+
+
Shares

हिक्मतसँगको विवादबारे शेरधन : अध्यक्षको निर्देशनमा मुख्यमन्त्रीको पद हस्तान्तरण गरेको थिएँ

नेकपा एमालेका केन्द्रीय सचिव एवं कोशी प्रदेश इञ्चार्ज शेरधन राईले कोशी प्रदेश सरकार सञ्चालन र नेतृत्वका सम्बन्धमा सत्तारुढ दलहरूबीच भएको सहमति कार्यान्वयन गर्ने विषयमा आफू लागिपरेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २१ गते १३:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका सचिव शेरधन राईले कोशी प्रदेश सरकार सञ्चालनका लागि सत्तारुढ दलहरूबिच भएको सहमति कार्यान्वयनमा आफू जुटेको बताए।
  • मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई फेर्ने विषयमा आफूले व्यक्तिगत स्वार्थ नराखेको र पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशन नै अन्तिम रहेको राईले प्रस्ट पारे।
  • राईले सहमति कार्यान्वयनका क्रममा देखिएका प्राविधिक गाँठो फुकाउने जिम्मा मुख्यमन्त्री कार्कीले लिएको र पार्टी निर्णयप्रति आफू प्रतिबद्ध रहेको उल्लेख गरे।

२१ साउन, विराटनगर । नेकपा एमालेका केन्द्रीय सचिव एवं कोशी प्रदेश इञ्चार्ज शेरधन राईले कोशी प्रदेश सरकार सञ्चालन र नेतृत्वका सम्बन्धमा सत्तारुढ दलहरूबीच भएको सहमति कार्यान्वयन गर्ने विषयमा आफू लागिपरेको बताएका छन् ।

गत साउन ९ गते नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमति भएको थियो । सहमति कार्यान्वयनका लागि केपी शर्मा ओलीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाएर तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने म्यान्डेटसहित प्रदेश इञ्चार्जसमेत रहेका शेरधन राईलाई विराटनगर पठाएका थिए ।

राई र कार्कीबीच सार्वजनिक रुपमा सवालजवाफ नै चल्यो । अन्त्यमा केपी शर्मा ओलीले हस्तक्षेप गर्दै कार्कीलाई अर्को व्यवस्था नभएसम्मका लागि काम गर्नू भन्दै पठाए । बुधबार छलफलपछि ओलीले कार्कीलाई काम गर्नू भन्दै पठाएका थिए ।

बिहीबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै सचिव राईले नेकपासँगको सहमति कार्यान्वयनका सन्दर्भमा पार्टी अध्यक्ष ओलीले दिएको निर्देशन अनुरुप आफू आन्तरिक छलफलमा जुटेको बताएका हुन् ।

‘सहमति कार्यान्वयनका सन्दर्भमा केही प्राविधिक गाँठो परेको कुरा साँचो हो, तर त्यसलाई फुकाउने जिम्मा मुख्यमन्त्रीले लिनुभएको छ,’ राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अध्यक्ष कमरेडको निर्देशन र सहमतिको अक्षरश कार्यान्वयन हुनेमा पार्टी ढुक्क छ ।’

आफूले मुख्यमन्त्री फेर्न व्यक्तिगत चासो राखेको विषय गलत रहेको उनले बताए । काठमाडौं नगएर हस्ताक्षर अभियान चलाएको भन्ने हल्ला पनि गलत रहेको उनले बताए । अन्य कामले काठमाडौं जाँदा अध्यक्षसँग प्रदेशका अध्यक्ष र सचिवको भेटघाट र छलफल हुनु स्वभाविक भएको उनले बताए ।

आफू पहिलो संस्थापक मुख्यमन्त्री हुँदा पार्टीले निर्देशन दिनेबित्तिकै सहजै पद हस्तान्तरण गरेको स्मरण पनि उनले गराएका छन् ।

‘संस्थापक पहिलो मुख्यमन्त्री भएको बेला पार्टी नेतृत्वले बोलाएर छोडनुस्, अर्का नेतालाई हस्तान्तरण गर्नुस् भन्ने निर्देशन हुनेबित्तिकै अन्यथा केही पनि महसुस नगरी एउटा इमान्दार सिपाहीको नाताले तत्क्षणमा हाँसीखुसी मेरा अर्का नेता (भीम आचार्य)लाई आफैंले सर्वसम्मत दलको नेता बनाएर मुख्यमन्त्रीको रुपमा जिम्मेवारी हस्तान्तरण गरेको,’ उनले लेखेका छन्, ‘पार्टीका नीति र निर्देशनहरुलाई कार्यान्वयन गर्न र कुनै पनि अफवाहपूर्ण भ्रममा नपर्न पार्टी पंक्ति र सबैमा हार्दिक आह्वान पनि गर्दछु ।’

२०७४ सालमा तत्कालीन एक नम्बर प्रदेशको एमाले संसदीय दलको निर्वाचनमा भीम आचार्यलाई हराउँदै शेरधन राई विजयी भएका थिए । पछि राई मुख्यमन्त्री समेत बनेका थिए । तर २०७८ सालमा पार्टीको निर्णयअनुसार शेरधनले राजीनामा दिएपछि भीम आचार्य संसदीय दलको नेता र मुख्यमन्त्री नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?