+
+

‘घरहरु भत्किएको देख्दा धन्न धेरै मान्छे जोगिएछन्’

शिवलाल जैसी, नलगाढ शिवलाल जैसी, नलगाढ
२०८० कात्तिक १८ गते १९:४५

म शिवशंकर आधारभूत विद्यालयमा कार्यरत छु ।

मेरो घर नलगाढ नगरपालिका-२ डाँडागाँउमा पर्छ । त म छिमेकी कल्पट भन्ने गाउँमा रहेको विद्यालयमा पढाउँछु । मैले पढाउने विद्यालयका ३ जना बालबालिका भूकम्पमा परेका छन् । नलगाढ नगरपालिका-१ मा पर्ने त्यो गाँउका अरु २ जना गरी ५ जना रहेनन् भन्ने खवर आएको छ ।

मैले पढाउने स्कूल चिराचिर परेको रहेछ । अब त्यो भवनमा विद्यालय चलाउन सकिने अवस्थै छैन ।

गाँउमा सबैजसो घर भत्किएको छ । एकाध बाहेक घर सग्लो छैन । भूकम्पले नचर्किएको त घर नै छैनन् । म वरपर घुमेर हेर्दा नचर्किएका त घरै देखिनँ ।

घरमा पुगेको क्षति हेर्दा यो बस्तीमा धन्न धेरै मान्छेहरु जोगिएछन् भन्नुपर्ने अवस्था छ । मान्छेहरुकै उद्दारमा भ्याईनभ्याई छ । घरगोठ भत्किएकाले गोठमा रहेका भैसीबाख्राहरुलाई दाम्लो काटेर बाहिर निकाल्ने अवस्था छैन ।

गाँउबस्तीमा अहिलेसम्म राहत र उद्दार लिएर सरकारी टोली आइपुगेको छैन । भूकम्पका कारण ठाँउठाँउमा बाटो रोकिएको रहेछ, पहिरो खसेको छ भन्ने कुरा आएको छ ।

जाजरकोटको सदरमुकाम खलंगा, निम्ना हुँदै नलगाढको चिसापानी हुँदै आउनुपर्छ । खलंगाबाट गाडीमा आउन २ घण्टा लाग्छ । सुरक्षाकर्मीको टोली आउने तयारी गरिरहेको छु भन्ने सुनेको छु । के कारणले हो, टावरहरुले काम नगरेर फोन लागेको छैन । यहाँ विजुली नै नआएकाले अरु कुरै भएन ।

भत्किएको घरबाट निकालेको शवलाई नजिकैको अर्को क्षतिग्रस्त घरमा राखेका छन् । मान्छेहरु जम्मा भएपछि के गर्ने भन्ने सरसल्लाह हुदैछ, नजिकैको दल्ली स्वास्थ्यचौकीमा लगेर पोष्टमार्टम गर्नुपर्छ कि भन्ने कुरा पनि गरिरहेका छन् । नभए स्थानीय तहमै अन्त्येष्टी गर्लान् ।

अघि दल्लीमा प्रधानमन्त्री सहितको हेलिकप्टर आयो । हाम्रोबाट आधा घण्टा हिडेर पुगिने ठाँउमा केही टिम हिंड्ने कुरा छ रे ।

भूकम्प प्रभावितहरु अहिले घरबाट निस्किएर फिल्डमा वा खुला बारीमा बसिरहेका छन् । घरभित्र पस्ने र बस्ने अवस्था छैन । चर्केको र क्षतिग्रस्त भएकाले स्कूलमा पनि बस्न भएन । दिनभरी त जसोतसो बसिएला, राति बुढाबुढीलाई के गरी राख्ने हो ? के खुवाउने हो ? कसरी सुताउने हो ? अत्तोपत्तो छैन । वडाले बेलुकीसम्म केही गर्ला भन्ने आशा छ । नभए गाँउलेहरु मिलेर टेण्ट जोडजाम पारेर केही गर्नुपर्ला भन्ने सल्लाह हुँदैछ ।

मेरो घर नजिकैको च्यूरी भन्ने गाँउमा १५/२० जना पुरिएको हल्ला चलेको छ । त्यहा पुलिसहरु पनि गएर मान्छेहरु निकाल्न खोजिरहेका छन् । ३ नम्बर वडामा पर्ने कैना भन्ने गाँउमा २ वटा घरमा मानिसहरु पुरिएको छ रे । उद्दारको काम भइरहेको छ ।

(नलगाढ नगरपालिका-१, कल्पटको शिवशंकर आधारभूत विद्यालयका प्रधानाध्यापक शिवलाल जैसीसँगको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?