+
+
जाजरकोट भूकम्पका प्रत्यक्षदर्शी भन्छन् :

‘ढोका फोरेर बाहिर निस्कनेबित्तिकै घर ढल्यो’

युवराज शाही युवराज शाही
२०८० कात्तिक १८ गते १९:११

हामी फुटबल प्रतियोगिताका लागि ३ दिनअघि जाजरकोट आएका थियौं । म फुटबल प्रशिक्षक र केही रेफ्री साथीहरु यहाँको होटल रिद्धिमा बसेका थियौं ।

हिजो साँझको खेल सकिएपछि हामी खाना खाएर सुत्न गयौं । म एउटा कोठामा एक्लै सुतेँ र अरु ३ जना साथीहरु अर्को कोठामा कुराकानी गरेर बसिरहनुभएको थियो ।

भूकम्प आउँछ भन्ने कुनै कल्पना नै थिएन । राति निद्रामै साथीहरु कराएको सुनेँ । उहाँहरुले ढोका ढकढक्याउँदै चिच्याएर मलाई बोलाउनुभयो । भूकम्प आयो, भूकम्प आयो भनिरहनुभएको थियो ।

म बाहिर निस्कन खोजेँ, तर भूकम्पले घर हल्लाउँदा डिस्ब्यालेन्स भएर ढोका बन्द भएको थियो । चार जना मिलेर ढोका खोलेर बल्लबल्ल बाहिरियौं ।

बाहिर निस्कनेबित्तिकै हामी बसेको भन्दा तल्लो तला खस्यो, अर्को तलाको त गारो पनि ढल्यो । ३/४ मिनेट नपुग्दै होटल रहेको सबै घर भत्कियो । एक जनाको खुट्टामा सामान्य चोट लाग्नेबाहेक अन्य क्षति भएन ।

त्यसपछि हामी यहाँ बस्नु ठीक छैन भनेर खुला ठाउँ खोज्दै गयौं । त्यहाँ नजिकै बचाउ बचाउ भन्ने आवाज सुन्यौं ।

अध्याँरोमा केही देखिएको थिएन । हामीले सोध्यौं, कति जना हुनुहुन्छ ? एक जना मात्र छु भन्ने आवाज आएपछि हामी मोवाइल बालेर गयौं । एक जनाले मोवाइल देखाउने र अरुले हातले नै ढुंगा पन्छाउने गरेर घाइतेलाई उद्धार गर्‍यौं, स्ट्रेचरमा राखेर अस्पताल पठायौं ।

त्यसपछि पनि हामी बजारको अन्य ठाउँतिर पनि उद्धारमा हिँड्यौं । हामीले एउटा फरुवा र बेल्चामात्र भेट्टाएका थियौं । करिब ६/७ जनाको उद्धार गर्‍यौं । जसमध्ये २/३ जना गम्भीर अवस्थामा हुनुहुन्थ्यो ।

जाजरकोटको धेरै संरचना पहिलो कम्पनले नै ध्वस्त पारेको थियो । रातको समय र पहाडी भूगोलका कारण पनि सहज ढंगले उद्धार हुन सकेन । उद्धार सकेपछि ३/४ बजे हामी एउटा चौरमा भेला भयौं । त्रिपाल ओछ्याएर त्यहीँ बस्यौं ।

अनलाइनखबरका यज्ञ खत्रीसँगको कुराकानीमा आधारित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?