनि विभाग तोक्ने विषयमा सहमति भएको छैन ।

कार्कीले सहमतीय सरकार बनाउन भन्दै एमालेसँग छलफल गरेपनि एमालेले माओवादी सरकारमा आए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । कांग्रेस  र माओवादी केन्द्रले एमालेबाट मन्त्री बनेका राम रानालाई बर्खास्त गर्न मुख्यमन्त्रीलाई दबाब दिएका छन् ।

तर संकटमा आफूलाई  साथ दिएका कारण तत्काल बर्खास्त नगर्ने मुख्यमन्त्रीको अडान छ । गठबन्धन दलका नेतासँगको छलफलमा मुख्यमन्त्री  कार्कीले ढिलोचाँडो एमाले आफैं बाहिरिने भएको कारण बर्खास्त नगर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?